काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि पठाएको करिब ८० टन राहत सामग्री शनिबार राति नेपाल आइपुगेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार राहत सामग्री बोकेको विमान राति करिब ११ः३० बजे काठमाडौं आइपुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारी वर्षा भइरहेकै बेला नेपाल सरकारले राहत सामग्री बुझेको मन्त्री पुनले जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय विवरणमा यूएईबाट पठाइएको राहत सामग्रीको कुल तौल ८३ टन उल्लेख गरिएको छ। नेपालमा हस्तान्तरण गरिएको विवरणमा भने करिब ८० टन भनिएको छ। राहत सामग्रीमा खाद्यान्न, अस्थायी आवासका लागि आवश्यक सामग्री तथा बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने विभिन्न मानवीय सहायता सामग्री समावेश छन्। यूएईको राहत विवरण
नेपालले हालैका वर्षमा भोगेको सबैभन्दा ठूलो प्राकृतिक विपद्मध्ये एक मानिएको भोटेकोशी बाढीबाट ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। सयौँले ज्यान गुमाएका छन् भने हजारौँ नागरिक बेपत्ता, घाइते तथा विस्थापित भएका छन्। घर, बस्ती, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि, त्रिपाल, कम्बल, सरसफाइ सामग्री तथा अस्थायी आवासको तत्काल आवश्यकता रहेको अवस्थामा यूएईबाट आएको राहत सामग्रीले पीडितको आपत्कालीन व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यूएईले राहत सामग्री मात्र नभई बाढीपीडितको सहयोगका लागि एक करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ। उक्त रकम हालको विनिमय दरअनुसार करिब डेढ अर्ब नेपाली रुपैयाँ हाराहारी हुन्छ। विपद्पछि नेपाललाई नगद सहायता घोषणा गर्ने मुलुकमध्ये यूएईको प्रतिबद्धता उल्लेखनीय मानिएको छ।
मन्त्री पुनका अनुसार यूएईबाट अर्को विमानमार्फत थप राहत सामग्रीसमेत नेपाल आउने कार्यक्रम छ। राहत सामग्रीलाई नेपाल सरकारका सम्बन्धित निकायमार्फत आवश्यकता र प्राथमिकताका आधारमा बाढी प्रभावित क्षेत्रमा पठाइने जनाइएको छ।
यसैबीच, विपद्को कठिन घडीमा नेपाल र नेपाली नागरिकलाई सहयोग गरेको भन्दै नेपाली मुस्लिम समुदायले यूएई सरकारप्रति आभार व्यक्त गर्दै सहयोगको स्वागत गरेको छ। समुदायका सदस्यहरूले नेपालमा प्राकृतिक विपद् आइपरेका बेला यूएईले देखाएको मानवीय संवेदना र सद्भावले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन्।
उनीहरूले राहत सामग्री वास्तविक पीडितसम्म पारदर्शी, व्यवस्थित र शीघ्र रूपमा पुर्याउन नेपाल सरकारसँग आग्रहसमेत गरेका छन्। विपद्का बेला जाति, धर्म, भाषा र भूगोलभन्दा माथि उठेर पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
बाढीपछि नेपाललाई चीन, भारत, अमेरिका, युरोपेली संघ, जापान, दक्षिण कोरिया र मलेसियालगायत मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि राहत तथा आर्थिक सहयोग आउने क्रम जारी छ। चीनले ५० टन राहत सामग्रीसहित सुरुङ उद्धार विज्ञ पठाएको छ भने भारतले विभिन्न चरणमा खोज, उद्धार र राहतका सामग्री उपलब्ध गराएको छ।
यूएईबाट प्राप्त राहत सामग्रीले तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुग्ने भए पनि प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण र विस्थापित नागरिकको पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माणका लागि चारदेखि पाँच अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन्। पुनर्निर्माण लागतसम्बन्धी विवरण




