काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमहामन्त्री डा. धवलशमशेर राणा आफ्ना समर्थकसहित नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्। तर, नयाँ पार्टी निर्माणका प्रमुख साझेदार मानिएका जनअभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने राणासँगै आयोग पुगेनन्।
राणा र प्रसाईंले संयुक्त रूपमा नयाँ राष्ट्रवादी तथा राजसंस्थापक्षधर राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए। पार्टीको नेतृत्व, जिम्मेवारी र शक्ति बाँडफाँटको विषयमा दुई पक्षबीच सहमति कायम हुन नसकेपछि राणा आफ्नो समूहलाई मात्र लिएर दल दर्ता गर्न निर्वाचन आयोग पुगेको निकट स्रोतको दाबी छ।
यसअघि भएको समझदारीअनुसार राणालाई प्रस्तावित पार्टीको सभापति र प्रसाईंलाई ‘सर्वोच्च नेता’ वा ‘सर्वमान्य नेता’ बनाउने गृहकार्य गरिएको थियो। पार्टीको संरचनामा प्रसाईंका लागि अलग पदसमेत सिर्जना गर्ने तयारी भएको विवरण सार्वजनिक भएको थियो। तर दल निर्वाचन आयोगमा पुग्ने निर्णायक घडीमा प्रसाईं र उनको अभियानका मुख्य सदस्य अनुपस्थित रहनुले दुई नेताबीचको सहकार्यमा गम्भीर दरार आएको संकेत गरेको छ। राणा सभापति र प्रसाईं सर्वोच्च नेता रहने समझदारी बनेको स्राेत बताउछ ।
सुरुदेखि नै नेतृत्वमा दुई शक्ति केन्द्र
राप्रपा परित्याग गरेपछि राणाले अलग राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग सहकार्यको प्रयास अगाडि बढेको थियो।
दुवै पक्षले हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र राष्ट्रियताको मुद्दालाई नयाँ पार्टीको प्रमुख राजनीतिक आधार बनाउने तयारी गरेका थिए। बैंक तथा वित्तीय संस्थाबाट पीडित ऋणीको विषयलाई जोडदार रूपमा उठाउँदै आएका प्रसाईंको जनपरिचालन क्षमता र राप्रपाबाट बाहिरिएका राणाको संगठनात्मक समूहलाई जोडेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने योजना थियो।
तर पार्टी दर्ता नहुँदै नेतृत्वमा दुईवटा शक्ति केन्द्र देखिएको थियो। राणाको समूह पार्टीको वैधानिक तथा कार्यकारी नेतृत्व आफ्नै नियन्त्रणमा राख्न चाहन्थ्यो भने प्रसाईं पक्षले अभियानको जनाधार र सडक शक्तिअनुसार निर्णायक भूमिका खोजेको स्रोत बताउँछ।
राणालाई सभापति र प्रसाईंलाई सर्वोच्च नेता बनाउने प्रारम्भिक समझदारीले तत्काल विवाद साम्य भएको देखिए पनि अधिकार बाँडफाँट स्पष्ट हुन सकेन। पार्टीका निर्णयमा अन्तिम अधिकार कसको हुने, केन्द्रीय समितिमा कुन पक्षको कति प्रतिनिधित्व रहने र भावी निर्वाचनमा उम्मेदवार छनोटको अधिकार कसले प्रयोग गर्ने भन्ने विषयमा मतान्तर बढ्दै गएको बताइन्छ।
निर्णायक दिनमा प्रसाईं अनुपस्थित
राणा समर्थकहरूलाई निश्चित समयमै कान्तिपथस्थित निर्वाचन आयोगमा उपस्थित हुन आह्वान गरिएको थियो। यसअघि राणा र प्रसाईं दुवै पक्ष मिलेर साउन २९ गते दल दर्ता गर्ने तयारी गरिएको सार्वजनिक भएको थियो।
तर दल दर्ताको निर्णायक दिनमा राणा आफ्नै समूहसहित आयोग पुग्दा प्रसाईं र उनको अभियानको मूल समूह अलग रह्यो। यही दृश्यले दुई पक्षबीचको असन्तुष्टि सतहमा ल्याएको हो।
राणाले प्रसाईंलाई पर्खिएर दल दर्ता रोक्नुभन्दा आफ्नो संगठनात्मक समूहलाई अगाडि बढाउने बाटो रोजेका छन्। यससँगै प्रसाईं प्रस्तावित ‘जय नेपाल पार्टी’मा पछि सहभागी हुने, बाहिरबाट समर्थन गर्ने वा आफ्नै अभियानलाई अलग राजनीतिक शक्तिका रूपमा अगाडि बढाउने भन्ने विषय अन्योलमा परेको छ।
छोटो समयमै सहकार्यमा धक्का
राणा र प्रसाईंले २०८३ जेठमा नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य सुरु गरेका थिए। राप्रपा छाडेपछि राणाले प्रसाईंसँग छलफल गरी राष्ट्रवादी मोर्चा निर्माण गर्ने तयारी अगाडि बढाएका थिए। अनुसार उनीहरूबीच राजनीतिक अवस्था, वैकल्पिक शक्ति र संगठन विस्तारबारे छलफल भएको थियो।
राप्रपाबाट अलग हुँदा राणासँग पूर्वमन्त्री, पूर्वपदाधिकारी तथा ठूलो संख्यामा नेता–कार्यकर्ता बाहिरिएका थिए। अर्कोतर्फ, प्रसाईंसँग बैंक तथा लघुवित्तविरोधी आन्दोलनदेखि हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको अभियानमा जोडिएको जनसमूह थियो। यी दुई शक्तिको मिलनले राजसंस्थापक्षधर राजनीतिक धारमा नयाँ दबाब सिर्जना गर्ने अनुमान गरिएको थियो।
तर सहकार्य घोषणा भएको छोटो समयमै अधिकार र भूमिकाको विवाद देखिएपछि नयाँ राजावादी मोर्चा प्रारम्भमै कमजोर बन्ने जोखिम बढेको छ।
राप्रपालाई चुनौती दिने योजना पनि प्रभावित
राणा–प्रसाईं सहकार्यलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राजनीतिक धारलाई चुनौती दिने प्रयासका रूपमा हेरिएको थियो। राप्रपाबाट असन्तुष्ट नेता–कार्यकर्ता, स्वतन्त्र राजावादी समूह तथा प्रसाईंको अभियानमा आबद्ध समर्थकलाई एउटै दलमा समेट्ने उनीहरूको योजना थियो।
तर प्रसाईं अलग हुँदा ‘जय नेपाल पार्टी’ तत्कालका लागि राणा र उनीसँग राप्रपा छाडेका नेता–कार्यकर्तामा सीमित हुने देखिएको छ। प्रसाईंको जनपरिचालन क्षमता नजोडिए नयाँ पार्टीलाई देशव्यापी संगठन विस्तार गर्न कठिन हुन सक्छ। उता राणाको राजनीतिक तथा संगठनात्मक अनुभवबिना प्रसाईंको अभियानलाई वैधानिक दलका रूपमा रूपान्तरण गर्न पनि चुनौती रहनेछ।
दल दर्ता प्रक्रियामा राणा एक्लै अगाडि बढेपछि दुवै नेताबीच पुनः समझदारी हुन्छ वा घोषित सहकार्य औपचारिक रूपमा समाप्त हुन्छ भन्ने विषय उनीहरूको आगामी कदमले स्पष्ट गर्नेछ। तत्काल देखिएको राजनीतिक दृश्यले भने एउटा सन्देश दिएको छ-जय नेपाल पार्टी’ निर्वाचन आयोगमा पुग्दा त्यसको प्रारम्भिक खम्बा मानिएका दुर्गा प्रसाईं धवलशमशेर राणाको साथमा छैनन्।




