🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्यालय पुनर्निर्माणका लागि सिड्नीमा च्यारिटी डिनर, ११ हजार डलर संकलन !

सिड्नी । कालिकोटस्थित एक विद्यालयको भवन पुनर्निर्माणमा सहयोग जुटाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले १ अगष्ट २०२६ मा सिड्नीमा च्यारिटी डिनर आयोजना गरेको छ।

झरना फङ्सन सेन्टरमा ‘गिभिङ इनिसियटिभ’ नाम दिएर आयोजित कार्यक्रमबाट करिब ११ हजार अष्ट्रेलियन डलर संकलन भएको आयोजकले जनाएको छ। संकलित रकम कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटस्थित श्री खापर मष्टा आधारभूत विद्यालयको भवन पुनर्निर्माणमा खर्च गरिनेछ।

कार्यक्रममा बार्टन निर्वाचन क्षेत्रबाट अष्ट्रेलियाको संघीय संसद्मा निर्वाचित सांसद आश अम्बिहाइपहार, बरउड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट, हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेल, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेत, इन्जिनियर प्रकाश श्रेष्ठलगायतको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अम्बिहाइपहारले हेल्प नेपाल नेटवर्कले सञ्चालन गर्दै आएका काम अर्थपूर्ण र प्रभावकारी रहेको बताइन्। यस्ता कल्याणकारी अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

त्यस्तै, काउन्सिलर भट्टले नेपालमा पुस्तकालय निर्माणका लागि काउन्सिलका तर्फबाट सहयोग जुटाउन आफूले पहल गर्ने बताइन्।

हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले संस्थाले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान अघि बढाइरहेको जानकारी दिए। उनले नेटवर्कमार्फत नेपालका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरे।

च्यारिटी डिनरमा इन्जिनियर हर्ष गौतमले उपलब्ध गराएको तस्बिर लिलामी गर्दा एक हजार पाँच सय अष्ट्रेलियन डलर संकलन भएको थियो। तस्बिर लिलामीसहित कार्यक्रमबाट करिब ११ हजार अष्ट्रेलियन डलर उठेको आयोजकले जनाएको छ।

हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेलले संसारभर रहेका नेपालीले आफ्नो मातृभूमिको सेवामा सक्दो योगदान पुर्‍याउँदै आएको स्मरण गरे।

‘हामी त माध्यम मात्रै हौँ। महाभूकम्प होस् वा कोभिड महामारीको समय, अष्ट्रेलियास्थित नेपाली समुदायले गर्दै आएको निःस्वार्थ सहयोग अत्यन्त सराहनीय छ,’ उनले भने।

कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा दोस्रो पुस्ताका नेपाली युवाको उल्लेख्य सहभागिता थियो। अभिविन्द खनियाँ तथा मिस नेपाल इन्टरनेसनल–२०२४ करुणा रावतले कार्यक्रम आकर्षक र रोचक ढंगले सञ्चालन गरेका थिए।

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले च्यारिटी डिनरबाट संकलित सम्पूर्ण रकम श्री खापर मष्टा आधारभूत विद्यालयको भवन पुनर्निर्माणमा सहयोग गरिने बताइन्। उनले कार्यक्रममा सहभागी अतिथि, सहयोगदाता, व्यवसायी, समाजसेवी तथा स्वयंसेवकप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना पर्वतारोहीप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरिएको थियो।

‘मातृभूमिका लागि महिनामा एक पाउन्ड–एक डलर’

‘मातृभूमिका लागि महिनामा एक पाउन्ड–एक डलर’ भन्ने नारासहित सन् १९९९ मा हेल्प नेपाल नेटवर्क स्थापना गरिएको हो। नेटवर्कले नेपालका एक सयभन्दा बढी विद्यालयमा कक्षाकोठा निर्माण गर्नुका साथै करिब ५० वटा ई–लाइब्रेरी स्थापना गरिसकेको छ।

संस्थाले सिन्धुपाल्चोक र दोलखालगायत जिल्लामा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा पनि सहयोग गरेको छ। नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल स्वास्थ्य चौकीले स्थानीय समुदाय तथा पदयात्रीलाई २२ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै, सन् २०१४ देखि धुलिखेलमा सञ्चालित हेल्प नेपाल बालगृहमा २२ जना असहाय बालिका बसेर अध्ययन गरिरहेका छन्। नेटवर्कले सन् २०१५ को विनाशकारी भूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो र आगलागीबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *