नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको ऐतिहासिक पार्टी हो। यसको चारतारे झण्डामुनि हजारौँ नेता-कार्यकर्ताले जेलनेल भोगे, निर्वासन सहे, सम्पत्ति गुमाए र कतिपयले जीवनसमेत बलिदान गरे। त्यसैले कांग्रेसको वर्तमान अवस्था र भविष्यबारे प्रश्न उठाउने अधिकार शीर्ष नेताहरूलाई मात्रै होइन, वर्षौंदेखि पार्टीको झण्डा बोकेर हिँडेका साधारण कार्यकर्तालाई पनि छ।
अहिले कांग्रेसभित्र नेतृत्व, महाधिवेशन, विधान र नयाँ राजनीतिक समीकरणका विषयमा चर्को बहस भइरहेको छ। यही क्रममा पार्टी विभाजनसम्मका चर्चा हुन थालेका छन्। हिजोसम्म पार्टीको नेतृत्व तहमा बसेका, सरकार चलाएका, मन्त्री बनेका र दशकौँसम्म निर्णय प्रक्रियाको केन्द्रमा रहेका केही नेताहरू फेरि छुट्टै मोर्चा वा शक्ति केन्द्र निर्माणमा सक्रिय देखिएको चर्चा छ।
यसमा प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्काजस्ता पुराना तथा अनुभवी नेताहरूको नाम जोडिनुले कांग्रेसका इमानदार कार्यकर्तामाझ गम्भीर प्रश्न जन्माएको छ-पार्टी फुटाउने तयारी भइरहेको हो कि विगतको असफलता लुकाउने प्रयास?
यी नेताहरू कांग्रेसका सामान्य सदस्य होइनन्। उनीहरूले पटक–पटक पार्टी र सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। उपप्रधानमन्त्री, मन्त्री, महामन्त्री, उपसभापति र पार्टीका प्रभावशाली पदमा रहेर नीति निर्माण तथा संगठन सञ्चालन गर्ने अवसर पाएका छन्। आज कांग्रेस कमजोर भएको, जनाधार खस्किएको र कार्यकर्तामा निराशा बढेको छ भने त्यसको जिम्मेवारी एउटा व्यक्ति वा एउटा गुटमाथि मात्रै थोपरेर अरू उम्कन सक्दैनन्।
पार्टीको वर्तमान अवस्था निर्माणमा विगतदेखि नेतृत्वमा रहेका सबैको हिस्सा छ। त्यसैले पहिले आफ्नै भूमिकाको समीक्षा गर्नुपर्छ। सरकारमा रहँदा के काम गरियो? संगठनको जिम्मेवारी पाउँदा पार्टीलाई कति बलियो बनाइयो ? युवा पुस्तालाई कति अवसर दिइयो? जनतासँग पार्टीलाई जोड्ने के कार्यक्रम ल्याइयो? यी प्रश्नको उत्तर नदिई फेरि नयाँ समीकरण र नेतृत्वको दाबी गर्नु पर्याप्त हुँदैन।
लोकतान्त्रिक पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्नु स्वाभाविक हो। विधानको व्याख्या, महाधिवेशनको माग, वैकल्पिक नेतृत्व निर्माण र नीतिगत बहस सबै वैधानिक अधिकार हुन्। तर आफूअनुकूल विधानको व्याख्या गरेर कार्यकर्ताले त्यसलाई निःशर्त स्वीकार गर्नुपर्छ भन्ने सोच लोकतान्त्रिक हुन सक्दैन। पार्टी विधान कुनै नेता वा गुटको निजी कागज होइन। यसको कार्यान्वयन संस्थागत विधि, स्थापित परम्परा र कार्यकर्ताको सामूहिक भावनाअनुसार हुनुपर्छ।
कांग्रेसमा राजनीतिक विरासतको प्रभाव पनि बलियो छ। गणेशमान सिंह, बीपी कोइराला र महेन्द्रनारायण निधिको योगदान नेपालको लोकतान्त्रिक इतिहासमा सधैँ सम्मानित रहनेछ। उनीहरूको त्याग, संघर्ष र राष्ट्रप्रतिको योगदान कसैले अस्वीकार गर्न सक्दैन। तर महान् नेताका छोरा हुनु नै नेतृत्वको पर्याप्त योग्यता भने होइन।
इतिहासको सम्मान सन्तानले प्राप्त गर्न सक्छ, तर जनविश्वास स्वतः प्राप्त हुँदैन। राजनीतिक योग्यता पैतृक सम्पत्तिजस्तो हस्तान्तरण हुने विषय होइन। त्यसका लागि आफ्नै संघर्ष, स्पष्ट विचार, नैतिक चरित्र, संगठन निर्माण गर्ने क्षमता र जनताले अनुभूति गर्ने परिणाम चाहिन्छ।
नेपाली राजनीतिको एउटा ठूलो समस्या के हो भने पुराना नेताहरूले आफूलाई कहिल्यै पुरानो ठान्दैनन्। पद परिवर्तन हुन्छ, गुट बदलिन्छ र समीकरण फेरिन्छ, तर सोच र कार्यशैली उस्तै रहन्छ। हिजो निर्णयको केन्द्रमा हुँदा गर्न नसकेको सुधार आज पद र प्रभाव कमजोर भएपछि मात्रै सम्झिनु विश्वसनीय राजनीति होइन।
वर्षौँसम्म सत्ता र पार्टीको केन्द्रमा बसेर अपेक्षित परिणाम दिन नसक्नेहरू फेरि आफूलाई परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्दा जनता विश्वस्त हुन सकिरहेका छैनन्। परिवर्तनको नारा लगाएर मात्रै कोही परिवर्तनकारी हुँदैन। त्यसका लागि आफ्नो विगतको इमानदार समीक्षा, कमजोरीको स्वीकारोक्ति र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने साहस आवश्यक हुन्छ।
कांग्रेसलाई अहिले अर्को विभाजन होइन, पुनर्गठन चाहिएको छ। गुट होइन, बलियो संगठन चाहिएको छ। थर होइन, योग्यता चाहिएको छ। भाषण होइन, परिणाम चाहिएको छ। सत्ता प्राप्तिको अस्थायी समीकरणभन्दा जनतासँग पुनः जोडिने स्पष्ट राजनीतिक कार्यक्रम आवश्यक छ।
नयाँ पुस्तालाई अवसर दिनु पुराना नेताको अपमान होइन। अनुभवी नेताहरू अभिभावक र मार्गदर्शकका रूपमा सम्मानित रहन सक्छन्। तर उनीहरूले सधैँ पद, टिकट, सरकार र पार्टीको नियन्त्रण आफैँसँग राख्न खोजे पुस्तान्तरण सम्भव हुँदैन। वास्तविक नेतृत्वले आफूभन्दा सक्षम उत्तराधिकारी तयार पार्छ; असुरक्षित नेतृत्वले सम्भावनाशील युवालाई रोक्छ।
आज कांग्रेसका कार्यकर्ताको प्रश्न स्पष्ट छ-देशलाई फेरि पुरानै अनुहारहरूको राजनीतिक प्रयोगशाला बनाउने कि नयाँ सोच र नयाँ पुस्तालाई अवसर दिने?
लोकतन्त्रमा सबैलाई नेतृत्वको आकांक्षा राख्ने अधिकार हुन्छ। तर जनविश्वास कसैको पैतृक सम्पत्ति होइन। त्यो पुर्खाको नाम, प्रभावशाली थर वा गुटको बलमा पाइँदैन। जनविश्वास कर्मबाट आर्जन गर्नुपर्छ।
पार्टी फुटाएर कोही महान् नेता बन्दैन। बरु पार्टीभित्र आत्मसमीक्षा, सुधार, एकता र पुस्तान्तरणको बाटो खोल्ने नेतृत्व नै इतिहासमा सम्मानित हुन्छ।
जय नेपाली कांग्रेस ! जय चारतारे झण्डा ! जय नेपाल !




