काठमाडौं । अवकाशप्राप्त उपरथी बाबुराम श्रेष्ठले नेपाली सेनामाथि विभिन्न तह र क्षेत्रबाट ‘नियोजित प्रहार’ भइरहेको दाबी गर्दै पूर्वसैनिक तथा पूर्वसुरक्षाकर्मीलाई रणनीतिक एवं कार्यनीतिक छलफलमा सहभागी हुन आह्वान गरेको समाचारप्रति पूर्वसैनिकहरूले व्यापक चासो देखाएका छन्।
२०८३ साउन २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने छलफलमा सहभागी हुँदा लिखित सुझावसमेत लिएर आउन आग्रह गरिएको छ। यससम्बन्धी साँघु न्यूज डटकमले प्रकाशन गरेको समाचारमा अहिलेसम्म १३६ वटा प्रतिक्रिया प्राप्त भएका छन्। तीमध्ये पूर्वसैनिक दीक कार्की र उदय पौडेलका प्रतिक्रिया प्रतिनिधिमूलक रूपमा यहाँ संयुक्त रूपमा प्रस्तुत गरिएको छ।
तीन दशकभन्दा लामो समय सैनिक बर्दी लगाएर राष्ट्रको सेवा गरेका पूर्वसैनिकहरूले पछिल्लो समय राजनीतिक वृत्तबाट नेपाली सेनामाथि भइरहेको आलोचना, मानमर्दन तथा दबाबका कारण आफूहरू दुःखी र अपमानित भएको बताएका छन्। गाउँघर, सार्वजनिक स्थल तथा सभा-समारोहमा गौरवका साथ उचो शिर बनाएर उपस्थित हुने पूर्वसैनिकहरूलाई अहिले शिर झुकेको अनुभूति हुन थालेको उनीहरूको भनाइ छ।
ऐतिहासिक विरासत, परम्परागत शान र राष्ट्रिय सुरक्षाको जिम्मेवारी बोकेको नेपाली सेनाले आफूमाथि उठेका प्रश्न तथा भइरहेका प्रहारको गहिराइसम्म पुगेर अध्ययन गर्नुपर्ने उनीहरूले बताएका छन्। सेनाभित्र कुनै गम्भीर कमजोरी वा विकृति छ भने त्यसको जरो पहिचान गरी जिम्मेवार पक्षमाथि कारबाही गर्नुपर्ने, तर आधारहीन रूपमा सिङ्गो सैनिक संगठनको मानमर्दन भइरहेको हो भने त्यसविरुद्ध संस्थागत रूपमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग उनीहरूको छ।
पूर्वसैनिक उदय पौडेलले सेना सबैको हेपाइ, चेपाइ र धरपकड सहेर ‘झुम्राको पुतलीजस्तो मूकदर्शक’ भएर बस्न नमिल्ने बताएका छन्। संसारका अन्य मुलुकका सैनिक संगठन राज्य वा राजनीतिक वृत्तबाट निरन्तर अपमानित भएर बसेको उदाहरण आफूहरूले नदेखेको उल्लेख गर्दै उनले नेपाली सेनाको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
अर्का पूर्वसैनिक दीक कार्कीले भने सैनिक संगठनमाथिको बाह्य प्रहारसँगै पूर्वसैनिकका आन्तरिक आर्थिक तथा कल्याणकारी समस्यालाई पनि बहसको मुख्य विषय बनाउन आग्रह गरेका छन्। उनका अनुसार पूर्व, पश्चिम, उत्तर वा दक्षिण-जुनसुकै भूगोलमा रहेका पूर्वसैनिकहरू सेनाको हितमा हुने सकारात्मक कामको समर्थन गर्न तयार छन्। तर सैनिक कल्याणकारी कोषबाट मासिक रूपमा दिइँदै आएको चार सय रुपैयाँ र कोषमा रहेको करिब ९७ अर्ब रुपैयाँ जलविद्युत् क्षेत्रमा लगानी गर्ने भनिएको विषयमा गम्भीर छलफल तथा सशक्त आवाज उठ्नुपर्छ।
आर्थिक समस्याका कारण तल्लो दर्जाबाट अवकाश प्राप्त धेरै सैनिक काठमाडौंमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था रहेको कार्कीले बताएका छन्। सिपाही, बिल्लादार, जमदार र सुवेदार तहबाट अवकाश पाएका धेरै पूर्वसैनिक अहिले सुरक्षा गार्डलगायत विभिन्न पेसामा संलग्न भएर जीविकोपार्जन गर्न बाध्य छन्। सङ्ख्यात्मक रूपमा यही तहका पूर्वसैनिकको बाहुल्य भए पनि उनीहरूको आवाज प्रभावकारी रूपमा नसुनिएको उनको गुनासो छ।
दुवै पूर्वसैनिकको प्रतिक्रियामा नेपाली सेनाको प्रतिष्ठा संरक्षण, संगठनभित्रका सम्भावित कमजोरीको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा तल्लो दर्जाका पूर्वसैनिकको आर्थिक र कल्याणकारी हितलाई प्राथमिकतामा राख्नुपर्ने साझा धारणा देखिएको छ। उनीहरूले उच्च सैनिक तहबाट अवकाश प्राप्त अधिकारीहरूलाई तल्लो दर्जाका पूर्वसैनिकका पीडा, प्रश्न र अपेक्षा सम्बन्धित निकायसम्म पुर्याउनसमेत आग्रह गरेका छन्।
पूर्वसैनिकहरूले व्यक्त गरेको यो भावना सेनाप्रतिको आक्रोश नभई आफूले जीवनको ऊर्जाशील समय समर्पण गरेको संस्थाप्रतिको गहिरो चिन्ता, अपनत्व र पीडाको अभिव्यक्ति भएको बताएका छन्। उनीहरूको साझा सन्देश छ-सेनाको प्रतिष्ठा जोगाउनुका साथै संगठनको आधारका रूपमा रहेका सिपाहीदेखि सुवेदारसम्मका वर्तमान तथा पूर्वसैनिकको आवाज पनि समान रूपमा सुनिनुपर्छ।




