चितवन, ९ साउन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत गाईघाट क्षेत्रमा माथिबाट ढुंगा खसेपछि सवारी आवागमन एकतर्फी भएको छ।
शनिवार बिहान करिब ६ः४५ बजे सडकखण्डको गाईघाटस्थित चेनेज १८+००० नजिकै सडकभन्दा माथिल्लो भागबाट ढुंगा खसेको हो। ढुंगाले सडकको एक भाग अवरुद्ध गरेपछि हाल सवारीसाधनलाई पालैपालो एकतर्फी रूपमा सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
घटनापछि सडकमा खसेका ढुंगा तथा अन्य अवरोध हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन गरिसकिएको छ। सडक पूर्ण रूपमा खुलाउने काम भइरहेको जनाइएको छ।
ढुंगा खसेको स्थानमा सडक साँघुरो भएकाले दुवैतर्फका सवारीसाधनको चाप बढ्न सक्ने अवस्था देखिएको छ। सडक खुलाउने कार्य जारी रहेकाले उक्त खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, लेन अनुशासन पालना गर्न र सडकमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको निर्देशनअनुसार आवतजावत गर्न आग्रह गरिएको छ।
मुग्लिन–नारायणगढ सडकखण्ड वर्षायाममा पहिरो र ढुंगा खस्ने जोखिमयुक्त सडकका रूपमा रहेको छ। लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा माथिल्लो भूभाग कमजोर भई ढुंगा तथा माटो खस्ने जोखिम बढ्ने गरेको छ।
सडक डिभिजन भरतपुरले अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको र सडकको अवस्था हेरेर पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालन गरिने जनाएको छ।
तस्बिर : सडक सुपरभाइजर सुकबहादुर गुरुङ/सडक डिभिजन भरतपुर




