काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) का रूपमा कार्य गर्न जाने १३औँ डफ्फालाई २०८३ साउन २० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच हार्दिक बिदाइ गर्नुभएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिसन-१, जुबामा कार्यरत १२औँ डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको एकवर्षे कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामनासमेत व्यक्त गर्नुभयो।
उहाँले हाल विश्वमा भू-राजनीतिक प्रतिस्पर्धा, आतंकवाद र साइबर सुरक्षाजस्ता चुनौती थपिएको तथा शान्ति मिसनहरूको संख्या घट्दै गएको अवस्थामा यो अवसर प्राप्त गर्नु गौरवको विषय भएको बताउनुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने अवसर भएको उल्लेख गर्नुभयो। सशस्त्र प्रहरी कर्मचारीहरूले मिसनमा गर्ने प्रत्येक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सशस्त्र प्रहरी बलले शान्ति मिसनमा कायम गरेको व्यावसायिक पहिचानलाई थप उचाइमा पुर्याउन अझ जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो।
उहाँले दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सीमित स्रोतसाधनका बीच कार्यसम्पादन गर्नुपर्ने चुनौती रहेको बताउनुभयो। ती चुनौतीका बीच व्यावसायिक दक्षता, आपसी विश्वास, समन्वय र सामूहिक भावनाका साथ कार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले यौन शोषण तथा दुर्व्यवहारमा शून्य सहनशीलता अपनाउन र मानवअधिकारका विषयमा पूर्ण सजग रहन कडा निर्देशन दिनुभयो।
अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्नेलाई तुरुन्त फिर्ता गर्नुपर्ने बताउँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भन्नुभयो, ‘कुनै एक जनाको गल्ती, लापरबाही तथा अनुशासनहीनताका कारण मिसनमाथि प्रश्नचिह्न उठ्यो भने त्यसको परिणाम घातक हुनेछ।’
उहाँले आर्थिक पारदर्शिता कायम गर्दै प्राप्त बजेटको सही सदुपयोग गर्न तथा मर्मतसम्भार र सामग्री व्यवस्थापनमा इमानदार हुनसमेत निर्देशन दिनुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरू मिसनमा कार्यरत रहँदा उनीहरूका परिवारमा आइपर्ने जस्तोसुकै समस्या समाधानका लागि संगठन सधैँ तयार रहेको बताउनुभयो। उहाँले मिसनको म्यान्डेट पूरा गरी सबै सशस्त्र प्रहरी कर्मचारी थप गौरवका साथ स्वदेश फिर्ता हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू वंशीराज दाहाल, गणेशबहादुर ठाडामगर र अञ्जनीकुमार पोखरेलले समेत उक्त टोलीलाई हार्दिक बिदाइ गर्नुभएको थियो।
सन् २००३ मा सशस्त्र प्रहरी बल, नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत पहिलोपटक लाइबेरियामा खटिएको थियो। उक्त मिसन सन् २०१६ मा समाप्त भएको थियो। त्यसैगरी, सन् २०१४ मा दक्षिण सुडानको जुबामा सशस्त्र प्रहरी बल, नेपाललाई अर्को मिसन प्राप्त भएको थियो।
दक्षिण सुडान मिसनमा हाल १६० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन्। सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तसहित १६० जना सशस्त्र प्रहरी कर्मचारी २०८३ साउन २१ गते त्यसतर्फ प्रस्थान गर्नेछन्।




