🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बोरा र बाँसको भरमा ६०० परिवार, कोशी कटानको स्थायी समाधान खोइ सरकार ?

सुनसरी, २४ साउन । “हामी यहाँ बसाइँ सरेर आउँदा कोशी नदी निकै टाढा बग्थ्यो, अहिले त बस्तीमै आइपुगेको छ,” सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुका पदम राई भन्नुहुन्छ।

विसं २०७४ देखि सपरिवार यहाँ बसोबास गर्दै आउनुभएका राई एक बिघा जमिनमा धान र मकैखेती गर्नुका साथै गाईभैँसी पालेर जीविकोपार्जन गर्नुहुन्छ। वर्षभरि खेतीपाती र पशुपालनमा गरेको मिहिनेतभन्दा बर्सेनि बस्तीतर्फ नजिकिँदै आएको सप्तकोशी नदीले उहाँलाई बढी चिन्तित बनाएको छ।

“हरेक वर्ष कटान बढिरहेको छ। अहिले हामी सबै मिलेर श्रमदान गर्दै बालुवा र सिमेन्टका बोरा भरेर किनार जोगाउने प्रयास गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “ठूलो बाढी आयो भने यति प्रयासले मात्रै धान्न सक्दैन। यसले केही समय राहत दिए पनि स्थायी समाधान हुँदैन।”

सुनसरी बाढी, डुबान र नदी कटानको उच्च जोखिममा रहेका जिल्लामध्ये पर्छ। बर्खायाममा सप्तकोशीसहित विभिन्न नदीमा आउने बाढीले बस्ती डुबाउने, खेतीयोग्य जमिन बगाउने तथा सडक र पुलमा क्षति पुर्‍याउने क्रम बर्सेनि दोहोरिन्छ। सप्तकोशी किनारका बासिन्दाका लागि भने बाढीमात्र होइन, नदीको तीव्र कटानसमेत गम्भीर चुनौती बनेको छ।

विशेषगरी बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित चिलिया तथा श्रीलङ्का टापुका बासिन्दा बाढी र कटानको दोहोरो त्रासमा जीवन बिताउन बाध्य छन्। नदीले बर्सेनि जमिन र बस्ती कटान गर्दै जोखिम बढाइरहे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।

सुनसरी र उदयपुरको सीमामा पर्ने चिलिया टापुमा सप्तकोशीको बहाव बढेसँगै स्थानीयको चिन्ता पनि बढ्छ। यस वर्ष नदीले चिलिया र गरैया क्षेत्रमा तीव्र कटान सुरु गरेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी संयुक्त रूपमा श्रमदान गरी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।

सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार बढ्दो कटानले चिलिया र श्रीलङ्का टापुको बस्ती उच्च जोखिममा परेको छ। कटान नियन्त्रणका लागि यसअघि निर्माण गरिएका करिब १८ वटा स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी स्परसमेत नदी कटानको चपेटामा पर्दै गएका छन्।

“बाँस गाड्ने, नाइलनको डोरीले बाँध्ने र बालुवा भरिएका बोरा राख्ने उपाय अपनाएका छौँ,” माझी भन्नुहुन्छ, “तर यी अस्थायी उपायमात्र हुन्। बलियो तटबन्ध निर्माण र वैज्ञानिक नदी व्यवस्थापनबिना समस्याको दीर्घकालीन समाधान सम्भव छैन।”

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कटान नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरी अस्थायी तटबन्ध निर्माण गरिएको बताउनुभयो। कोशी बक्राहा नदी नियन्त्रण आयोजनामार्फत पहिलो चरणमा पाँच हजार ५०० बोरा र ७० थान डोरीजाली उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।

सप्तकोशीले धार परिवर्तन गर्दा बनेको चिलिया टापु हजारौँ नागरिकको आश्रयस्थल हो। बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा फैलिएको यस क्षेत्रमा हरेक बर्खामा जोखिम बढ्ने गरेको छ। नदीले पुनः कटान तीव्र बनाएपछि अहिले सयौँ परिवार त्रासमा छन्।

बेलका नगरप्रमुख कार्कीका अनुसार करिब ६०० परिवार प्रत्यक्ष जोखिममा छन्। बेलका–८ मा गरिएको संरक्षण कार्यले केही राहत दिए पनि तल्लो तटीय क्षेत्रमा कटान रोकिएको छैन। सप्तकोशीले धार विस्तारै पश्चिमतर्फ मोड्ने सङ्केत देखाएको र त्यस क्षेत्रमा बाक्लो मानव बस्ती रहेकाले जोखिम झन् बढेको उहाँको भनाइ छ।

गत वर्ष निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत नदीको बहावमा डुब्न थालेका छन्। स्थानीय भीम राईका अनुसार असारदेखि सुरु भएको कटान निरन्तर बढिरहेको छ। बलौटे माटो भएका कारण दैनिक जमिन बगिरहेको छ भने संरक्षणका लागि राखिएका ढुङ्गा र तारजालीसमेत नदीले बगाउँदै लगेको छ।

बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले नगरपालिकाले आफ्नो क्षमताअनुसार जेसिभी, ट्याक्टर, जाली, बोरा, बालुवा, सिमेन्टलगायत सामग्री उपलब्ध गराएर कटान नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो। स्थानीय र सुरक्षा निकायसँग समन्वय गरी तटबन्ध निर्माण भइरहेको उहाँको भनाइ छ।

“कोशी कटान यहाँको मात्र नभई राष्ट्रिय सरोकारको विषय हो,” उहाँले भन्नुभयो, “नगरपालिकाको सीमित बजेट र स्रोतले बर्सेनि दोहोरिने समस्याको स्थायी समाधान गर्न सक्दैन। वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन संरचना निर्माण गर्नुपर्छ।”

गत वर्ष निर्माण गरिएका स्परसमेत ठूलो बाढीले बगाएकाले स्परमात्र पर्याप्त नहुने उहाँको भनाइ छ। उपयुक्त स्थानमा बाँध, नोच तथा अन्य नदी नियन्त्रण संरचना निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो। आवश्यक परे छिमेकी मुलुकसँग कूटनीतिक पहलसमेत गर्नुपर्ने उहाँको धारणा छ।

करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रका अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन्। धान, मकै, तरकारीखेती, पशुपालन र दुग्ध उत्पादन स्थानीय अर्थतन्त्रका आधार हुन्। तर प्रत्येक बर्खामा खेतीयोग्य जमिन साँघुरिँदै जानु, नदी घरनजिक आइपुग्नु र बस्ती छाड्नुपर्ने जोखिम बढ्नुले स्थानीयलाई चिन्तित बनाएको छ।

स्थानीयले श्रमदान र सामूहिक प्रयासबाट तत्काल बस्ती जोगाइरहे पनि बलियो तटबन्ध र वैज्ञानिक नदी व्यवस्थापन नहुँदासम्म चिलिया तथा श्रीलङ्का टापुवासीका लागि बर्खा प्राकृतिक ऋतुमात्र नभई आफ्नो अस्तित्व जोगाउने वार्षिक सङ्घर्ष बनिरहने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *