काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी तथा सैनिक इतिहासविद् डा. प्रेमसिंह बस्न्यातले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको नाम, संरचना र सैनिक शैलीको पोसाक प्रयोगप्रति गम्भीर प्रश्न उठाएका छन्।
बाढीग्रस्त क्षेत्रमा ‘ग्रीन आर्मी नेपाल’ सैनिक शैलीमा प्रवेश : कसको अनुमति, कसको कमान्डमा परिचालन ?
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘ग्रीन आर्मी नेपाल’का सदस्य सैनिक पोसाकसँग मिल्दोजुल्दो पहिरनमा देखिएपछि बस्न्यातले नेपालमा नेपाली सेनाबाहेक अर्को संस्थालाई ‘आर्मी’ नाम प्रयोग गर्न दिन नहुने टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रश्न गरेका छन्, “यो देशमा अर्को पनि आर्मी संगठन रहेछ? यो संस्थालाई किन र कसरी ‘आर्मी’ सम्मान दिइयो? सरकारले किन ‘ग्रीन आर्मी नेपाल’ नाम दियो? कि यो आफुखुसी राखिएको नाम हो ?”
नेपालमा ‘आर्मी’ शब्दले राज्यको औपचारिक सैन्य शक्ति नेपाली सेनालाई जनाउने उल्लेख गर्दै उनले गैरसैनिक संस्थालाई त्यस्तो नाम प्रयोग गर्न दिँदा भविष्यमा गलत नजिर स्थापित हुन सक्ने चेतावनी दिएका छन्।
जर्नेल बस्नेतले लेखेका छन्, “मैले रातो लुगा लगाएर ‘रेड आर्मी’, अर्कोले निलो लुगा लगाएर ‘ब्ल्यु आर्मी’ र अर्कोले सडकमा हिँडाउने ‘स्ट्रिट आर्मी’ खोल्न माग गरेमा नदिनुपर्ने कारण देखाउन सकिन्छ त ?”
बस्न्यातले ‘ग्रीन आर्मी नेपाल’ जुनसुकै सकारात्मक उद्देश्यले स्थापना गरिएको भए पनि त्यसको नाम र सैनिकसँग मिल्दोजुल्दो प्रस्तुतिले राज्यको आधिकारिक सैन्य संस्थासँग भ्रम सिर्जना गर्न सक्ने बताएका छन्। एउटा संस्थालाई ‘आर्मी’ शब्द प्रयोग गर्न दिइएपछि त्यही नजिर देखाएर अरू संस्थाले समेत समान नाम माग गर्न सक्ने उनको तर्क छ।
“यो ग्रीन आर्मी जुन उद्देश्यले खुलेको भए पनि भविष्यमा यही नजिरबाट नेपालमा थुप्रै ‘आर्मी’ जन्माउन सजिलो हुने पक्का छ,” बस्न्यातले भनेका छन्, “यस्ता उत्ताउला काम नगरौँ। संसारमा यस्ता नाम होलान्, तर नेपालमा हुनुहुँदैन।”
उनले नेपालमा नेपाली सेनाबाहेक ‘आर्मी’ नाम जोडिएका समानान्तर संस्था अस्तित्वमा रहन नहुने स्पष्ट धारणा राखेका छन्। यस्तो नामले सर्वसाधारणमा सम्बन्धित संस्था नेपाली सेनाको अङ्ग, मातहत निकाय वा राज्यबाट परिचालित सुरक्षा संरचना हो भन्ने भ्रम उत्पन्न गर्न सक्ने उनको भनाइ छ।
‘ग्रीन आर्मी नेपाल’ले आफ्नो वेबसाइटमा आफूलाई युवा नेतृत्व विकास, वातावरण संरक्षण, अनुशासन, विपद् व्यवस्थापन र सामाजिक सेवामा कार्यरत गैरनाफामूलक संस्थाका रूपमा चिनाएको छ। संस्थाले आफ्नो संरचना सैनिक अभ्यासबाट प्रेरित रहेको उल्लेख गरेको छ। तर उक्त संस्था नेपाली सेनाको अङ्ग वा सरकारी सुरक्षा निकाय होइन।
संस्थाका सदस्यले ‘क्याडेट’, ‘कमान्डो’ र ‘चिफ मार्सल’जस्ता पदावली प्रयोग गर्दै आएको सार्वजनिक विवरणमा देखिन्छ। सदस्यले लगाउने क्यामोफ्लाज पोसाक, काँधमा राखिएका दर्जाजस्ता चिह्न र ‘ग्रीन आर्मी’ लेखिएको ब्याचले आधिकारिक सुरक्षाकर्मीसँग भ्रम उत्पन्न गर्न सक्ने प्रश्नसमेत उठिरहेको छ।
बस्न्यातले यस विषयलाई सामान्य नामकरणको विषयका रूपमा मात्र नलिई राष्ट्रिय सैन्य पहिचान र सुरक्षा संवेदनशीलतासँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनले नेपाल सरकार र नेपाली सेनालाई तत्काल सोधपुछ गरी संस्थाको नाम परिवर्तन गराउन आग्रह गरेका छन्।
“यो गल्ती हो। नेपालमा नेपाली सेनाबाहेक ‘आर्मी’ नाम गरेका कुनै पनि संस्था हुनुहुँदैन,” उनले भनेका छन्, “नेपाल सरकार र नेपाली सेनाले तुरुन्त सोधपुछ गरी यो नाम परिवर्तन गराओस्।”
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी खोज, उद्धार, शव व्यवस्थापन तथा राहतमा परिचालित छन्। भारत र चीनलगायत मुलुकबाट आएका प्राविधिक तथा उद्धार विशेषज्ञसमेत सरकारी समन्वयमा खटिएका छन्।
यही समयमा सैनिक शैलीको पोसाक र ‘आर्मी’ पहिचान बोकेको गैरसरकारी टोली देखिएपछि उसलाई कसले प्रभावित क्षेत्रमा परिचालन गर्यो, कुन सरकारी निकायबाट अनुमति लिइयो र टोली कसको कमान्डमा खटियो भन्ने गम्भीर प्रश्न उठेको छ।
जर्नेल बस्न्यातले उठाएका प्रश्नबारे नेपाल सरकार, नेपाली सेना तथा ग्रीन आर्मी नेपालबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। सम्बन्धित निकायले संस्थाको दर्ता, नाम स्वीकृति, पोसाक, पदावली र विपद् क्षेत्रमा गरिएको परिचालनबारे वास्तविकता स्पष्ट पार्नुपर्ने माग बढेको छ।




