🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कंगो मिसनमा कमाइको धन्दा, नेपाली सैनिकको प्रतिष्ठा र मनोबल खस्कँदो !

श्रीमान् प्रधानसेनापतिज्यू
जंगी अड्डा, भद्रकाली
काठमाडौं, नेपाल।

विषय : कंगोस्थित नेपाली शान्ति सैनिक मिसनमा देखिएका व्यवस्थापकीय कमजोरी तथा सैनिकका गुनासाबारे निष्पक्ष छानबिन गरिपाऊँ।

महोदय,

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेनाले दशकौँदेखि निर्वाह गर्दै आएको साहसिक, व्यावसायिक र अनुशासित भूमिकाप्रति हामी गौरव गर्दछौँ। नेपाली शान्ति सैनिकले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्जन गरेको प्रतिष्ठा सिङ्गो राष्ट्र र नेपाली सेनाको अमूल्य सम्पत्ति हो। यही गौरवपूर्ण छविलाई अझ उँचो बनाउने उद्देश्यले कंगोस्थित नेपाली शान्ति सैनिक मिसनमा कार्यरत हामी पीडित सैनिकहरूले त्यहाँ देखिएका केही समस्या र गुनासाहरू श्रीमान्‌समक्ष प्रस्तुत गरेका छौँ।

मिसनमा तैनाथ गणको नेतृत्व तह(गणपति दीपक खड्का) मा आवश्यक समन्वय, पारदर्शिता, उत्तरदायित्व र सैनिकमैत्री व्यवहारको अभाव रहेको महसुस गरिएको छ। गणपतिबाट मिसनको समग्र कार्यसम्पादनभन्दा व्यक्तिगत सुविधा, आर्थिक लाभ तथा अवकाशपछिको अवस्थालाई प्राथमिकता दिइएको भन्ने गुनासो सैनिक पङ्क्तिमा व्यापक छ। यस्तो धारणा सत्य हो वा होइन भन्ने विषयमा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुनु आवश्यक देखिएको छ।

गणको बन्दोबस्ती, अपरेसन सञ्चालन र कल्याणकारी गतिविधिको अवस्था अपेक्षाकृत कमजोर रहेको छ। यी क्षेत्रमा सुधारका विषय उठाउँदा बजेट अभाव देखाउँदै सामान्य तथा अत्यावश्यक कामसमेत गर्न नसकिने जवाफ दिने गरिएको गुनासो छ। उपलब्ध बजेट, खर्चको विवरण, सामग्री खरिद, बिल मिलान तथा सामानको वास्तविक दाखिला र वितरणको अवस्थाबारे पारदर्शी परीक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्लाटुन तथा पोस्टहरूमा नियमित रूपमा सञ्चालन हुनुपर्ने पीटी, परेड, तालिम र व्यावसायिक अभ्यास अपेक्षित स्तरमा हुन नसकेको सैनिकहरूको भनाइ छ। शारीरिक तन्दुरुस्ती परीक्षणमा धेरै अधिकृतको अवस्था सन्तोषजनक नरहेको भन्ने गुनासो पनि उठेको छ। यस विषयमा नेतृत्वसमक्ष कुरा राख्दा सुधारात्मक कदम चाल्नुको सट्टा गुनासो गर्ने व्यक्तिको पहिचान खोज्ने वा त्यसलाई सामान्य रूपमा टार्ने प्रवृत्ति देखिएको बताइन्छ। यसले तल्लो तहका सैनिकलाई आफ्ना समस्या खुलेर राख्न निरुत्साहित गरेको छ।

अपरेसन शाखाको नेतृत्वबाट मातहतका सैनिक तथा अधिकृतसँग समन्वयात्मक व्यवहार हुनुपर्नेमा ‘प्लाटुनदेखि गणसम्मको सफलता आफ्नै कारण सम्भव भएको’ आशयका अभिव्यक्ति दिने तथा अनावश्यक दम्भ प्रदर्शन गर्ने गरिएको गुनासो छ। यसबाट टोलीगत भावना, आपसी विश्वास र ‘चेन अफ कमान्ड’मा नकारात्मक प्रभाव परेको अनुभव गरिएको छ।

बन्दोबस्ती शाखाको कार्यसम्पादन, जिम्मेवारीअनुसारको व्यावसायिक क्षमता र खरिद प्रक्रियाको पारदर्शितामाथि पनि प्रश्न उठेका छन्। सामानको वास्तविक आवश्यकता, खरिद आदेश, आपूर्ति, दाखिला, वितरण र बिल भुक्तानीबीच मेल भए-नभएको सम्बन्धमा सूक्ष्म परीक्षण गर्न आवश्यक छ। कुनै सामान खरिद नगरी बिल मिलान गर्ने प्रयास भएको हो वा होइन भन्ने गुनासोसमेत सुनिएकाले यस विषयलाई गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ।

केही जिम्मेवार अधिकृतहरू कार्यालय तथा व्यावसायिक जिम्मेवारीभन्दा तास खेल्ने, मदिरा सेवन गर्ने वा व्यक्तिगत मनोरञ्जनमा बढी केन्द्रित हुने गरेको गुनासो छ। यदि यस्तो गतिविधि भएको हो भने त्यसले सैनिक अनुशासन, अपरेसनल तयारी र मिसनको मर्यादामाथि प्रतिकूल प्रभाव पार्न सक्छ। तसर्थ सम्बन्धित व्यक्तिहरूको ड्युटी अभिलेख, गतिविधि र कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गरियोस्।

गणअन्तर्गतका पोस्टहरूमा जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, अनुभव र आवश्यकता हेर्नुभन्दा व्यक्तिगत निकटता तथा असन्तुष्ट व्यक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले सरुवा वा परिचालन गरिएको अनुभूति सैनिकहरूमा छ। मेजर अमित र मेजर उज्ज्वललाई विभिन्न पोस्टमा पठाइएको निर्णयसमेत यही सन्दर्भमा सैनिक पङ्क्तिमा चर्चाको विषय बनेको छ।

त्यसैगरी मेजर रमेश र क्याप्टेन मनिषसँग सम्बन्धित व्यवस्थापकीय विषय समाधान गर्न नसकेपछि अन्य दर्जाका सैनिकलाई उनीहरूमाथि निगरानी वा व्यक्तिगत सूचना सङ्कलनमा प्रयोग गरिएको भन्ने गुनासो छ। यस्तो कार्य भएको हो भने यसले एकाइभित्र अविश्वास र विभाजन बढाउन सक्छ।

मर्मतसम्भार शाखाको अवस्था पनि सन्तोषजनक नरहेको बताइन्छ। सम्बन्धित प्राविधिक कर्मचारी तथा जिम्मेवार पदाधिकारीहरू नियमित रूपमा कार्यस्थलमा उपस्थित नहुने, तीन महिनामा करिब एक हप्ता मात्र सवारीसाधन निरीक्षण गर्न आउने, बिग्रिएका सवारीसाधन समयमै मर्मत नगर्ने तथा प्रत्येक समस्यामा बजेट अभाव देखाउने गरेको गुनासो छ। सवारीसाधनको मर्मत इतिहास, स्पेयर पार्ट्स खरिद, इन्धन खपत, वर्कसप अभिलेख र सवारीसाधनको वास्तविक अवस्थाको प्राविधिक परीक्षण गरिएमा यथार्थ अवस्था स्पष्ट हुने विश्वास लिएका छौँ।

मिसनमा कार्यरत सैनिकका अनुसार उल्लिखित समस्या विभिन्न तहमा मौखिक तथा लिखित रूपमा जानकारी गराइए पनि अपेक्षित सुनुवाइ र सुधार हुन सकेको छैन। गुनासो गर्ने सैनिकको परिचय खुल्ने डरले धेरैजना औपचारिक रूपमा बोल्न सकिरहेका छैनन्। त्यसैले छानबिनका क्रममा उजुरीकर्ता तथा सूचना दिने सैनिकको परिचय पूर्ण रूपमा गोप्य राख्ने व्यवस्था मिलाइयोस्।

उल्लिखित विषयहरू कसैलाई व्यक्तिगत रूपमा दोषी ठहर गर्ने उद्देश्यले प्रस्तुत गरिएका होइनन्। यी सैनिक पङ्क्तिबाट उठेका गम्भीर गुनासा भएकाले सत्यतथ्य पहिचान गर्न देहायबमोजिमका कदम चालिदिनुहुन विनम्र अनुरोध गर्दछौँ-

१. जंगी अड्डाबाट सम्बन्धित गणको प्रत्यक्ष कमान्ड प्रभावभन्दा बाहिर रहने गरी स्वतन्त्र तथा निष्पक्ष छानबिन टोली खटाइयोस्।
२. सैनिकसँग कमान्डरहरूको उपस्थितिबिना छुट्टाछुट्टै र गोप्य रूपमा बयान लिइयोस्।
३. बन्दोबस्ती, खरिद, बिल भुक्तानी, दाखिला, वितरण तथा मौज्दात विवरणको विशेष लेखापरीक्षण गरियोस्।
४. अपरेसन, तालिम, पीटी, परेड र शारीरिक तन्दुरुस्तीसम्बन्धी अभिलेख तथा वास्तविक अवस्थाको परीक्षण गरियोस्।
५. सवारीसाधन, मर्मतसम्भार, स्पेयर पार्ट्स, इन्धन र वर्कसपसम्बन्धी अभिलेखको प्राविधिक जाँच गरियोस्।
६. अधिकृत तथा अन्य दर्जाबीचको व्यवहार, जिम्मेवारी बाँडफाँट र पोस्टिङ प्रक्रियाको निष्पक्ष समीक्षा गरियोस्।
७. प्रमाणित कमजोरीमा संलग्न जोसुकैलाई दर्जा वा पदको प्रभावबाट मुक्त राखी सैनिक ऐन, नियम र प्रचलित व्यवस्थाअनुसार कारबाही गरियोस्।
८. गुनासो राख्ने सैनिकमाथि प्रतिशोध, विभेद, सरुवा, मूल्याङ्कनमा असर वा अन्य कुनै दबाब नपर्ने सुनिश्चितता प्रदान गरियोस्।
९. छानबिनबाट देखिएका समस्या तत्काल सुधार गरी मिसनको अनुशासन, व्यावसायिकता र सैनिक कल्याण सुदृढ बनाइयोस्।

श्रीमान् प्रधानसेनापतिज्यूबाट यस संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई निष्पक्ष छानबिन तथा आवश्यक सुधारात्मक कारबाही हुनेमा हामी विश्वस्त छौँ। हाम्रो उद्देश्य नेपाली सेनाको गौरव, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको प्रतिष्ठा र प्रत्येक सैनिकको सम्मान तथा मनोबल सुरक्षित गर्नु मात्र हो।

भवदीय,

कंगोस्थित नेपाली शान्ति मिसनमा कार्यरत पीडित सैनिकहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *