🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठेपुल बगाएपछि सेनाले बनायो अस्थायी पुल, स्थानीयको आवतजावत सहज

रसुवा । अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ स्थित टेवछे खोलाको काठेपुल रहेको स्थानमा नेपाली सेनाले अस्थायी पुल निर्माण गरेको छ।

नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दासँगको सहकार्यमा २०८३ साउन १९ गते अस्थायी पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो। पुल निर्माणसँगै स्थानीय बासिन्दा तथा यात्रुहरूको आवतजावत सहज बनेको छ।

निरन्तरको वर्षा र खोलामा बढेको पानीको बहावले काठेपुलमा क्षति पुर्‍याएपछि उक्त क्षेत्रमा पैदल आवतजावत प्रभावित भएको थियो। पुल प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएपछि स्थानीय बासिन्दाले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता भोग्दै आएका थिए।

समस्या समाधानका लागि श्रीनाथ गणको टोली आवश्यक सामग्रीसहित घटनास्थलमा परिचालित भएको थियो। सैनिक टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उपलब्ध स्रोत तथा सामग्री प्रयोग गरी छोटो समयमै मानिस हिँड्न मिल्ने अस्थायी पुल तयार गरेको जनाइएको छ।

भौगोलिक विकटता, वर्षा र खोलाको बढ्दो बहावबीच निर्माण गरिएको पुलले दैनिक कामका लागि आवतजावत गर्ने स्थानीय बासिन्दा, विद्यार्थी तथा यात्रुलाई तत्काल राहत पुगेको छ। पुल निर्माणपछि गाउँबस्तीबीचको सम्पर्क पुनःस्थापित हुनुका साथै अत्यावश्यक सेवा र सामग्रीको ढुवानीमा समेत सहजता आएको छ।

स्थानीय बासिन्दाले विपद्का बेला तत्काल परिचालित भएर जोखिमपूर्ण स्थानमा पुल निर्माण गरिदिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी तथा सहयोगमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।

मनसुनको समयमा रसुवाका विभिन्न खोलानाला तथा ग्रामीण सडकमा बाढी, पहिरो र कटानको जोखिम रहने गरेको छ। सुरक्षा निकायले नदी तथा खोलाको बहाव बढेका बेला जोखिमपूर्ण स्थानबाट आवतजावत नगर्न र अस्थायी पुल प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्थानीयवासी तथा यात्रुलाई अनुरोध गरेको छ।

निर्मित संरचना अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबाट दिगो र सुरक्षित पुल निर्माण गर्नुपर्ने आवश्यकता भने कायमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *