🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘म तिम्रै यादमा’ सार्वजनिक : मनको घाउ, विरह र मौन पीडाको जीवन्त गजल

काठमाडौं । मानव मनको गहिराइ, सम्बन्धको जटिलता र विरहको मौन मनोविज्ञानलाई शब्द, स्वर र संगीतमार्फत जीवन्त बनाइएको गजल ‘म तिम्रै यादमा’ सार्वजनिक भएको छ। डा. देवेन्द्र आचार्यको रचना रहेको गजलमा गायिका बबिना भट्टराईले स्वर तथा संगीत दिएकी छन्। गजल बबिना भट्टराईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘म तिम्रै यादमा जिउँदैछु, तिमीलाई सम्झेर आँसु पिउँदैछु’ भन्ने शेरबाट सुरु हुने गजलले प्रेममा विछोडिएपछि पनि प्रिय व्यक्तिको सम्झनामा बाँचिरहेको मनको कथा बोल्छ। गजलका प्रत्येक शेरमा प्रेम, विश्वासघात, एक्लोपन, प्रतीक्षा र आत्मसंवादका गहिरा अनुभूति भेटिन्छन्।

‘मनकै छुराले रेटिदियौ, मनकै कुराले म सिउँदैछु’ भन्ने शेर गजलको सबैभन्दा शक्तिशाली अभिव्यक्तिमध्ये एक बनेको छ। यहाँ ‘मनको छुरा’ प्रिय व्यक्तिका शब्द, मौनता, बेवास्ता, उपेक्षा वा टुटेको विश्वासको प्रतीक बनेर आएको छ। फलामको छुराले शरीरमा बनाएको घाउ देखिन्छ र समयसँगै निको हुन सक्छ, तर मनमा लागेको चोट अदृश्य हुन्छ। बाहिरबाट मानिस सामान्य देखिए पनि ऊ भित्रभित्रै गहिरो पीडामा बाँचिरहेको हुन सक्छ।

त्यस्तै, ‘सिउनु’ शब्दले घाउ निको पार्ने सामान्य अर्थ मात्र दिँदैन। यसले भत्किएको आत्मविश्वास, चुँडिएको विश्वास र विखण्डित भावनालाई पुनः जोड्ने संघर्षलाई समेत अभिव्यक्त गर्छ। प्रिय व्यक्तिबाटै क्षतविक्षत भएको मनलाई आफ्नै साहस र आत्मसंवादले सम्हाल्ने प्रयास गजलमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

‘चिसो पछ्यौरी ओढाइदियौ, तिमी न्यानो भई गयौ, म हिउँदै छु’ भन्ने शेरमा प्रयोग भएको विरोधाभासले विरहको कथालाई अझ सशक्त बनाएको छ। एकातिर प्रिय व्यक्तिको जीवनमा न्यानोपन फर्किएको छ भने अर्कोतिर विछोडिएको पात्र सम्झनाको चिसो मौसममा जमिरहेको छ। यसले प्रेमको विछोड केवल दुई व्यक्ति छुट्टिनु नभई एउटा व्यक्ति पुरानो सम्बन्धमै मानसिक रूपमा अड्किरहनु पनि हो भन्ने भाव उजागर गर्छ।

प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको गजलको एरेन्ज तथा मास्टरिङ किरण कँडेलले गरेका हुन्। रेकर्डिङ तथा मिक्सिङ किरण तण्डुकारको रहेको छ। भिडियो निर्देशन केशव भट्टले गरेका छन् भने सम्पादन मीन रावलको छ।

बबिना भट्टराईको मधुर र संवेदनशील स्वरले डा. आचार्यका शब्दमा प्राण भरेको छ। उनले शब्दलाई केवल उच्चारण गरेकी छैनन्, प्रत्येक हरफमा रहेको पीडा, प्रतीक्षा, एक्लोपन र सम्झनालाई अनुभूतिसहित श्रोतासम्म पुर्‍याएकी छन्। भिडियोमा उनको अभिनय, आँखाको भाषा, अनुहारका सूक्ष्म भाव र मौन अभिव्यक्तिले गजलको अर्थलाई दृश्यात्मक विस्तार दिएका छन्।

शब्द, संगीत, स्वर र अभिनयको सुन्दर सामञ्जस्य रहेको ‘म तिम्रै यादमा’ केवल सुन्ने गजल नभई प्रेम र विरहको भावनात्मक यात्रा बनेको छ। यसले विछोड भोगेका श्रोताको आफ्नै कथा बोलेको अनुभूति गराउँदै लामो समयसम्म हृदयमा प्रतिध्वनित भइरहने सामर्थ्य राख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *