म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोला सडकखण्डमा मिति २०८३ असार २३ गते मंगलबार दुई वटा बोलेरो जिप दुर्घटनामा पर्दा ९ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३:०० बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो। पल्टिएको जिप अगाडिबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुवै जिपमा गरी १० जना सवार रहेकोमा एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि दरबाङ आधारभूत अस्पताल, दरबाङ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।




