उनीहरूले सुनसरीको देवानगञ्ज-३ बाट सुरु भएको विवाद समयमै नियन्त्रण हुन नसक्दा तराई-मधेशका केही जिल्लामा हिंसात्मक रूपमा फैलिएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कठोर कारबाही गर्न सरकारसँग माग गरेका छन्। घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति सहानुभूति तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।
अपिलमा नेपाल शताब्दीयौँदेखि हिन्दू, बौद्ध, मुस्लिम, इसाई, किरातलगायत विभिन्न धार्मिक समुदायबीचको सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानमा विकसित भएको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक राष्ट्र भएको स्मरण गराइएको छ।
धार्मिक आधारमा हिंसा सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै राज्यले सामाजिक विविधताको प्रभावकारी व्यवस्थापन, अन्तरधार्मिक समन्वय र प्रारम्भिक घटनाको नियन्त्रणमा पर्याप्त सक्रियता देखाउनुपर्ने औँल्याइएको छ।
हिंसा तत्कालका लागि मत्थर भए पनि त्यसले सिर्जना गरेको अविश्वास, मनोवैज्ञानिक असर र सामुदायिक घाउ बाँकी रहेको अपिलकर्ताहरूको ठहर छ। घटनामा बाह्य तत्व वा तेस्रो मुलुकका व्यक्तिको सम्भावित संलग्नताबारे उठेका आशंकाको निष्पक्ष अनुसन्धान गरी तथ्य सार्वजनिक गर्न पनि माग गरिएको छ।
सूचना प्रविधि, सामाजिक सञ्जाल, बसाइँसराइ तथा बदलिँदो सामाजिक परिवेशले भविष्यमा सामुदायिक तनाव बढाउन सक्ने भन्दै उनीहरूले सीमावर्ती क्षेत्रको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।
भारतसँगको खुला सीमाका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पारिवारिक विशेषता कायम राख्दै आवतजावतलाई सहज, पारदर्शी, व्यावहारिक र उत्तरदायी बनाउन दुवै देशबीच समन्वय आवश्यक रहेको अपिलमा उल्लेख छ।
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुलाई सकारात्मक कदम मानिए पनि धार्मिक तनाव उत्कर्षमा पुगेका बेला राजनीतिक वा शासन प्रणालीको बहसभन्दा नागरिकलाई संयम अपनाउन, सद्भाव कायम गर्न र समुदायबीच विश्वास बढाउन आह्वान गरिनुपर्ने धारणा उनीहरूले राखेका छन्। सम्भावित द्वन्द्वको पूर्वानुमान र रोकथाम गर्ने संस्थागत संयन्त्रलाई सक्षम, चुस्त र जवाफदेही बनाउनसमेत माग गरिएको छ।
संयुक्त अपिलमा त्रिभुवन विश्वविद्यालय भूगोल विभागका पूर्वअध्यक्ष प्रा.डा. नरेन्द्रराज खनाल, इतिहास विभागका पूर्वअध्यक्ष प्रा.डा. राजकुमार पोखरेल, राजनीतिशास्त्र विभागका पूर्वप्राध्यापक डा. लालबाबु यादव र अर्थशास्त्र विभागका प्राध्यापक चक्रबहादुर खड्काको नाम छ।
त्यस्तै वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, तीर्थ कोइराला, निरोधराज पाण्डे र जीवराम भण्डारीले अपिलमा हस्ताक्षर गरेका छन्। सामाजिक अभियन्तातर्फ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङ, पूर्वसचिव श्यामप्रसाद अधिकारी, भरत बस्नेत, मौसमविद् डा. जनक नायभा, नेपाल वायुसेवा निगमका पूर्वक्याप्टेन पीजे शाह (प्रचण्डजङ्ग शाह), पूर्वराजदूत डा. रामभक्त ठाकुर, पूर्वप्रशासक देवेन्द्रप्रसाद सिटौला, अवकाशप्राप्त नायव प्रहरी महानिरीक्षक रमेशप्रसाद खरेल र अनिल योगी सहभागी छन्।
पाकाहरूको चौतारी तथा पञ्चकुमारी श्रद्धा प्रतिष्ठानबाट काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर विदुरप्रसाद मैनाली, प्राज्ञ तथा कृषि विशेषज्ञ डा. केशवचन्द्र शर्मा, पूर्वप्रशासक पुष्पप्रसाद लुइटेल, कलाकर्मी द्वारिका शर्मा, सामाजिक अभियन्ता उद्धवप्रसाद ढुंगाना, इन्जिनियर धरा सापकोटा, पूर्वप्रशासक अच्युतप्रसाद कोइराला, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी राधाकृष्ण पौडेल र पूर्वप्रशासक कैलाश खरेल अपिलकर्ता छन्।
सजग समूहका संयोजक राजा थापा, अवकाशप्राप्त रथी विवेककुमार शाह, पूर्वप्रमुख जनसम्पर्क विभाग देवीराम शर्मा, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष सुरेश पुडासैनी, पूर्वप्रशासक कृषिराम लामिछाने, पूर्वराजदूत भीम उदास, सर्वाङ्गीण अध्ययन विकास केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. विष्णुदेव पन्त, इन्जिनियर अरुण शर्मा, पूर्वसहायक महालेखा परीक्षक तथा पाल्पाली सङ्गमका उपाध्यक्ष रामबाबु नेपाल र दूरसंवेदन वैज्ञानिक डा. तिलक श्रेष्ठले पनि अपिल गरेका छन्।
राष्ट्रिय मामिला सरोकार समूहका संयोजक एवं अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारी, पूर्वराजदूत तथा अवकाशप्राप्त सहायक रथी भरतबहादुर रायमाझी, नदीविज्ञ तथा विद्युत् महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष डा. जगत भुसाल, अधिवक्ता आतिस कार्की, अधिवक्ता तृप्ति घिमिरे, पत्रकार ठमनाथ घिमिरे, संयुक्त राष्ट्रसंघसँग आबद्ध लेखापरीक्षण विज्ञ ईश्वरीप्रसाद भट्टराई, नापी इन्जिनियर प्रभाकर शर्मा र द्वारिकानाथ ढुंगेल पनि संयुक्त अपिलका हस्ताक्षरकर्ता हुन्।




