श्रीमान् सम्पादकज्यू
साँघु साप्ताहिक
काठमाडौं।
महोदय,
नेपाली सेना नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने प्रमुख सैनिक संस्था हो। दक्षिण एसियाकै पुराना सैनिक सङ्गठनमध्ये एक नेपाली सेनाको इतिहास, गरिमा र राष्ट्रिय भूमिकाप्रति हामी गौरव गर्छौं। यही सङ्गठनअन्तर्गत सैनिक कल्याणकारी कोषबाट सञ्चालित वीरेन्द्र सैनिक अस्पताल नेपाली सेनाको प्रमुख स्वास्थ्य संस्था हो। तर अस्पतालभित्र लामो समयदेखि देखिएको अव्यवस्था, अपारदर्शिता र सम्भावित आर्थिक अनियमितताले संस्थाको प्रतिष्ठामाथि नै प्रश्न उठाएको छ।
अस्पतालको राशन, सरसफाइ तथा हाइजिन सामग्री, स्टेसनरी र अन्य आवश्यक वस्तुको खरिद, भण्डारण एवं वितरणमा गम्भीर लापरबाही भइरहेको विषय बेलाबेलामा चर्चामा आउने गरेको छ। तैपनि प्रभावकारी छानबिन र सुधार हुन सकेको छैन। यसमा माथिल्लो तहको संरक्षण र प्रभाव रहेको आशङ्का पीडित सकल दर्जाले गरेका छन्।
सबैभन्दा पहिले राशन व्यवस्थापनको विषय उल्लेख गर्न चाहन्छौं। प्रत्येक महिना खपत भएर बाँकी रहेको राशनको अभिलेख, भण्डारण र व्यवस्थापनमा चरम बेथिति रहेको हाम्रो आरोप छ। प्रशासन रजिस्ट्रार हरीशबहादुर बम (सहायक रथी), सेनानी अमृत खड्का, सु. नेत्र बहादुर मल्ल, दीपेन्द्र लुइटेल, चिनिया स्याङ्काजु,, तथा अ.म. आरोशी थापासहितको समूहको मिलेमतोमा राशनमा अनियमितता भइरहेको भन्ने हाम्राे गम्भीर गुनासो छ।
बिरामी तथा जवान मेसमा महिनाभरि खपत भएर बाँकी रहेको राशनको वास्तविक परिमाण हिसाबमा नदेखाई त्यसलाई खपत भएको विवरणमा समावेश गर्ने र बचेको राशन पुनः स्टोरमा दाखिला गरी बिक्री गरेर रकम बाँडफाँट गर्ने गरिएको आशङ्का छ। राशनको घटबढ विवरण तयार गर्दा वास्तविक बचतको करिब आधा परिमाण खपत भएको देखाइने तर त्यो राशन वास्तवमा प्रयोग नभएको आरोप छ।
व्यवस्थापनका नाममा स्टोरमा राखिएको राशनबाट चिनी, दाल, तेललगायत सामग्री केही अधिकृत तथा पदाधिकारीले आफ्ना चालक वा सहयोगीमार्फत नियमित रूपमा लैजाने गरेको गुनासोसमेत छ। राशन बिक्री गर्दा बिलमा उल्लेख भएको मूल्यभन्दा प्रतिबोरा चामलमा दुई सय रुपैयाँसम्म बढी रकम लिने गरिएको र त्यसबारे प्रश्न उठाउँदा “माथिको आदेश हो, लैजाने भए लैजानू, करकाप छैन” भन्ने जवाफ दिएर सेवाग्राहीलाई हतोत्साहित गर्ने गरिएको बताइन्छ।
राशन वितरण गर्ने निश्चित समयसमेत नरहेको अवस्था छ। स्टोरम्यानको इच्छाअनुसार स्टोर खोल्ने र बन्द गर्ने, सेवाग्राहीलाई लामो समय कुराउने तथा सोधपुछ गर्दा अपमानजनक व्यवहार गर्ने गरिएको गुनासो पीडितहरूले गरेका छन्। स्टोरभित्र का कर्मचारीहरू घण्टौंसम्म ढोका बन्द गरेर बस्ने र काम लिएर पुगेका सैनिकले ढोका ढकढक्याउँदा गालीगलौज गर्ने गरिएको आरोपसमेत छ। यसले स्टोरको अनुशासन, कार्यपद्धति र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
तल्लो दर्जाका सैनिकले यसबारे आवाज उठाउन सक्ने अवस्था छैन। सम्बन्धित कर्मचारीको प्रशासन रजिस्ट्रारसम्म प्रत्यक्ष पहुँच रहेको र कार्यालयमा काम गर्नेहरूलाई “दिनमा एक-दुईपटक प्रशासन रजिस्ट्रारको क्याबिनमा रातो बत्ती बल्छ” भन्दै प्रभाव देखाउने गरिएको गुनासो छ। यस्तो पहुँच र संरक्षणका कारण सामान्य सैनिकहरू बोल्न डराउने अवस्था सिर्जना भएको छ।
यसअघि हाइजिन स्टोरमा काम गर्दा पनि वार्ड तथा ओपीडीमा मागअनुसार सामान वितरण नगरी कृत्रिम अभाव सिर्जना गर्ने, आधा मात्र सामान उपलब्ध गराउने र बाँकी सामग्री ठेकेदारसँगको मिलेमतोमा दुरुपयोग गर्ने गरिएको आरोप थियाे। सम्बन्धित स्टोरबाट रातारात सामग्री सारेर ठेकेदारले प्रयोग गर्ने भनिएको अर्को स्टोरमा थुपारिएको र त्यसबापत रकम लिइएको विषयमा प्रमाण रहेको पीडित पक्षको दाबी छ।
अस्पतालबाट राशन पास भएपछि घरमा राशन लैजाने व्यवस्थामा पनि ठूलो चलखेल भइरहेको बताइन्छ। महिनाको निश्चित मितिमा राशन लैजान चिट तथा टोकन वितरण गर्नुअघि स्टोरमा कार्यरत कुमार तामाङले लगत निकाल्ने गरेको र केही व्यक्तिलाई नियमअनुसार पाउनेभन्दा दुई-तीन गुणा बढी राशनको चिट उपलब्ध गराई त्यसबापत व्यक्तिगत फाइदा लिने गरिएको आरोप छ।
एक छाकको राशन पास भएका व्यक्तिलाई विगतको छुटसमेत देखाएर दुई-तीन महिनाको अतिरिक्त चिट दिइने र त्यसबापत रकम असुल्ने गरिएको दाबी गुनासाे पत्रमा उल्लेख गरिएको छ। यसबाट सङ्गठनलाई आर्थिक क्षति पुगेको र केही व्यक्तिले व्यक्तिगत लाभ लिएको हुन सक्ने भएकाले सबै लगत, चिट, टोकन, बिल तथा स्टोरको मौज्दात जाँच गर्न आवश्यक देखिन्छ।
अर्कोतर्फ, रामबहादुर चौधरीले आफूलाई प्रशासन रजिस्ट्रार हरीशबहादुर बमको निकट व्यक्ति बताउँदै अरूलाई नटेर्ने गरेको आरोप छ। स्टेसनरी स्टोरमा कार्यरत रहँदा एकपटक मात्र खरिद भएको सामानलाई तीनपटकसम्म खरिद गरिएको देखाउने कागजात तयार गरिएको प्रमाण रहेको पीडित पक्षको दाबी छ।
यस्ता विषय यसअघि पनि बाहिर नआएका होइनन्। तर शक्ति, पहुँच र संरक्षणका कारण सम्बन्धित व्यक्तिहरूलाई कार्यालयमा बोलाएर सामान्य सोधपुछसमेत गर्न नसकिएको पीडितहरूको भनाइ छ। किनकि यस प्रकरणको निष्पक्ष छानबिन भए “लहरो तान्दा पहरो गर्जिने” अवस्था आउन सक्ने आशङ्का गरिएको छ।
हामी कुनै पनि व्यक्तिलाई छानबिनपूर्व दोषी ठहर गर्न चाहँदैनौं। उल्लिखित विषय गम्भीर आरोप तथा पीडित सकल दर्जाबाट प्राप्त गुनासा हुन्। त्यसैले सत्यतथ्य पत्ता लगाउन प्रधानसेनापतिको प्रत्यक्ष निगरानीमा सम्बन्धित व्यक्तिहरूको प्रभाव नपर्ने गरी स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरियोस् भन्ने हाम्रो माग छ।
समितिले कम्तीमा निम्न विषयको विस्तृत अनुसन्धान गरोस्—
१. पछिल्ला वर्षहरूको राशन खरिद, खपत, बचत, बिक्री र मौज्दात विवरण।
२. बिरामी तथा जवान मेसको दैनिक र मासिक राशन अभिलेख।
३. राशन वितरणका चिट, टोकन, लगत र रकम बुझाएको विवरण।
४. हाइजिन तथा स्टेसनरी सामग्रीको माग, खरिद, दाखिला र वितरण अभिलेख।
५. एउटै सामानलाई पटक–पटक खरिद गरेको देखाइएका बिल तथा कागजात।
६. सम्बन्धित ठेकेदार, स्टोर कर्मचारी र जिम्मेवार अधिकृतबीचको सम्भावित आर्थिक सम्बन्ध।
७. आरोपित व्यक्तिहरूको बैंक कारोबार, अस्वाभाविक आर्थिक लेनदेन र सम्पत्ति विवरण।
८. आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित अवधिको कल डिटेल तथा सम्पर्क विवरण।
९. स्टोर क्षेत्रमा जडित सीसीटीभी फुटेज र आवतजावत अभिलेख।
१०. पीडित तथा सूचना दिने सैनिकहरूको परिचय गोप्य राखी सुरक्षित रूपमा बयान लिने व्यवस्था।
छानबिनका क्रममा आरोप पुष्टि भए तल्लो तहका कर्मचारीलाई मात्र बलिको बोको नबनाई निर्देशन दिने, संरक्षण गर्ने र लाभ लिने माथिल्लो तहसम्मका सबै जिम्मेवार व्यक्तिलाई सैनिक ऐन तथा प्रचलित कानुनअनुसार कारबाही गरियोस्। आरोप गलत ठहरिए त्यसको वास्तविकता पनि आधिकारिक रूपमा सार्वजनिक गरियोस्।
नेपाली सेनाजस्तो गौरवशाली संस्थाको प्रतिष्ठा केही व्यक्तिको स्वार्थ, अपारदर्शिता र सम्भावित अनियमितताका कारण कमजोर हुनु हुँदैन। संस्थाप्रति हाम्रो सम्मान र विश्वास भएकै कारण यो विषय सार्वजनिक गरेका हौं। प्रस्तुत आरोपहरूको गम्भीरतापूर्वक छानबिन गरी वीरेन्द्र सैनिक अस्पतालको राशन तथा जिन्सी व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी र अनुशासित बनाइयोस् भन्ने जोडदार माग गर्दछौं।
धन्यवाद।
भवदीय,
वीरेन्द्र सैनिक अस्पतालका पीडित सकल दर्जाहरू




