काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त अधिकृत प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहलाई देशको परम्परा, संस्कार र पदको मर्यादा कायम राख्न आग्रह गरेका छन्।
मिति २०८३ भदौ २ गते मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै बस्न्यातले आफू नेपालका इतिहास, संस्कार तथा संस्कृतिको अभिलेखीकरणको काममा लामो समयदेखि संलग्न रहेको उल्लेख गरेका छन्। उनले आफूले विसं २०५३ सालदेखि यस क्षेत्रमा काम गर्दै आएको र पछिल्लो १० वर्षदेखि व्यक्तिगत खर्चमा अभिलेखीकरणको काम गरिरहेको बताएका छन्।
बस्न्यातले नेपालमा लिखित संविधान र कानुनसँगै पुस्तौँदेखि चलिआएका परम्परा तथा प्रचलनसमेत रहेको उल्लेख गरेका छन्। उनले यस्ता परम्परा र संस्कारको संरक्षण आवश्यक रहेको धारणा राखेका छन्।
पत्रमा उनले प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठसँग शिष्टाचार भेटवार्ता गर्दा लगाएको पोसाकप्रति समेत प्रश्न उठाएका छन्। प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक तस्विरको प्रसङ्ग उल्लेख गर्दै उनले औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले नेपाली औपचारिक पोसाकलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

‘प्रधानमन्त्रीको पद व्यक्तिको निजी पद होइन, यसको आफ्नै मर्यादा र प्रोटोकल हुन्छ,’ भन्ने आशय व्यक्त गर्दै बस्न्यातले औपचारिक कार्यक्रममा मनलाग्दी पोसाक लगाउन नहुने बताएका छन्।
उनले विशेषगरी भारतीय पक्षसँग हुने औपचारिक कार्यक्रमहरूमा औपचारिकता र प्रोटोकललाई उच्च प्राथमिकता दिइने भन्दै प्रधानमन्त्री शाहलाई पनि त्यसबाट उदाहरण लिन आग्रह गरेका छन्। ‘Lead by Example’ अर्थात् नेतृत्व आफैँ उदाहरण बनेर देखाउनुपर्ने उनको सुझाव छ।
बस्न्यातले आफू अनुशासित सैनिकका रूपमा देशको परम्परा र संस्कृतिको सम्मान गर्ने व्यक्ति भएको उल्लेख गर्दै प्रधानमन्त्रीका पछिल्ला गतिविधिले आफूलाई दुःखी बनाएको बताएका छन्।




