काठमाडौं, १७ भदौ । काठमाडौंको चन्द्रागिरिमा पैदलयात्रीलाई धारिलो हतियार प्रहार गरी मोबाइल फोन र नगद लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बु घर भई काठमाडौंको कलंकी बस्ने १९ वर्षीय आयुष राई र काठमाडौं महानगरपालिका–१४ बस्ने २२ वर्षीय विशाल लामा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ १६ गते राति करिब ९ः२७ बजे चन्द्रागिरि नगरपालिका–४ स्थित चुनिखेल सडकखण्डमा हिँडिरहेका एक व्यक्तिलाई तीन जना अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए।
आक्रमणकारीले घाइते व्यक्तिको साथबाट एउटा मोबाइल फोन र तीन हजार रुपैयाँ नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि थानकोट प्राथमिक अस्पताल पठाएको थियो।
घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले सोही राति करिब ११ः५५ बजे चन्द्रागिरि नगरपालिका–१३ नैकापबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट चोरी तथा लुटपाट गरिएको सामान र घरेलु हतियारसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




