🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मनले खोजेको ‘चुतिया क्लब’ : हाँसोभित्र लुकेको कर्पोरेट दुनियाँको नग्न सत्य !

अनौठो शीर्षक, तीतो यथार्थ : किन पढ्ने ‘चुतिया क्लब’? ‘चुतिया क्लब’ : हाँसोको आवरणमा कर्पोरेट दादागिरीको चिरफार । काम गर्ने पछाडि, चाकडी गर्ने अगाडि : ‘चुतिया क्लब’को कर्पोरेट कथा । चाकडीको सत्ता र स्वाभिमानको विद्रोह : ‘चुतिया क्लब’ । हाकिम, चम्चा र विद्रोही कर्मचारी : ‘चुतिया क्लब’भित्रको अफिस । मनले चाहेको पुस्तक, भित्र भेटियो जागिरे जीवनको तीतो सत्य । ‘चुतिया क्लब’ पढ्दा : हाँसो उठाउने पात्र, आक्रोश जगाउने प्रवृत्ति । पदोन्नतिमा पूर्वाग्रह, कार्यालयमा दादागिरी : ‘चुतिया क्लब’को पर्दाफास...!!

कहिलेकाहीँ मनले चाहेको कुरा अनौठो संयोग बनेर हाम्रो हातमा आइपुग्दो रहेछ। केही समयअघि कलेजबाट घर फर्किंदै गर्दा बाटोमा रहेको एउटा पुस्तक पसलमा मेरो नजर पर्‍यो। पसलमा थुप्रै पुस्तक झुन्ड्याएर राखिएका थिए। तीमध्ये अचानक एउटा पुस्तकको शीर्षकमा मेरा आँखा अडिए-‘चुतिया क्लब’।

नाम पढ्नेबित्तिकै अनुहारमा मुस्कान आयो। शीर्षक नै यति फरक र रोचक थियो कि पुस्तकभित्र के लेखिएको होला भन्ने जिज्ञासा जागिहाल्यो। त्यही बेला पुस्तक किनेर पढ्न मन लागेको थियो, तर मसँग पर्याप्त पैसा थिएन। पुस्तक किन्न नसके पनि मनमनै अठोट गरेँ-“यो पुस्तक म जसरी भए पनि एक दिन अवश्य पढ्नेछु।”

समय बित्दै जाँदा त्यो कुरा बिर्सिएँ। तर एक दिन अचानक आफ्नै घरमा त्यही पुस्तक देखेँ। बाबाका एक जना साथीले बाबालाई उपहार दिनुभएको रहेछ। जुन पुस्तक केही समयअघि पसलमा देखेर पढ्न चाहेको थिएँ, त्यो आफैँ मेरो घरमा आइपुगेको थियो। यो संयोग मात्र हुन सक्छ, तर त्यस क्षण मलाई ‘ल अफ एट्र्याक्सन’ अर्थात् आकर्षणको नियम सम्झना भयो। कहिलेकाहीँ मनले साँचो रूपमा चाहेको कुरा ढिलो–चाँडो कुनै न कुनै माध्यमबाट हाम्रो सामु आइपुग्दो रहेछ।

यसरी हात परेको ‘चुतिया क्लब : अनटोल्ड प्रोफेसनल स्टोरिज’ पढ्न थालेपछि यसको अनौठो शीर्षकभित्र नेपाली कर्पोरेट तथा बैंकिङ क्षेत्रको गम्भीर यथार्थ लुकेको महसुस भयो। यो पुस्तक कार्यालयभित्रका रमाइला किस्साको सङ्ग्रह मात्र होइन; कामभन्दा चाकडी ठूलो ठानिने संस्कृति, हाकिमी दम्भ, कर्मचारीमाथिको विभेद र स्वाभिमानको संघर्षलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको कृति हो।

पुस्तकका पात्रहरूको वास्तविक नामभन्दा उनीहरूलाई दिइएका उपनाम अझ रोचक छन्। लेखक स्वयं ‘साइन्टिस्ट’, ‘गफाडी’ र ‘हुल्याहा’ जस्ता उपनाममा देखिन्छन्। कार्यालयका अरू पात्रलाई ‘फोकटलाल’, ‘बोनस ब्रो’, ‘इँट्टा’, ‘एमसी’, ‘दागे–बागे’ र ‘स्यान्डी हाकिम’ भनिएको छ। यी नामले हँसाए पनि तिनको व्यवहारले कार्यालयभित्रको तीतो वास्तविकता सम्झाउँछ।

‘एमसी’ अर्थात् ‘मारवाडीको चम्चा’ पात्रमार्फत कामभन्दा मालिक र हाकिमको चाकडी गरेर अगाडि बढ्ने प्रवृत्तिमाथि प्रहार गरिएको छ। व्यापार र नाफा ८० प्रतिशतभन्दा बढी बढाउँदा पनि पदोन्नतिमा पूर्वाग्रह भोग्नुपरेको प्रसङ्गले कर्पोरेट संस्थामा कार्यसम्पादनभन्दा निकटता र चापलूसी कसरी शक्तिशाली हुन्छ भन्ने देखाउँछ। लेखक पदोन्नतिको लोभमा मौन बस्दैनन्। उनी अन्तर्वार्ता समितिकै अगाडि व्यवस्थापनको विभेदमाथि निर्भीक प्रश्न उठाउँछन्।

विराटनगर सरुवापछिको कथा अझ मार्मिक छ। बाहिरबाट आकर्षक देखिने बैंकिङ जागिरभित्र दैनिक लाखौँ रुपैयाँका फोहर नोट गन्नुपर्ने र भुइँमा चकटी ओछ्याएर नोटका प्याकेट बाँध्नुपर्ने बाध्यता छ। यसलाई ‘थ्री-डी’ अर्थात् ‘डर्टी, डेन्जरस र डिफिकल्ट’ जागिर भनिएको छ। बैंकका चम्किला भवनभित्र कर्मचारीले भोग्ने शारीरिक सास्ती र मानसिक दबाबको यो जीवन्त चित्र हो।

पुस्तकले तल्लो तहका कर्मचारीको अधिकारलाई पनि महत्त्वका साथ उठाएको छ। मेसेन्जर, चालक र सुरक्षागार्डलाई कल्याणकारी कोष तथा पोसाक छनोट समितिमा नेतृत्व दिलाइएको छ। हाकिमका छोराछोरीले मात्र पाउँदै आएको शैक्षिक सुविधा परिमार्जन गरेर तल्लो तहका कर्मचारीका बालबालिकासम्म पुर्‍याइएको छ। सपोर्ट स्टाफलाई थप पाँच हजार रुपैयाँ बोनस दिलाएको प्रसङ्गले नीतिगत हस्तक्षेपबाट सानो तर अर्थपूर्ण परिवर्तन सम्भव हुने देखाउँछ।

कर्मचारी विनियमावलीलाई अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरी प्रत्येक शाखामा राख्नु पुस्तकमा वर्णित अर्को महत्त्वपूर्ण सुधार हो। कर्मचारीले आफ्ना अधिकार र संस्थाका नियम बुझ्न थालेपछि हाकिमहरूको तजविजी निर्णय तथा ‘लेटरल इन्ट्री’का नाममा चोरबाटोबाट गरिने नियुक्तिमा अंकुश लागेको देखाइएको छ।

‘स्यान्डी हाकिम’का गतिविधि भने पुस्तकका सबैभन्दा हास्यास्पद र व्यङ्ग्यपूर्ण प्रसङ्ग हुन्। आफू ढिलो आउने तर ट्राफिक जामले ढिला भएका कर्मचारीको हाजिरीमा रातो चिन्ह लगाउने हाकिमविरुद्ध संघर्ष गरेर बिहान ९ः४५ बजेसम्मको समयसीमा कायम गराइन्छ। कर्मचारीले दिनहुँ मासुभात खाएको भन्दै हप्तामा एक दिन मात्र मासु खान पाइने नियम लगाउनु व्यक्तिगत जीवनमाथिको हाकिमी हस्तक्षेपको पराकाष्ठा हो।

हाकिमको एसी कोठामा पसेको एउटा झिँगा मार्न छर्किएको ‘बेगन स्प्रे’ले सिंगो कार्यालयका कर्मचारीलाई श्वास फेर्न गाह्रो भएको घटना झनै रोचक छ। त्यस्तै, हाकिमको छोरा जन्मिएको खुसीमा ‘जैविक बाउ’ र ‘कर्पोरेट बाउ’को तर्क निकालेर छ हजार रुपैयाँको भोजको बिल हाकिमलाई नै तिराइएको प्रसङ्गले पुस्तकको डार्क ह्युमरलाई उत्कर्षमा पुर्‍याउँछ।

कर्पाेरेट दुनियाँमा समग्र जीवन समर्पित गरेर भर्खरै अवकास जीवनमा फर्किएका बाैद्धिक व्यक्तित्व, समाजसेवी, फरासिलाे जीवनशैली रमाउने स्वभावका मुरारी अर्यालकाे अति मेहनतकाे याे सिर्जना, ‘चुतिया क्लब’ हँसाउँदै गम्भीर प्रश्न उठाउने पुस्तक हो।

यसले कर्पोरेट दुनियाँको बाहिरी चकाचौधभित्र लुकेको चाकडी, दादागिरी, असमानता र अन्यायको पर्दा गज्जबसँग खोल्न सफल भएकाे छ। साथै, आफ्नो अधिकार बुझ्न, स्वाभिमान जोगाउन र गलत व्यवस्थापनविरुद्ध बोल्न प्रेरित गर्छ।

संयोगले मेरो हातमा आइपुगेको यो पुस्तक अन्ततः एउटा पुस्तक मात्र रहेन; यसले कार्यस्थल, अधिकार, समानता र आत्मसम्मानलाई हेर्ने दृष्टिकोण नै फराकिलो बनाइदियो। पढ्न सुर गरेपछि छाेड्नै मन नलाग्ने ३१७ पेजकाे याे पढ्नै पर्ने ‘चुतिया क्लब’ पुस्तककाे मूल्य रू.९९९। रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *