🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापतिज्यू, भूपू सैनिकको पहेँलो पट्टामा लेखिएको चार सय कहिले बढ्ला ?

सिपाहीको बल र बैँस पल्टनले लियो, अब उसको बुढेसकालको पीडा पनि पल्टनले सुनोस्। हामीलाई आदेश दिइयो-पालना गर्‍यौँ। हामीलाई जहाँ खटाइयो-त्यहीँ पुग्यौँ। देशमा संकट आयो-अग्रमोर्चामा उभियौँ। जनतालाई विपद् पर्‍यो-आफ्नो ज्यान जोखिममा राखेर उद्धार गर्‍यौँ।

श्रीमान् प्रधानसेनापतिज्यू,
नेपाली सेना, जंगी अड्डा, काठमाडौं।
मार्फत-साँघु न्यूज डटकम

विषय : अवकाशप्राप्त भूपू सैनिकले कल्याणकारी कोषबाट पाउँदै आएको मासिक चार सय रुपैयाँ सहायता समयानुकूल वृद्धि गरिदिनेसम्बन्धमा।

महोदय,

यो पत्र कुनै एक जना भूपू सैनिकको व्यक्तिगत गुनासो मात्र होइन। आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय सैनिक पोसाकमा बिताएका, देशको सुरक्षाका लागि घरपरिवारबाट टाढा रहेका र आज जीवनको उत्तरार्धमा अभावसँग जुधिरहेका हजारौँ पूर्वसैनिकको सामूहिक कथा-व्यथा हो।

हामीले जागिर खाँदा देशको अवस्था फरक थियो, बजारभाउ फरक थियो र चार सय रुपैयाँको मूल्य पनि फरक थियो। रु. ७५ मा एक किलो खसीको मासु पाइने बेलादेखि नेपाली सेनाको कल्याणकारी कोषबाट पूर्वसैनिकले पाउँदै आएको रु. ४०० सहायता आजकाे महँगी जमानासम्म पनि उही छ। समय फेरियो, सरकार फेरिए, प्रधानसेनापति फेरिए, जंगी अड्डाका, नियम, नीति र योजना फेरिए, तर भूपू सैनिकको पहेँलो पट्टामा लेखिएको चार सय रुपैयाँ भने फेरिएन।

त्यतिबेला रु. ४०० ले पाँच किलोभन्दा बढी खसीको मासु किन्न सकिन्थ्यो। आज खसीको मासु प्रतिकिलो करिब रु. १ हजार ५०० पुगिसकेको छ। सामान्य होटल तथा चिया पसलमा एक कप चियाकै रु. ५० देखि एक सयसम्म तिर्नुपर्ने अवस्था छ। औषधि, खाद्यान्न, लत्ताकपडा, यातायात र स्वास्थ्य परीक्षणको खर्च निरन्तर बढिरहेको छ। यस्तो महँगीमा मासिक रु. ४०० ले भूपू सैनिकको कुन आवश्यकता पूरा हुन्छ, जंगी अड्डाले एकपटक गम्भीर भएर हिसाब गरिदिनुपर्‍यो।

प्रधानसेनापतिज्यू,

हामीले आफ्नो बल, बैँस र जवानी पल्टनमै चढायौँ। परिवारका सुख-दुःखभन्दा माथि सैनिक अनुशासनलाई राख्यौँ। चाडपर्वमा घर पुग्न पाएनौँ, छोराछोरी जन्मँदा साथमा बस्न पाएनौँ, आमाबुबा बिरामी हुँदा पनि बिदा नमिलेर ब्यारेकमै बस्यौँ। हिमालको कठ्यांग्रिँदो जाडो, तराईको उखरमाउलो गर्मी र विकट पहाडका अप्ठ्यारा बाटामा देशको आदेश शिरोपर गर्दै ड्युटी गर्‍यौँ।

हामीलाई आदेश दिइयो-पालना गर्‍यौँ।
हामीलाई जहाँ खटाइयो-त्यहीँ पुग्यौँ।
देशमा संकट आयो-अग्रमोर्चामा उभियौँ।
जनतालाई विपद् पर्‍यो-आफ्नो ज्यान जोखिममा राखेर उद्धार गर्‍यौँ।

त्यसबेला हामीले आफ्नो भविष्यको हिसाब गरेनौँ। किनकि हामीलाई विश्वास थियो-हाम्रो संस्था हाम्रो अभिभावक हो। आज शरीरमा पहिलेजस्तो बल छैन। हातखुट्टा दुख्छन्, ढाडले भारी थेग्दैन, आँखाको ज्योति कमजोर भएको छ। कतिपय साथीहरू अपाङ्गताकाे जीवन बाँचिरहेका छन् भने कतिपय दीर्घरोगसँग लडिरहेका छन्। केही गरेर आम्दानी गरौँ भने उमेर र स्वास्थ्यले साथ दिँदैन। पेन्सनले घरखर्च, औषधोपचार र परिवारका न्यूनतम आवश्यकता धान्न कठिन भइरहेको छ।

यस्तो अवस्थामा सैनिक कल्याणकारी कोषबाट पाइने रु. ४०० लाई सहायता भनिरहँदा हामीलाई खुसीभन्दा बढी पीडा हुन्छ। रकम सानो भएकाले मात्र होइन, वर्षौँदेखि यसमा पुनरवलोकन नभएकाले पनि मन दुख्छ। हामीले संस्थालाई दिएको जीवनको मूल्य यही चार सय रुपैयाँमा सीमित गरिएको हो कि भन्ने अनुभूति हुन्छ।

यो रकम लिँदा हातमा पैसा आउँछ, तर मनमा अनेक प्रश्न उठ्छन्-के जंगी अड्डालाई आजको महँगी र बजारभाउ थाहा छैन ? के नेपाली सेनाका भूपू सैनिकले भोगिरहेको महँगी र औषधोपचारको समस्या नेतृत्वसम्म पुगेको छैन ? के सैनिक कल्याणकारी कोषको उद्देश्य साँच्चिकै पूर्वसैनिकको जीवनमा सहयोग पुर्‍याउनु होइन ? सहायता यति थोरै किन राखिएको छ कि त्यसले सहायता पाउने व्यक्तिको एक दिनको सामान्य खर्चसमेत धान्न सक्दैन ?

प्रधानसेनापतिज्यू,

नेपाली सेनाको कल्याणकारी कोष सैनिक र पूर्वसैनिकको रगत, पसिना, त्याग र अनुशासनसँग जोडिएको कोष हो। यसको मूल उद्देश्य बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका परिवारको हित, सुरक्षा र सम्मान हुनुपर्छ। कोषको आकार बढेको छ भने त्यसको प्रत्यक्ष अनुभूति सबैभन्दा पहिले तल्लो दर्जाका सैनिक, अशक्त पूर्वसैनिक, एकल महिला र आश्रित परिवारले गर्न पाउनुपर्छ।

कल्याणकारी योजनाहरू कागज, प्रतिवेदन र समारोहमा मात्र देखिएर पुग्दैन। तिनले बूढो भूपू सैनिकको भान्सामा चामल पुर्‍याउनुपर्छ, बिरामी हुँदा औषधि किन्न सघाउनुपर्छ र जीवनको उत्तरार्धमा संस्थाले बिर्सिएको छैन भन्ने भरोसा दिलाउनुपर्छ।

हामी जंगी अड्डासँग दया मागिरहेका छैनौँ। हामीले आफ्नो जीवनभर गरेको सेवाको सम्मान खोजिरहेका छौँ। नेपाली सेनाले आफ्ना अवकाशप्राप्त सदस्यलाई दिने सहायता समयअनुकूल र व्यवहारिक बनाइयोस् भन्ने न्यायोचित अपेक्षा राखेका छौँ।

त्यसैले हाल उपलब्ध गराइँदै आएको मासिक रु. ४०० सहायतालाई कम्तीमा रु. ४ हजारदेखि रु. ५ हजारसम्म पुर्‍याइदिन हामी विनम्र आग्रह गर्दछौँ। यो रकमलाई भविष्यमा महँगीको अनुपातमा निश्चित अवधिमा स्वतः पुनरवलोकन गर्ने व्यवस्था पनि गरियोस्। सहायता वितरणमा विशेष गरी न्यून पेन्सन पाउने तल्लो दर्जाका पूर्वसैनिक, ७० वर्षमाथिका ज्येष्ठ भूपू सैनिक, अशक्त, दीर्घरोगी तथा दुर्गम क्षेत्रमा बसोबास गर्नेहरूलाई प्राथमिकता दिइयोस्।

साथै, अवकाशप्राप्त सैनिकको वास्तविक अवस्था बुझ्न जंगी अड्डाले देशभरका भूपू सैनिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्नुपर्छ। जिल्लास्तरमा उनीहरूका समस्या संकलन गर्ने स्थायी संयन्त्र बनाउनुपर्छ। कल्याणकारी कोषको आम्दानी, खर्च र लाभ वितरणबारे पूर्वसैनिकलाई स्पष्ट जानकारी दिइनुपर्छ। यसो गर्दा संस्था र पूर्वसैनिकबीचको विश्वास अझ बलियो हुनेछ।

प्रधानसेनापतिज्यू,

सैनिक सेवाबाट अवकाश पाइन्छ, तर सैनिक हुनुको गौरवबाट कहिल्यै अवकाश पाइँदैन। आज पनि राष्ट्रिय झण्डा देख्दा हाम्रो छाती गर्वले फुल्छ। नेपाली सेनाको प्रशंसा हुँदा हामी खुसी हुन्छौँ र आलोचना हुँदा मन दुख्छ। किनकि यो संस्था हाम्रो जागिर मात्र थिएन-हाम्रो पहिचान, गौरव र जीवन थियो।

तर त्यही संस्थाको ढोकासम्म आफ्ना पीडा पुर्‍याउन बारम्बार आवाज उठाउनुपर्ने अवस्था आउनु दुःखद हो। जंगी अड्डाको नेतृत्वले ब्यारेकभित्रका वर्तमान सैनिकको मात्र होइन, ब्यारेकबाट बाहिरिएका आफ्ना पुराना सिपाहीहरूको जीवन पनि हेर्नुपर्छ। आजका बहालवाला सैनिक भोलिका भूपू सैनिक हुन्। आज पूर्वसैनिकसँग गरिएको व्यवहारले नै बहालवाला सैनिकलाई आफ्नो भविष्यप्रति भरोसा जगाउँछ।

सेनाका निर्णयकर्ताहरूले सकारात्मक साेच राख्ने हाे भने रु. ७५ किलो खसीको मासु पाइने बेलाको रु. ४०० सहायता, मासु प्रतिकिलो रु. १ हजार ५०० पुगेको समयमा पनि उही राख्नु कुनै पनि दृष्टिले न्यायोचित देखिँदैन। मूल्यवृद्धिको सामान्य हिसाबले हेर्दासमेत उक्त सहायता धेरैअघि बढिसक्नुपर्ने थियो। चार सय रुपैयाँलाई चार हजार वा पाँच हजार बनाउनु कल्याणकारी कोषमाथिको भार मात्र होइन-जीवनभर राष्ट्रको सेवा गरेका पूर्वसैनिकप्रति संस्थाले देखाउने कृतज्ञता र सम्मान पनि हो।

हामी बूढा भयौँ, कमजोर भयौँ, तर हाम्रो आत्मसम्मान मरेको छैन। शरीरमा बल घटे पनि नेपाली सेनाप्रतिको माया घटेको छैन। हामी संस्थासँग टाढिएका छैनौँ; संस्था पनि हामीबाट टाढा नहोस् भन्ने चाहना मात्र हो।

त्यसैले हाम्रो अन्तिम आग्रह छ-कृपया भूपू सैनिकको पहेँलो पट्टामा वर्षौँदेखि अड्किएको रु. ४०० लाई समयानुकूल वृद्धि गरिदिनुहोस्। रु. ४ हजार वा रु. ५ हजार पुर्‍याएर जीवनको उत्तरार्धमा रहेका पूर्वसैनिकलाई थोरै भए पनि राहत, सम्मान र भरोसा दिनुहोस्।

हाम्रो आवाज जंगी अड्डाको अग्लो पर्खालभित्र पुग्नेछ, प्रधानसेनापतिज्यूले हाम्रो अवस्था बुझ्नुहुनेछ र विवेकपूर्ण निर्णय लिनुहुनेछ भन्ने आशा राखेका छौँ।

सिपाहीको बल र बैँस पल्टनले लियो, अब उसको बुढेसकालको पीडा पनि पल्टनले सुनोस्।

भवदीय,
काका पुमा
अवकाशप्राप्त भूपू सैनिकहरूकाे संयुक्त आवाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *