राभाङ्ला (सिक्किम), साउन ५ । नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘हिमालयन इन्टरनेशनल अवार्ड’को छैटौँ संस्करण भारतको सिक्किमस्थित पर्यटकीय नगर राभाङ्लामा भव्य रूपमा सम्पन्न भएको छ।
‘भाषा, साहित्य, कला–संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजित समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न स्थानबाट साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सिक्किम वेभ्स मिडिया र सिक्किम अनलाइन न्यूज मिडियाको सहयोगमा सम्पन्न कार्यक्रममा सिक्किमका विधायक रिक्साल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी थिए। अवार्ड समारोहसँगै भव्य लाइभ म्युजिकल कन्सर्टसमेत आयोजना गरिएको थियो। कन्सर्टमा नेपाली संगीतका विभिन्न विधाका कलाकारले आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए।
अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधना सम्मान
समारोहको मुख्य आकर्षणका रूपमा नेपाली भाषा, साहित्य, संगीत र समाजसेवाका क्षेत्रमा दशकौँदेखि निरन्तर योगदान पुर्याउँदै आएका नेपालका वरिष्ठ साहित्यकार अमर वान्तु र सिक्किमका साहित्यकार हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो।
यसअघि उक्त दीर्घसाधना सम्मान विशिष्ट संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह, वरिष्ठ गायिका ज्ञानु राणा र वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको आयोजकले जनाएको छ।
यस वर्ष विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका दर्जनौँ स्रष्टा, कलाकार तथा संगीतकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
नवगीततर्फ बाबुराम श्रेष्ठ ‘निरुपम’, हास्य अभिनयतर्फ रश्मी पाण्डे, लोकप्रिय गीतकारतर्फ बिमल काफ्ले, युगल गायनतर्फ तारावीर पाण्डे र मिलन नेवार, भाषाभाषी गायनतर्फ अनिल योञ्जन तथा आधुनिक गीततर्फ नारायण नेपाल, सुमन बी.टी. र पवित्रा गुरुङ सम्मानित भए।
राइजिङ स्टार अवार्ड बालकलाकार कायरा गुरुङलाई प्रदान गरिएको थियो। लोकपप गायनतर्फ योगेश काजी, महिला मोडलतर्फ मेरो करिमा, आधुनिक गीतकारतर्फ प्रकाश सुवेदी, आधुनिक मोडलतर्फ विनोद श्रेष्ठ, लोकदोहोरी गायनतर्फ बिनोद तानेर, पप आधुनिक मोडलतर्फ मुकेश गुरुङ र लोकपप संगीतकारतर्फ शंकर थापा ‘स्माइल’ले अवार्ड प्राप्त गरे।
त्यसैगरी, डायस्पोरा गायिकातर्फ नीता आचार्य, आधुनिक गीतकारतर्फ डा. विलोल पोखरेल, आधुनिक संगीतकारतर्फ दीपक शर्मा तथा आधुनिक गीततर्फ प्रकाशजंग कार्कीलाई जुरी अवार्ड प्रदान गरिएको थियो।
युगल गायनतर्फ षड्ज सम्बाहाम्फे र रचना रिमाल, लोकप्रिय आधुनिक गायकतर्फ छपिन गुरुङ, निर्देशनतर्फ कृष्णदेव रूपाखेती, लोकप्रिय गीततर्फ पासाङ शेर्पा, आधुनिक गायिकातर्फ सारिका घिमिरे तथा उत्कृष्ट गायकतर्फ रोशन टमट्टाले अवार्ड प्राप्त गरे।
शृंगारतर्फ अमृत मारहट्ठा, पूर्वेली रचनातर्फ सेरु बराली, भाषाभाषी गीतको कोरियोग्राफीतर्फ पवित्रा आचार्य, सम्पादनतर्फ कल्पिस विश्वकर्मा, लोकपप गायिकातर्फ मञ्जु लावती तथा नवमोडलतर्फ कुन्दन गुप्ता अवार्डबाट सम्मानित भए।
सांगीतिक प्रस्तुतिले ततायो राभाङ्ला
अवार्ड समारोहसँगै आयोजित सांगीतिक कार्यक्रममा तारावीर पाण्डे, अशोक दर्जी, शंकर थापा ‘स्माइल’, सारिका घिमिरे, षड्ज सम्बाहाम्फे, सुमन बी.टी., प्रकाशजंग कार्की, सुन्दर राई, विनोद दनुवार, रमेश पाठक, पवित्रा गुरुङ र अनिश योञ्जनले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए।
नृत्यतर्फ पवित्रा आचार्य, शिला गजुरेललगायत कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए। गीत, संगीत र नृत्यका प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।
समारोहमा साहित्यकार अमर वान्तु र डा. विलोल पोखरेलले कविता वाचन गरेका थिए। उनीहरूले नेपाली साहित्यको समकालीन प्रवृत्ति, सिर्जनात्मक यात्रा तथा सामाजिक विषयवस्तुसँग सम्बन्धित रचना प्रस्तुत गरेका थिए। साहित्यिक प्रस्तुतिले समारोहको गरिमा थप बढाएको सहभागीहरूले बताएका छन्।
विभिन्न क्षेत्रका व्यक्तित्वलाई विशेष सम्मान
कार्यक्रममा नेपाल र सिक्किमका विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टा, सञ्चारकर्मी, कलाकार, व्यवसायी तथा समाजसेवीलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।
विशेष सम्मान प्राप्त गर्नेहरूमा साहित्यकार अमर बानियाँ ‘लोहोरो’, अभिनेत्री सृजना कार्की, चित्रकार टिकामाया गुरुङ, युवा व्यवसायी तथा मोडल भक्तराज जोशी, गायक अशोक दर्जी, बालगायक रिहान सुब्बा, सञ्चारकर्मी अक्कल कुँवर, स्वस्तिका पन्थी, पेम नर्वु शेर्पा र फूर्वा रवाण्ड रहेका छन्।
त्यस्तै, निर्माता डेनिभ पुन, सौन्दर्यकर्मी गीता सिंह, चलचित्र निर्माता केवल तामाङ, मोडल शिला गजुरेल, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल, गायक सुन्दर राई, गीतकार तथा समाजसेवी तीर्थकुमारी राई, सुष्मा गुरुङ र रिकी ल्हामु लेप्चालगायतलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
‘देउराली भञ्जाङ’ कवितासङ्ग्रह लोकार्पण
समारोहका अवसरमा सिक्किमका कवि फुर्बा खाण्डु शेर्पाको कवितासङ्ग्रह ‘देउराली भञ्जाङ’को लोकार्पणसमेत गरिएको थियो।
अवार्डको मुख्य निर्णायकमा वरिष्ठ संगीतकार राजु सिंह रहेका थिए। निर्णायक सदस्यमा सुनिल गिरी, सन्दीप पौड्याल, रमेश पाठक र वीरेन्द्र भाट ‘विपिन’ रहेका थिए। अवार्डको मूल्याङ्कन तथा छनोट प्रक्रियामा पुर्याएको योगदानको कदर गर्दै निर्णायकहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।
विश्वभरका नेपाली भाषी स्रष्टालाई जोड्ने उद्देश्य
समारोहलाई सम्बोधन गर्दै अवार्डका अध्यक्ष गणेश सुवेदीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले हिमालयन इन्टरनेशनल अवार्डलाई निरन्तरता दिइएको बताए।
उनले नेपालसहित विश्वभर छरिएर रहेका नेपाली भाषी स्रष्टा, कलाकार तथा संस्कृतिकर्मीलाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अवार्डलाई अझ प्रभावकारी र व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि, विशिष्ट अतिथि तथा दीर्घसाधना सम्मान प्राप्त व्यक्तित्वहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
कार्यक्रम संयोजक गीता अधिकारीका अनुसार विभिन्न कारणले सिक्किमको राभाङ्लामा उपस्थित हुन नसकेका सम्मानित स्रष्टा तथा कलाकारलाई निकट भविष्यमै काठमाडौंमा विशेष समारोह आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिनेछ।
नेपाल र भारतका नेपाली भाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले अवार्डको छैटौँ संस्करण सिक्किमको राभाङ्लामा आयोजना गरिएको उनले बताइन्। यस अवार्डको अघिल्लो संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो।
हिमालयन इन्टरनेशनल अवार्डले नेपाली कला, भाषा, साहित्य, संगीत र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकको विश्वास छ।
नेपाल र भारतका नेपाली भाषी समुदायबीच विद्यमान साहित्यिक, सांगीतिक, कलात्मक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजित अवार्डको छैटौँ संस्करणले नेपाली भाषाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न तथा स्रष्टाहरूको योगदानलाई सम्मानित गर्न उल्लेखनीय भूमिका खेलेको सहभागीहरूले बताएका छन्।




