काठमाडौं, १७ भदौ । काठमाडौं र ललितपुरका दुई घरबाट सुनचाँदीका गरगहना तथा नगदसहित १८ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ।
काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धारागल्लीमा डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया तारा श्रेष्ठको कोठामा मंगलबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ।
उनको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित करिब तीन लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
त्यसैगरी, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ सिलवालटोल निवासी श्यामबहादुर सिलवालको घरबाट सुन तथा चाँदीका गरगहना र नगद गरी करिब १४ लाख ७५ हजार छ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। उक्त चोरी मंगलबार बिहान भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा गरी करिब १८ लाख २९ हजार छ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको देखिएको छ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




