सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रामा बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
चालकसहित चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जीप सडकबाट अनियन्त्रित भई करिब २० मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जीपसहित दुई जना नदीमा बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा जीप चालक दाङ निवासी अन्दाजी २३ वर्षीय हेमराज बिसी र सल्यानको सिद्धकुमाख गाउँपालिका–४ निवासी अन्दाजी ४३ वर्षीय खलबहादुर राना रहेका छन्।
दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१ आपखोली निवासी अन्दाजी २९ वर्षीय प्रेम विक र अन्दाजी २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुर्घटनास्थलबाट उद्धार गरिएका दुवै जनाको सल्लीबजारस्थित सल्ली सिटी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा खोज तथा उद्धारमा परिचालित भएका थिए। भेरी नदीमा जीप खसेको र पानीको बहावका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
बेपत्ता चालक बिसी र रानाको खोजी तथा उद्धार कार्य जारी छ। जीप अनियन्त्रित हुनुको कारण खुलिसकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




