काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले पोखराबाट एक रेष्टुरेन्ट सञ्चालकलाई ठूलो परिमाणको ब्राउन हेरोइनसहित पक्राउ गरेको छ।
ब्युरोका अनुसार साउन २० गते लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले कास्कीको पोखरा महानगरपालिका–८ सृजना चोकस्थित एक रेष्टुरेन्टमा छापा मारेको थियो।
प्रहरीले रेष्टुरेन्ट सञ्चालनको आवरणमा लागूऔषध ब्राउन हेरोइन बिक्री–वितरण गर्दै आएका भारतीय नागरिकलाई १४५.२७ ग्राम ब्राउन हेरोइनसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिको नाम तथा ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।





