🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोटेकोशी बाढी, नेपाली सेना अपडेट : सुरुङभित्र खोजी तीव्र, ९ हजार २ सयभन्दा बढी सैनिक परिचालन

२०८३ भदाै १६ गते बिहान ११ बजेसम्म २३ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा निःसङ्क्रमण अभियान, शव सङ्कलन र व्यवस्थापनस्थलमा निःसङ्क्रमण, जलविद्युत् क्षेत्रबाट २७९ जनाको जीवित उद्धार !

काठमाडौं, १६ भदौ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज एवं उद्धार अभियान जारी राखेको छ। स्वदेशी तथा विदेशी विज्ञ सम्मिलित संयुक्त टोलीले विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र बेपत्ता व्यक्तिको खोजी तीव्र बनाएको छ।

नेपाली सेनाले २०८३ भदाै १६ गते मंगलबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार हवाई साधनमार्फत थप २३ जनाको उद्धार गरिएको छ। सडक, पुल तथा पदमार्ग क्षतिग्रस्त भएर स्थलमार्गबाट बाहिर निस्कन नसकेका नागरिकलाई हेलिकोप्टरबाट सुरक्षित स्थानमा ल्याइएको हो।

बाढीपछि सम्पर्कविहीन भएका श्रमिक तथा कर्मचारीको खोजीका लागि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली करिब ५० मिटरभित्रसम्म पुगेको छ। टोलीले सुरुङभित्रको अवस्था मूल्याङ्कन गर्दै अवरोध हटाउने र बेपत्ता व्यक्तिको खोजी गर्ने काम गरिरहेको छ।

लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा संयुक्त खोज तथा उद्धार टोली करिब १५० मिटरसम्म प्रवेश गरेको छ। अघिल्लो दिन टोली ६५ मिटरसम्म पुगेर एक शव सङ्कलन गरेको थियो। मंगलबार टोली थप ८५ मिटर अघि बढेको हो।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा पनि विदेशी विज्ञसहितको संयुक्त टोली करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वार अर्थात् ‘टनेल हेड’ फेला परिसकेको छ। सुरुङभित्र हावाको अभाव हुन नदिन कम्प्रेसरमार्फत हावा पठाउने र जमेको पानी निकाल्ने काम भइरहेको छ।

आयोजनाको पछाडितर्फ रहेको वैकल्पिक मार्ग खोल्न तीनवटा एक्साभेटर प्रयोग गरिएको छ। उक्त मार्ग करिब १५ मिटरसम्म खोलिएको छ। सुरुङभित्र प्रवेश गर्ने ठाउँ बनाउन ‘रक ब्रेकर’ प्रयोग गरी ढुङ्गा फुटाउने कामसमेत भइरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा विज्ञसहितको सैनिक टोली खटिएको छ। टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाएर भित्र एक्साभेटर प्रयोग गरी खन्ने काम गरिरहेको छ।

जलविद्युत् क्षेत्रबाट २७९ जनाको जीवित उद्धार

बाढीलगत्तै सञ्चालन गरिएको प्रारम्भिक उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै माथिल्लो त्रिशूली–३ ‘ए’ क्षेत्रका २२१ जना छन्। माथिल्लो त्रिशूली–१ बाट ३३, मैलुङबाट नौ, देवघाट जलविद्युत् क्षेत्रबाट पाँच, नुवाकोट सौर्य विद्युत् क्षेत्रबाट चार, त्रिशूली जलविद्युत् क्षेत्रबाट तीन तथा रसुवागढी र माथिल्लो त्रिशूली–३ ‘बी’ क्षेत्रबाट दुई–दुई जनाको जीवित उद्धार गरिएको हो।

९ हजार २ सयभन्दा बढी सैनिक परिचालित

सेनाले प्रभावित जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती जारी राखेको छ। सैनिक टोलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी सुरक्षा अवस्था, अलपत्र तथा बेपत्ता व्यक्ति र उद्धार एवं राहतको आवश्यकता मूल्याङ्कन गरिरहेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नौ हजार दुई सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।

उनीहरूले घाइते तथा बेपत्ताको खोजी र उद्धार, शव सङ्कलन तथा व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने, राहत पुर्‍याउने र आपत्कालीन स्वास्थ्य सेवा सञ्चालन गरिरहेका छन्।

शव सङ्कलन र व्यवस्थापनस्थलमा निःसङ्क्रमण

बाढी प्रभावित क्षेत्र तथा शव सङ्कलन एवं व्यवस्थापनस्थलबाट सम्भावित सङ्क्रमण फैलिन नदिन सेनाले निःसङ्क्रमण अभियानसमेत सञ्चालन गरेको छ।

धुन्चे बजार, श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूली, देवघाट, पृथ्वीचन्द्र अस्पताल परासीस्थित शव सङ्कलन केन्द्र र सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनको शव व्यवस्थापन क्षेत्रमा निःसङ्क्रमण गरिएको छ।

अन्य प्रभावित स्थानमा पनि स्थानीय तह तथा सम्बन्धित निकायसँगको समन्वयमा निःसङ्क्रमणको काम विस्तार गर्ने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *