काठमाडौं । क्यानडामा रहेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ गीत ‘लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो।



यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’लगायत गीतमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक डान्स तथा पार्टी फ्लेभरको ‘लाली’ प्रस्तुत गरेका हुन्।
प्रेम, युवापुस्ताको आकर्षण र रात्रिकालीन जीवनशैलीलाई गीतमा रोचक ढंगले चित्रण गरिएको छ। आकर्षक कोरस र ऊर्जावान् बीट समावेश गरिएको गीतमा निर्वाण र कुशकै शब्द, संगीत तथा स्वर रहेको छ। उनीहरूलाई गायिका सेरेनले स्वरमा साथ दिएकी छन् भने संगीत संयोजन तथा बीट प्रोडक्सन ‘ले जेड’ले गरेका हुन्।
‘निर्वाण रेकर्ड्स टोरोन्टो’मा तयार पारिएको गीतमा निर्वाणको मेलोडिक हिपहप र कुशको ऊर्जावान् र्याप शैलीको आकर्षक संयोजन सुन्न सकिन्छ।
हरि हुमागाईंको निर्देशनमा तयार भएको भिडियोमा मोडल इभा गिरीको अभिनय रहेको छ। जेस्टीले भिडियोको कोरियोग्राफी गरेका छन्। भिडियोको दृश्य निर्देशन तथा सम्पादन निर्देशक हुमागाईंले गरेका हुन् भने उत्तम हुमागाईंले छायांकन सम्हालेका छन्। प्रबिन मानन्धरले कलरिङ तथा सम्पादनको जिम्मेवारी निर्वाह गरेका छन्।
सात समुद्रपारि रहेर पनि नेपाली हिपहप संगीतलाई निरन्तरता दिइरहेका निर्वाण र कुशको यो सिर्जनालाई प्रवासबाट नेपाली सुगम संगीत र र्याप विधामा गरिएको नयाँ प्रयोगका रूपमा हेरिएको छ।
डिजिटल प्लेटफर्मसँगै टिकटक र रिल्सका दर्शकलाई लक्षित गरी तयार पारिएको ‘लाली’ले विशेषगरी युवापुस्ताको मन जित्ने निर्माण पक्षको अपेक्षा छ।