साँघु न्यूज डटकम।
साँघु न्यूज डटकममा २०८३ भदौ ११ गते कंगोस्थित नेपाली सेनाको शान्ति मिसनमा व्यवस्थापन, खरिद प्रक्रिया र अनुशासनसँग सम्बन्धित गम्भीर गुनासाबारे सामग्री प्रकाशित भएको थियो। गुनासाे पत्रमा शान्ति मिसनका पीडित सैनिकहरूले जंगी अड्डासमक्ष गोप्य एवं निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले नेपाली सैनिकहरूको मनोबल र नेपाली सेनाको संस्थागत प्रतिष्ठामा असर परेको गुनासो गरेका थिए।
उक्त शान्ति मिसन सम्बन्धी प्रकाशित गुनासोका बारेमा पाठक तथा पूर्वसैनिकहरूबाट केही सान्दर्भिक प्रतिक्रिया प्राप्त भएका छन्। ती प्रतिक्रियाले नेपाली सेना शान्ति मिसनमा देखिएका भनिएका समस्या नयाँ मात्र नभई लामो समयदेखि विभिन्न स्वरूपमा दोहोरिँदै आएका दीर्घराेगकाे सङ्केत गरेका छन्। पाठकहरूका विचारलाई सम्पादनसहित यहाँ प्रस्तुत गरिएको छ।
‘सेना लामो समयदेखि यही रोगबाट पीडित छ’
नेपाली सेना शान्ति मिसनका भुक्तभाेगी मानसिंह धामीले नेपाली सेना यस्तो समस्याबाट पहिलेदेखि नै पीडित रहेको उल्लेख गर्नुभएको छ। उहाँले विसं २०५६ सालतिरको युनिफिल शान्ति मिसनको अनुभव स्मरण गर्दै त्यसबेला मिसन छ महिनाको हुने गरेको र ‘एम्युनिसन दुरुपयोग काण्ड’ भनिने विषयसमेत चर्चामा आएको बताउनुभएको छ।
उहाँका अनुसार, त्यतिबेला पनि रसदपानी, इन्धन र मर्मतसम्भार मात्र होइन, सरसफाइका सामान, भाँडाकुँडा तथा पानी आपूर्तिसम्ममा हेरफेर भएको आरोप लाग्ने गरेको थियो। यस्ता घटनामा पोस्टमा खटिएका तल्लो तहका सैनिकलाई समेत अनावश्यक केरकार र दण्ड गरिएको उहाँको गुनासो हुने गर्द्थ्याे।
“११ जनाको पोस्टले तोकिएको रासनमध्ये कति बेच्न सक्थ्यो र के खान सक्थ्यो ? पोस्टमा गाडीसमेत थिएन भने उनीहरूले तेल कहाँबाट बेच्न सक्थे ?” भन्ने प्रश्न उठाउँदै धामीले त्यसबेला एक महिनाको तलब बराबरको रकम काटिएको स्मरण गर्नुभएको छ।
उहाँले सेनाभित्रको समस्यालाई बाथरोगसँग तुलना गर्दै लेख्नुभएको छ, “ नेपाली सेना अर्थराइटिसको बिरामीजस्तो भएको छ। कहिले समस्या २० हुन्छ, केही सुधार हुँदा १९ मा झर्छ, तर पूर्ण रूपमा निको भएको देखिँदैन।”
गणपति र सैनिक अत्धिकृतहरूले शान्ति मिसनका सैनिकहरूलाई दुर्गम र कठिन पोस्टमा पठाउने धम्की दिएर मनोवैज्ञानिक दबाब दिने गरिएको उहाँको अनुभव छ। “डेल्टा मोड चेकपोस्टमा पठाइदिन्छु” भनेर तर्साइने र उक्त पोस्टको ड्युटीलाई अत्यन्त कठिन मानिने गरेको उहाँले उल्लेख गर्नुभएको छ। इमानदारी र सावधानीपूर्वक जिम्मेवारी पूरा गर्नेका लागि त्यस्तो पोस्ट असम्भव नभए पनि तल्लो तहका सैनिकलाई नियन्त्रणमा राख्न त्यसलाई धम्कीको माध्यम बनाइने गरेको उहाँको भनाइ छ।
‘गणको प्रतिष्ठामा आँच पुर्याउने व्यक्तिको पहिचान होस्’
नेपाली सेना शान्ति मिसनका अर्का भुक्तभाेगी शिवराम केसीले गम्भीर प्रश्न उठिसकेपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभएको छ। आरोपलाई बेवास्ता गर्ने वा घटनालाई संस्थागत रूपमा ढाकछोप गर्ने प्रयास भए त्यसले नेपाली सेनाप्रतिको विश्वासमा थप क्षति पुर्याउने उहाँको धारणा छ।
“गणको इज्जत जाने काम कस-कसले गरेका रहेछन्, सार्वजनिक गरियोस्,” उहाँले भन्नुभएको छ, “कमजोरी र अनियमिततामा जोसुकै संलग्न भए पनि सैनिक ऐन, नियम तथा प्रचलित व्यवस्थाअनुसार कारबाही हुनुपर्छ।”
‘सिपाहीको रासनमा लोभ गर्दा सेनाको छविमा दाग लाग्छ’
नेपाली सेना शान्ति मिसनका भुक्तभाेगी, गजेन्द्र थापाले नेपाली सेनाले गरेका राम्रा तथा प्रशंसनीय कामको सम्मान गर्दै भ्रष्टाचार र अनियमितताले संस्थाको छविमा गम्भीर क्षति पुर्याउने बताउनुभएको छ।
“सेनाका सबै राम्रा काम प्रशंसनीय छन्, तर भ्रष्टाचार गर्ने काम पटक्कै राम्रो होइन,” थापाले लेख्नुभएको छ, “जतिसुकै सराहनीय काम गरे पनि भ्रष्टाचारको बानीले सेनाको छविमा दाग लगाइहाल्छ। विचरा सिपाहीले खाने रासनमै लोभ गरिन्छ भने अरू विषयमा के अपेक्षा गर्ने ?”
यी प्रतिक्रियाले कंगो शान्ति मिसनबारे उठेका गुनासालाई सामान्य असन्तुष्टिका रूपमा मात्र नलिई गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आरोप सत्य वा असत्य के हो भन्ने निष्कर्ष स्वतन्त्र, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धानबाट मात्र निकालिनुपर्छ।
नेपाली सेनाको प्रतिष्ठा जोगाउने प्रभावकारी उपाय गुनासा दबाउनु होइन, सत्यतथ्य पत्ता लगाउनु हो। त्यसैले जंगी अड्डाले पीडित सैनिकको गोपनीयता र सुरक्षा सुनिश्चित गर्दै छानबिन अघि बढाओस्। दोषी देखिएकालाई पद र पहुँच नहेरी सैनिक ऐन तथा प्रचलित कानुनअनुसार कारबाही गरोस् र आरोप पुष्टि नभएका व्यक्तिको प्रतिष्ठासमेत सुरक्षित राखोस्।
–प्राप्त पाठकीय प्रतिक्रियामा आधारित




