काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको आठौँ वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यमा साउन १५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कृष्णमोहन स्मृति भवनमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अतिरिक्त महानिरीक्षक पोखरेलले शिक्षालयमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै अतिरिक्त महानिरीक्षक पोखरेलले खेलकुदले व्यक्तिमा अनुशासन, इमानदारिता तथा शारीरिक र मानसिक तन्दुरुस्ती विकास गर्ने बताउनुभयो। खेलकुदबाट सामूहिक भावना, नेतृत्व क्षमता र ‘जित्छु’ भन्ने सकारात्मक सोचको विकास हुने उहाँको भनाइ थियो।
उहाँले खेलकुदले जितलाई विनम्रतापूर्वक ग्रहण गर्ने संस्कार, हारलाई स्वीकार गर्न सक्ने साहस तथा निरन्तर सुधार गर्दै अगाडि बढ्ने बानीसमेत विकास गराउने उल्लेख गर्नुभयो।
शिक्षालयले खेलाडीहरूलाई खेलसम्बन्धी सीपमा मात्र सीमित नराखी नेतृत्व, उत्तरदायित्व, इमानदारिता, सेवाभाव तथा राष्ट्रियताको भावना विकास हुने गरी प्रशिक्षण दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
अतिरिक्त महानिरीक्षक पोखरेलले भन्नुभयो, “हाम्रो लक्ष्य पदक जित्नु मात्र नभई उत्कृष्ट चरित्र निर्माण गर्नु पनि हो। अनुशासनविनाको प्रतिभा अधुरो हुन्छ र नैतिकताविनाको सफलता दिगो हुँदैन।”
नेपाल एपीएफ क्लबमा आबद्ध खेलाडीहरूले देखाएको अनुशासन, लगाव र मेहनतका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल भएको उहाँले बताउनुभयो। ती उपलब्धिले सशस्त्र प्रहरी बल नेपाल र समग्र राष्ट्रको गौरव बढाएको उहाँको भनाइ थियो।
आगामी दिनमा पनि यस्ता उपलब्धिलाई निरन्तरता दिँदै संगठनको गौरव अभिवृद्धि गर्न तथा थप सक्षम खेलाडी उत्पादन गर्न शिक्षालय अझ सक्रिय भएर अगाडि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
अतिरिक्त महानिरीक्षक पोखरेलले कतिपय अवस्थामा हतियार र पोसाकधारी फौजले गर्न नसक्ने काम खेल तथा खेलाडीले गर्न सक्ने उदाहरण रहेको उल्लेख गर्नुभयो। खेलकुदले राष्ट्र, संगठन र समुदायलाई जोड्ने भएकाले शिक्षालयलाई थप व्यवस्थित बनाउँदै खेलकुद तथा शारीरिक सुगठन प्रशिक्षणलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको स्थापना र विकासमा प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान पुर्याउने पूर्व तथा वर्तमान संगठन प्रमुख, प्रशिक्षक, खेलाडी तथा विभिन्न संघसंस्थाप्रति आभार प्रकट गर्नुभयो।
सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र नहेरी संगठनात्मक संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात गर्दै आएको उहाँले बताउनुभयो।
कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोककुमार बमले संगठन र देशको शिर उच्च बनाउने खेलाडीहरू राष्ट्रका अनुशासित सिपाही, प्रेरणाका स्रोत र भविष्यका आदर्श व्यक्तित्व भएको बताउनुभयो।
उहाँले शिक्षालयमा आबद्ध सम्पूर्ण खेलाडीले खेलकुद क्षेत्रमा मेहनत, अनुशासन र आत्मविश्वासलाई सर्वोपरि ठानी आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय प्रतियोगितामा चार हजार ६२३ पदक
सीमित स्रोतसाधनका बाबजुद शिक्षालयले हालसम्म २५ वटा खेल विधामा सक्रिय सहभागिता जनाउँदै आएको छ। नेपाल एपीएफ क्लबका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा कुल चार हजार ६२३ पदक प्राप्त गरेका छन्।
तीमध्ये एक हजार ५७७ स्वर्ण, एक हजार ५०७ रजत तथा एक हजार ५३९ कांस्य पदक रहेका छन्।
त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरूले कुल ३१२ पदक जितेका छन्। त्यसमा १२८ स्वर्ण, ९५ रजत र ८९ कांस्य पदक समावेश छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक जोड्दा एपीएफ क्लबका खेलाडीले हालसम्म कुल चार हजार ९३५ पदक हासिल गरेका छन्।
नेपाल एपीएफ क्लबले भविष्यमा राष्ट्रका लागि अतुलनीय योगदान दिन सक्ने प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न खेल विधामा ‘ग्रासरुट’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।




