काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित एक हजार १५५ जनालाई स्वास्थ्य उपचार प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ अस्पताल, बलम्बुबाट खटिएको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार सेवा दिएको हो।
सशस्त्र प्रहरीका अनुसार स्वास्थ्यकर्मीको टोलीले २०८३ भदौ १० गतेदेखि रसुवाको टिमुरे, नुवाकोटको आयुर्वेद अस्पताल, क्रियापुत्री भवन, पृथ्वी माध्यमिक विद्यालय र कुमलटारस्थित सेतीदेवी आधारभूत विद्यालय तथा धादिङको गल्छी र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
स्वास्थ्य शिविरमार्फत रसुवामा १९, नुवाकोटमा एक हजार चार, धादिङमा २५ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०७ जनालाई उपचार सेवा प्रदान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिएका हुन्।
बाढीमा परी घाइते भएकाहरूको उपचारका लागि नुवाकोटको क्रियापुत्री भवनमा प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा. रोशन पराजुली, आयुर्वेद अस्पतालमा प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा. गंगाराम खत्री, देवीघाटमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सानु गुरुङ र धादिङको गल्छीमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. चन्दन यादव खटिएका छन्।
स्वास्थ्य उपचारसम्बन्धी कार्यको समग्र कमान्ड प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठले सम्हालिरहेका छन्। घाइतेको उद्धार र उपचारका लागि सशस्त्र प्रहरीले ‘मास क्याजुअल्टी भेहिकल’समेत परिचालन गरेको छ।
त्यसैगरी, रसुवाको टिमुरेमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. सुरेन्द्र भट्टराई र डा. अनिल जोशी खटिएका छन्। काठमाडौंमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रोसु थापा फिल्ड इमर्जेन्सी म्यानेजमेन्ट तथा प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डा. आशिष थापा आपत्कालीन बिरामीको उपचार तथा व्यवस्थापनमा खटिएका छन्।
सशस्त्र प्रहरीको स्वास्थ्यकर्मी टोलीले काठमाडौं, रसुवा र नुवाकोटका विभिन्न स्थानमा स्थापना गरिएका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडितको स्वास्थ्य परीक्षणसमेत गरिरहेको छ। टोलीले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचार तथा परामर्श दिँदै आएको छ।
बाढीमा परी घाइते भएकाहरूको थप उपचारको व्यवस्था मिलाउन नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ।
बाढी प्रभावित जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका पीडितको सहजता र सहयोगका लागि सशस्त्र प्रहरी कर्मचारीलाई शिविर समन्वय तथा व्यवस्थापनमा पनि परिचालन गरिएको छ। बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनमा समेत सशस्त्र प्रहरी खटिएको छ। सम्बन्धित निकायसँगको समन्वयमा सुरक्षित रूपमा शव व्यवस्थापन भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले चार हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरेको छ। परिचालित टोलीले बेपत्ताको खोजी तथा उद्धार, स्वास्थ्य सेवा, आपत्कालीन उपचार, होल्डिङ सेन्टर व्यवस्थापन र राहत सामग्री वितरणलगायत कार्य निरन्तर गरिरहेको छ।




