काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी नेतृत्वका लागि वर्तमान महासचिव युविका भण्डारी, प्रथम उपाध्यक्ष जिश्वा तुलाधर श्रेष्ठ र पर्यटन व्यवसायी भरतजंग पाण्डेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। तीनै जना अध्यक्षका प्रत्याशीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपछि नाट्टाको निर्वाचन निकै रोचक बनेको छ।
नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचन २०८३ साउन २९ गते शुक्रवार अर्थात् अगस्ट १४ मा काठमाडौंमा हुँदै छ। तीनवटै समूहले पर्यटन व्यवसायीको हकहित, नीतिगत सुधार, संस्थागत सुशासन, डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय बजार विस्तार र व्यावसायिक समस्या समाधानलाई प्रमुख चुनावी मुद्दा बनाएका छन्। निर्वाचन कार्यक्रमसम्बन्धी विवरण
तीन उम्मेदवार मैदानमा रहे पनि पर्यटन व्यवसायी वृत्तमा पाण्डे र श्रेष्ठबीच निर्णायक प्रतिस्पर्धा हुन सक्ने आंकलन गर्न थालिएको छ। चुनावी समीकरण निर्माणमा व्यावसायिक सम्बन्धसँगै राजनीतिक निकटता, व्यक्तिगत सम्पर्क, प्यानलको संरचना र ठमेल क्षेत्रका मतदाताको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ।
व्यवसायी वृत्तमा भण्डारी र पाण्डेको आधारभूमि नेपाली कांग्रेसनिकट मतदाता रहेको चर्चा छ। दुवै उम्मेदवारले त्यही मत समूहमा प्रभाव राख्ने भएकाले मत विभाजित हुन सक्ने विश्लेषण गरिएको छ। कांग्रेसनिकट मानिने मत दुईतिर बाँडिएमा एमालेनिकट भनेर चिनाइएकी जिश्वा तुलाधर श्रेष्ठलाई लाभ पुग्न सक्ने अनुमान छ। यद्यपि, नाट्टाको निर्वाचन दलीय चुनाव नभएकाले अन्तिम परिणाम उम्मेदवारको व्यक्तिगत सम्बन्ध, व्यावसायिक छवि र प्यानलको स्वीकार्यताबाट निर्धारण हुने व्यवसायीहरू बताउँछन्।
भरतजंग पाण्डेले आफूलाई कुनै एक राजनीतिक समूहमा सीमित नराखी स्वतन्त्र र सबै पक्षलाई समेट्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। ठमेल क्षेत्रका केही पर्यटन व्यवसायीले पाण्डेले कांग्रेसनिकट मतसँगै स्वतन्त्र तथा अन्य राजनीतिक धारका मतसमेत आकर्षित गर्न सक्ने आंकलन गरेका छन्। यही ‘क्रस भोट’ तान्न सक्ने सम्भावना उनको मुख्य शक्ति मानिएको छ।
पाण्डे नेतृत्वको प्यानलले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन : सदस्यसँगै, सदस्यका लागि’ नारासहित नाट्टा रूपान्तरणका ११ संकल्प सार्वजनिक गरेको छ। संस्थामा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने, कडा आचारसंहिता लागू गर्ने तथा सबै सदस्यलाई समान अवसर प्रदान गर्ने प्रतिबद्धता प्यानलको छ।
अन्तर्राष्ट्रिय सेल्स मिसन, नेपालमा अन्तर्राष्ट्रियस्तरको ट्राभल मार्ट, पर्यटक बस टर्मिनल, पर्यटकीय सवारीको हरियो नम्बर प्लेटलाई निरन्तरता र भ्याटसम्बन्धी समस्या समाधानलाई पनि पाण्डे समूहले प्राथमिकतामा राखेको छ। उनको प्यानलमा सुनिल शर्मा वरिष्ठ उपाध्यक्ष, सविता केसी भट्टराई उपाध्यक्ष, राजकुमार देवकोटा महासचिव र जीवन कोइराला सहकोषाध्यक्षका उम्मेदवार छन्। पाण्डे प्यानल र संकल्पपत्रको विवरण
सहकोषाध्यक्षका उम्मेदवार जीवन कोइरालाको ठमेलका युवा पर्यटन व्यवसायीबीच विशेष चर्चा देखिएको छ। उनले आफ्नो व्यक्तिगत जित मात्र नभई पाण्डेको सम्पूर्ण समूह विजयी हुने दाबी गर्दै आएका छन्। युवा व्यवसायीसँगको सम्पर्क, सक्रियता र व्यावसायिक सञ्जाललाई पाण्डे समूहले चुनावी शक्तिका रूपमा उपयोग गरिरहेको देखिन्छ।
वर्तमान प्रथम उपाध्यक्ष जिश्वा तुलाधर श्रेष्ठ भने संस्थाभित्रको अनुभव र सङ्गठित मतलाई आफ्नो मुख्य आधार बनाएर अघि बढेकी छिन्। उनको प्यानलले ‘समावेशी नेतृत्व’को अवधारणासहित १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। डिजिटल ब्रान्डिङ, कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग, बीटुबी प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजार विस्तार र नयाँ तथा साना व्यवसायीका लागि एकद्वार सेवा प्रणाली सञ्चालन गर्ने उनको योजना छ।
श्रेष्ठ समूहले ‘नाट्टा एकेडेमी’ सञ्चालन गरी सदस्यलाई प्राविधिक, डिजिटल र व्यावसायिक तालिम दिने तथा टिकेटिङ क्षेत्रमा क्यापिङ नीति, एडीएम नियमन र कर प्रणाली सुधारका लागि पहल गर्ने जनाएको छ। वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष रहेका कारण संस्थागत मतमा उनको प्रभाव बलियो मानिएको छ। कांग्रेसनिकट मत विभाजित भएमा त्यसको प्रत्यक्ष लाभ जिश्वा तुलाधर श्रेष्ठले लिन सक्ने सम्भावना औँल्याइएको छ। तीनवटै प्यानलका प्रतिबद्धता
वर्तमान महासचिव युविका भण्डारीलाई पनि कमजोर उम्मेदवार मानिएको छैन। उनले ‘पर्यटन उठे नेपाल उठ्छ’ नारासहित हवाई टिकटमा लगाइएको भ्याट हटाउने, पर्यटन विधेयक पारित गराउन दबाब दिने, विदेशी मुद्रा भित्र्याउने व्यवसायीलाई प्रोत्साहन उपलब्ध गराउने र पोखरा तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सम्पर्क विस्तार गर्ने प्रतिबद्धता जनाएकी छन्।
यसरी हेर्दा प्रतिस्पर्धा पाण्डे र श्रेष्ठबीच केन्द्रित हुन सक्ने प्रारम्भिक आंकलन भए पनि भण्डारीले तान्ने मत नै अन्तिम परिणामको निर्णायक बन्न सक्छ। तीन उम्मेदवारबीच मत झिनो अन्तरले बाँडिने सम्भावना रहेकाले कुनै एउटा प्यानलले सबै पद जित्नेभन्दा मिश्रित कार्यसमिति बन्ने सम्भावना पनि उत्तिकै देखिएको छ।




