तनहुँ, ५ साउन । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित कम्तीमा १५ जना घाइते भएका छन्। घाइतेमध्ये बसचालक शम्शेर परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस दमौली–भोर्लेटार भित्री सडकखण्डअन्तर्गत कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार चालकले बसमाथिको नियन्त्रण गुमाएपछि बस पुलमा ठोक्किएको थियो। दुर्घटनापछि चालक बसको सिटमै च्यापिएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थलमा पुगेर चालकको उद्धार गरेको थियो।
च्यापिएको अवस्थामा उद्धार गरिएका व्यास नगरपालिका–२ का २६ वर्षीय चालक शम्शेर परियारलाई उपचारका लागि अस्पताल पठाइएको छ। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहे पनि स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि प्रहरीले सुरुमा चालकसहित केही घाइतेलाई अस्पताल पठाएको जानकारी दिएको थियो। अस्पतालबाट प्राप्त अद्यावधिक विवरणअनुसार चालकसहित १५ जनाको उपचार भइरहेको छ।
घाइतेको विवरण
रत्नहरि अस्पताल, तनहुँमा उपचार भइरहेका घाइतेमध्ये व्यास नगरपालिका–४ की ६० वर्षीया श्रीमाया परियारको निधारमा चोट लागेको छ। उनको अवस्था सामान्य छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१ की ३५ वर्षीया शान्ता गौतमको निधार र दायाँ हातमा तथा सोही नगरपालिका–४ की ३२ वर्षीया निरा गौतमको मुखमा चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको बताइएको छ।
मध्यनेपालकी २९ वर्षीया सुस्मिता शाही पनि दुर्घटनामा घाइते भएकी छन्। उनको अवस्था सामान्य छ।
व्यास नगरपालिका–११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङको निधार र दुवै हातमा चोट लागेको छ। सोही स्थानकी ४७ वर्षीया अनिता गुरुङ सामान्य घाइते भएकी छन् भने ४९ वर्षीया बिन्दु गुरुङको बायाँ हात र दुवै घुँडामा चोट लागेको छ।
कास्कीको रूपा गाउँपालिका–१ की ५० वर्षीया स्वस्तिकला खनालको बायाँ घुँडा र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
व्यास नगरपालिका–६ की २७ वर्षीया सुजिता पौडेलको बायाँ घुँडा र गालामा चोट लागेको छ। व्यास नगरपालिका–१ की आठ वर्षीया सान्भी गिरीको दायाँ गालामा चोट लागेको छ।
सोही स्थानकी ४० वर्षीया दीपा खानको बायाँ हात र खुट्टामा, ५१ वर्षीया सीता नेपालीको अनुहारमा तथा ३५ वर्षीया हिरा मल्लको निधारमा चोट लागेको छ।
त्यस्तै, व्यास नगरपालिका–१ की ४४ वर्षीया नुनिमाया थापाको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। चालकबाहेक सूचीमा रहेका सबै घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि केही समय प्रभावित भएको सडक हाल सञ्चालनमा आएको छ। दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाउने काम भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।




