बैतडी, १९ असार । बैतडीको पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या २३ पुगेको छ भने सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मिति २०८३ असार १९ गते शुक्रबार दिउँसो करिब ३:३० बजे धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३९६३ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
घाइतेमध्ये अवस्था गम्भीर रहेका सात जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
धनगढी रिफर गरिएका घाइतेहरूमा पाटन नगरपालिका–६ का ३१ वर्षीय दिपक वि.क., ४३ वर्षीय जनक प्रसाद पन्त, ११ वर्षीय सिद्धार्थ भण्डारी, ३१ वर्षीय महोन पन्त र ३५ वर्षीया धना पहरी, पाटन–८ का ४६ वर्षीय रामदत्त पाण्डे तथा बस चालक पाटन–३ का ३१ वर्षीय दिनेश भाट रहेका छन्।
प्रहरीका अनुसार बस दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




