लन्डन । लन्डन बरो अफ बार्नेटका पूर्वउपमेयर तथा ‘सिभिक एम्बेसडर’ काउन्सिलर लक्ष्य गुरुङले बेलायती प्रधानमन्त्री एन्डी बर्नहमलाई पत्र पठाउँदै भीषण बाढीबाट प्रभावित नेपालका लागि मानवीय सहायता वृद्धि गर्न र उद्धार तथा राहत कार्यमा ब्रिटिस गोर्खा सैनिक परिचालन गर्न आग्रह गरेका छन्।
बेलायतमा रहेका नेपाली समुदायका तर्फबाट पठाइएको पत्रमा गुरुङले रसुवासहित नेपालका उत्तरी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गरेका छन्। उनले ब्रिटिस नागरिकसहित एक हजारभन्दा बढीको मृत्यु भएको, चार हजारभन्दा बढी मानिस बेपत्ता रहेको तथा बाढीले घरजग्गा एवं भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्याएको बताएका छन्।
खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या दिनप्रतिदिन बढिरहेको पनि पत्रमा उल्लेख छ। बेलायत सरकारले घोषणा गरेको ५० लाख पाउन्डको प्रारम्भिक आपत्कालीन राहत सहयोगप्रति धन्यवाद व्यक्त गर्दै गुरुङले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन तीनवटा प्रमुख माग प्रस्तुत गरेका छन्।
उनले प्रभावित समुदायका लागि स्वच्छ खानेपानी, औषधि, खाद्यान्न र अस्थायी आवासलगायत तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउनुपर्ने बताएका छन्। साथै, बाढीले क्षति पुर्याएका सडक, पुल, विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहायता बढाउन पनि आग्रह गरेका छन्।
सन् २०१५ को विनाशकारी भूकम्पपछि गरिएको उद्धार तथा राहत सहयोगको स्मरण गर्दै गुरुङले यसपटक पनि अति प्रभावित उत्तरी क्षेत्रमा खोज तथा उद्धार, मानवीय सहायता वितरण र पुनर्निर्माणमा सहयोग पुर्याउन ब्रिटिस गोर्खा सैनिकको विशेष टोली परिचालन गर्नुपर्ने माग गरेका छन्।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा करिब ०.१२ प्रतिशत मात्र योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको उल्लेख गर्दै उनले नेपालजस्ता पर्वतीय तथा उच्च जोखिममा रहेका देशका पक्षमा बेलायतले विश्वव्यापी जलवायु सहकार्यको नेतृत्व लिनुपर्ने धारणा राखेका छन्।
“यस कठिन घडीमा नेपाल र नेपाली जनताको साथमा उभिनु बेलायतका लागि नैतिक जिम्मेवारी मात्र नभई ऐतिहासिक अवसर पनि हो,” गुरुङले पत्रमा भनेका छन्।
भूतपूर्व गोर्खा सैनिकसमेत रहेका गुरुङले नेपाल-बेलायतबीचको दुई सय ११ वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध तथा बेलायतका लागि गोर्खा सैनिकले पुर्याएको योगदानको पनि पत्रमा स्मरण गराएका छन्।




