काठमाडौं, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ प्रदान गरेको छ।
कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिति घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको जनाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। विपद्ले घर, सम्पत्ति र सार्वजनिक पूर्वाधारमा क्षति पुर्याएको छ भने प्रभावित परिवारलाई तत्काल खोज, उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता देखिएको छ।
विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारले सञ्चालन गरिरहेको राहत र उद्धार अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए। उनीहरूले विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
प्राकृतिक विपद्का बेला प्रभावित परिवारको दुःखमा साथ दिनु र राहत तथा उद्धार कार्यमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीको भनाइ छ।
“विपद्का बेला पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो। राज्य र समाजलाई आवश्यकता परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ,” कम्पनीका प्रतिनिधिले भने।
कम्पनीले प्रदान गरेको सहयोगबाट बाढी प्रभावित परिवारको खोज, उद्धार तथा राहत कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता, क्षमता र सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




