काठमाडौं । संयुक्त राज्य अमेरिकाले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि पाँच लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
२०८३ भदाै ११ गते अमेरिकाले बाढीमा ज्यान गुमाउनेका परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबै नागरिकप्रति सहानुभूति प्रकट गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले नेपालको बाढीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। मन्त्रालयले राहत तथा प्रतिकार्य प्रयासमा सहयोग पुर्याउन विपद् प्रतिकार्यसम्बन्धी एक जना सल्लाहकारलाई प्रभावित क्षेत्रतर्फ परिचालन गर्ने तयारीसमेत गरेको छ।
अमेरिकाले ‘क्याथोलिक रिलिफ सर्भिसेज’सँगको विश्वव्यापी सहायता सम्झौतामार्फत पाँच लाख अमेरिकी डलर उपलब्ध गराउने जनाएको छ। उक्त रकम बाढी प्रभावित समुदायका लागि आपत्कालीन आवास, राहत सामग्री, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोगमा खर्च गरिनेछ।
अमेरिकाले विपद्को कठिन घडीमा बाढीबाट ज्यान गुमाउनेका परिवार, आफन्त तथा प्रभावित समुदायसँग आफ्नो साथ रहेको उल्लेख गरेको छ।
अमेरिकी नागरिकको खोजीमा दूतावास सक्रिय
काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था पहिचान गर्न तथा उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग निकट समन्वय गरिरहेको जनाएको छ।
बाढीसँग सम्बन्धित अत्यावश्यक सहयोग आवश्यक पर्ने नेपालमा रहेका अमेरिकी नागरिकले KathmanduACS@state.gov मा इमेल गर्न सक्ने दूतावासले जनाएको छ।
प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार नियमित रूपमा हेर्न, स्थानीय अधिकारीबाट जारी निर्देशन पालना गर्न र सुरक्षा तथा आपत्कालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम (STEP) मा नाम दर्ता गर्न आग्रह गरिएको छ।
नेपालमा रहेका आफ्ना परिवारका सदस्यबारे जानकारी खोजिरहेका अमेरिकी नागरिकले अमेरिका तथा क्यानडाबाट टोल फ्री नम्बर १-८८८-४०७-४७४७ मा सम्पर्क गर्न सक्नेछन्। अन्य मुलुकबाट १-२०२-५०१-४४४४ मा सम्पर्क गर्न सकिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।




