काठमाडौं। प्रवासको व्यस्त जीवन, सूचना-प्रविधिको चुनौतीपूर्ण पेसा र दैनिक जिम्मेवारीबीच पनि गीतकार रिमा श्रेष्ठले नेपाली गीत-संगीतसँगको आफ्नो सम्बन्धलाई निरन्तर जीवन्त राखेकी छन्। पेसाले आईटी इन्जिनियर श्रेष्ठ नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानप्रतिको गहिरो प्रेमलाई सिर्जनामा उतार्दै आएकी प्रतिभाशाली गीतकार हुन्।
विदेशमा रहे पनि मातृभूमिको सुख-दुःख, सामाजिक परिवर्तन र नेपाली युवाका भावना उनका सिर्जनामा प्रतिबिम्बित हुँदै आएका छन्। उनले आफ्ना गीत तथा सांगीतिक सिर्जना ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत दर्शक-श्रोतासम्म पुर्याउँदै आएकी छन्। नेपाली संस्कृति र मौलिक भेषभूषाप्रतिको उनको लगाव गीत–संगीतमा मात्र सीमित छैन। विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत सक्रिय रहँदै उनले प्रवासबाट नेपाली पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान दिइरहेकी छन्।
यसै सिर्जनशील यात्राको पछिल्लो प्रस्तुतिका रूपमा श्रेष्ठले देशभक्तिपूर्ण गीत ‘देशको शान’ सार्वजनिक गरेकी छन्। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाली सपुतहरूप्रति समर्पित गीतमा परिवर्तनका लागि नयाँ पुस्ताले गरेको संघर्ष, योगदान, त्याग र बलिदानलाई भावनात्मक शब्दमा उतारिएको छ।
देशप्रेम, परिवर्तनको आकांक्षा र बलिदानको सम्मान गीतका मुख्य भाव हुन्। गीतमार्फत जेन–जी पुस्ताले उठाएको परिवर्तनको आवाजलाई कलात्मक रूपले प्रस्तुत गर्दै युवापुस्ताको देशप्रतिको जिम्मेवारीसमेत स्मरण गराउने प्रयास गरिएको छ। मातृभूमिका लागि जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गीतले देश निर्माणमा युवाको भूमिका र उनीहरूले बोकेको आशालाई उजागर गरेको छ।
‘देशको शान’मा सनिश श्रेष्ठको स्वर सुन्न सकिन्छ। कल्याण सिंहले संगीत भरेको गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्। डी स्टुडियोमा रेकर्ड गरिएको गीतलाई भाव, शब्द र संगीतको संयोजनले थप प्रभावशाली बनाएको छ। रिमाका संवेदनशील शब्दलाई सनिशको स्वर तथा कल्याण र दिनेशको सांगीतिक सहकार्यले जीवन्तता प्रदान गरेको छ।
गीतको म्युजिक भिडियोमा रोहन श्रेष्ठले अभिनय गरेका छन्। युनिक कोइरालाले छायांकन गरेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन्। चर्चित म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनको निर्देशनमा तयार भएको भिडियोका निर्माता कुशल गुरुङ हुन्। गीतको मूल भावना र कथालाई दृश्यमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने प्रयास भिडियोमा गरिएको छ।
प्रवासमा बसेर पनि मातृभूमिको पीडा, आशा र परिवर्तनको चाहनालाई शब्दमा समेट्नु रिमा श्रेष्ठको सांगीतिक यात्राको विशेषता हो। उनी गीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित राख्दिनन्; समाजप्रतिको दायित्व, समसामयिक संवेदना र राष्ट्रिय भावनासँग पनि जोड्छिन्।
‘देशको शान’ रिमाको यही देशप्रेम, संवेदनशीलता र सिर्जनशीलताको सशक्त अभिव्यक्ति बनेको छ। गीतले बलिदानको स्मरण मात्र गर्दैन, नयाँ पुस्ताले देखेको समुन्नत र परिवर्तनशील नेपालको सपना पनि बोकेको छ।




