काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म एक हजार १२७ शव तथा मानव अङ्ग फेला परेका छन्। बाढीपछि अझै २५ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको भदौ १७ गते बिहान ८ बजेसम्मको विवरणअनुसार फेला परेकामध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३२७ पुरुषका शव छन्। यसैगरी, पहिचान गर्न नसकिने अवस्थामा ४९७ वटा मानव अङ्ग फेला परेका छन्।
फेला परेका शवमध्ये ८५ वटा सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ। विभिन्न अस्पताल तथा शवगृहमा एक हजार ११३ शव तथा मानव अङ्गको जाँच गरिएको प्रहरीले जनाएको छ।
६ हजार ५४१ जनाको घाइते अवस्थामा उद्धार
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ५४१ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चार हजार ८६ पुरुष, एक हजार ९२२ महिला र ५३३ नवजात शिशु छन्। उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका सात हजार ५१२ जना परिचालन गरिएको छ। घटनाबाट ६५ जना प्रभावित भएको र २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
चार हजार ८५८ जनाको विवरण सङ्कलन
प्रहरीले स्वदेशी तथा विदेशी गरी चार हजार ८५८ जनाको विवरण सङ्कलन गरेको छ। तीमध्ये दुई हजार ९२५ जना स्वदेशी नागरिकको प्रत्यक्ष विवरण सङ्कलन गरिएको हो। यसमा दुई हजार ४४५ पुरुष र ४८० महिला छन्।
यस्तै, एक हजार ३५० स्वदेशी नागरिकले फोनमार्फत आफ्नो विवरण उपलब्ध गराएका छन्।
विदेशी नागरिकतर्फ ५८३ जनाको विवरण सङ्कलन भएको छ। तीमध्ये २५१ पुरुष, ३३० महिला र अन्य दुई जना छन्। पहिचान खुल्न नसकेका ८९१ जनाको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित तथा नदी तटीय क्षेत्रमा बेपत्ताको खोजी, शव सङ्कलन, सनाखत, उद्धार र राहतको काम निरन्तर भइरहेको नेपाल प्रहरीले जनाएको छ।




