श्रीमान् सम्पादकज्यू
साँघु न्यूज डटकम
काठमाडौँ।
महोदय,
गोकर्णेश्वर नगरपालिका-४ अन्तर्गत माकलबारीदेखि गोकर्णेश्वर महादेव मन्दिरसम्मको सडक क्षेत्रमा पर्खाल भत्काउने क्रममा नेपाली सेनाको ब्यारेकसँग जोडिएको संरचनामा समेत डोजर चलाइएपछि उत्पन्न विवादबारे एउटा महत्त्वपूर्ण तथ्य सार्वजनिक गरिदिन अनुरोध गर्दछौँ।
स्थानीय स्रोतका अनुसार २०८३ साउन १८ गते सोमबार पर्खाल भत्काउने काम भइरहेका बेला नेपाली सेनाका अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो। सैनिक अधिकारीहरूले उक्त पर्खाल ब्यारेकको सुरक्षा र संरचनासँग सम्बन्धित भएकाले तत्काल काम रोक्न तथा आवश्यक समन्वय, सुरक्षा मूल्याङ्कन र प्राविधिक छलफलपछि मात्रै काम अगाडि बढाउन सांसद राजुनाथ पाण्डेसँग पटक-पटक आग्रह गरेका थिए।
सैनिक बर्दीमा उपस्थित ती अधिकृतले कुनै व्यक्तिगत स्वार्थ वा आग्रह राखेका थिएनन्। उहाँले नेपाली सेनाका तर्फबाट ब्यारेकको सुरक्षा संवेदनशीलता बुझाउँदै संस्थागत र औपचारिक अनुरोध गर्नुभएको थियो। तर सांसद पाण्डेले उहाँको विनम्र आग्रह सुन्नुको सट्टा आक्रोशपूर्ण व्यवहार र धम्कीपूर्ण भाषा प्रयोग गरेको दृश्य सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ।
उक्त घटनामा अत्यन्त संयमित र शालीन रूपमा प्रस्तुत भएका सैनिक अधिकृत को हुन् भन्ने जिज्ञासा पनि धेरैमा देखिएको छ। उहाँ नेपाली सेनाका सहसेनानी अनुपमान श्रेष्ठ हुनुहुन्छ। नेपाली सेनामा ‘क्याप्टेन’ दर्जालाई नेपालीमा ‘सहसेनानी’ भनिन्छ। त्यसैले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘क्याप्टेन अनुपमान श्रेष्ठ’ भनेर उल्लेख गरिएका अधिकृत उहाँ नै हुनुहुन्छ।
सहसेनानी श्रेष्ठले सांसदको उत्तेजक प्रस्तुतिका बाबजुद सैनिक अनुशासन र मर्यादा उल्लङ्घन गर्नुभएन। उहाँले आवाज चर्काउने वा विवाद बढाउने काम नगरी सुरक्षा संवेदनशीलता बुझाउने र समन्वयको आग्रह गर्दै नेपाली सेनाकाे तर्फबाट आफ्नो संस्थागत जिम्मेवारी निर्वाह गरिरहनुभयो। उहाँको संयमित र भद्र व्यवहारले नेपाली सेनाको अनुशासन तथा व्यावसायिक मर्यादा झल्काएको छ।
तर जनप्रतिनिधिको जिम्मेवार भूमिकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले औपचारिक आग्रहको सुनुवाइ नगरेको, घमण्डी स्वभाव प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन्द्र शाहकाेमा जाउ भनेर परिस्थितिलाई थप तनावपूर्ण बनाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। सैनिक अधिकृतमाथि देखाएको व्यवहारका कारण चौतर्फी आलोचना र खप्की खेपेपछि सांसद पाण्डे अहिले स्पष्टीकरण दिँदै हिँड्न बाध्य भएको देखिन्छ।
राज्यको एउटा संवेदनशील सुरक्षा निकायका प्रतिनिधिले ब्यारेकको सुरक्षासँग सम्बन्धित विषयमा समन्वयको आग्रह गर्दा जनप्रतिनिधिले त्यसलाई गम्भीरतापूर्वक सुन्नुपर्थ्यो। कानुन निर्माण गर्ने र राज्यका निकायबीच समन्वय गराउने जिम्मेवारीमा रहेका सांसदबाटै अटेरी र उत्तेजक व्यवहार प्रदर्शन हुनु दुःखद हो।
घटनामा संयमित रहँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सहसेनानी अनुपमान श्रेष्ठको परिचय र सही सैनिक दर्जाबारे आमपाठकलाई जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ।
भवदीय
नेपाली सेनाका सकलदर्जाहरू




