काठमाडौं । घरमा लामो समय राख्दा टुसा पलाएको आलुको टुसा भाँचेर तरकारी पकाउने चलन सामान्य छ। तर वैज्ञानिक अनुसन्धानले टुसा मात्र हटाउँदैमा आलु पूर्ण रूपमा सुरक्षित नहुने देखाएको छ।
अंकुराएको, हरियो वा चाउरिएको आलुमा ‘सोलानिन’ र ‘चाकोनिन’ नामक प्राकृतिक विषाक्त तत्वको मात्रा बढ्न सक्छ। यी तत्व विशेषगरी आलुको टुसा, आँखा, बोक्रा र हरियो भागमा बढी पाइन्छन्।
जापानी अनुसन्धानकर्ता नोबुयुकी कोजुकुए र सुसुमु मिजुनोले गरेको अध्ययनमा अंकुराएको आलुको टुसा तथा टुसा उम्रिएको वरिपरि ग्लाइकोअल्कालोइडको मात्रा बढी भेटिएको थियो। अमेरिकी कृषि अनुसन्धानकर्ता मेन्डेल फ्रिडम्यानलगायतका वैज्ञानिकले पनि आलुको बोक्रा, हरियो भाग र टुसामा विषाक्त तत्व बढी हुन सक्ने उल्लेख गरेका छन्।
युरोपेली खाद्य सुरक्षा प्राधिकरणका अनुसार यस्तो आलु खाँदा वाकवाकी, बान्ता, पेट दुख्ने, पखाला लाग्ने, रिँगटा लाग्ने तथा कमजोरी महसुस हुन सक्छ। गम्भीर अवस्थामा स्नायु प्रणालीमा समेत असर पर्न सक्छ।
आलु कडा, ताजा र हरियो नभएको तथा सानो टुसा मात्र आएको छ भने टुसासहित आँखाको वरिपरिको भाग गहिरोसँग काटेर बोक्रा हटाई प्रयोग गर्न सकिन्छ। तर धेरै टुसा आएको, हरियो, नरम, चाउरिएको वा तीतो स्वाद आउने आलु नखाई फाल्नु नै सुरक्षित हुने वैज्ञानिकहरूको सुझाव छ।
सामान्य रूपमा उमाल्दा वा पकाउँदा सोलानिन पूर्ण रूपमा नष्ट नहुने भएकाले खराब आलु पकाएर सुरक्षित हुन्छ भन्ने भ्रममा नपर्न विज्ञहरूले सचेत गराएका छन्।




