काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेश प्रदेशको बारा जिल्लास्थित विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।
‘स्वस्थ दृष्टि र उज्यालो भविष्य’को उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरबाट करिब ८०० जना सेवाग्राही लाभान्वित भएका छन् । परीक्षणका क्रममा पहिचान भएका करिब १५० जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गर्ने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार २०८३ असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको शिविर विश्रामपुर गाउँपालिकाका बरैनिया, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवा लगायतका स्थानमा आयोजना गरिएको थियो । शिविरमा स्थानीय सर्वसाधारणले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गर्नुका साथै आवश्यकताअनुसार मोतिबिन्दुको शल्यक्रियासमेत गराएका छन् ।
ग्रामीण तथा सीमान्तकृत समुदायमा समयमै आँखा परीक्षणको पहुँच नपुग्दा दृष्टिसम्बन्धी समस्या जटिल बन्ने जोखिम रहने भएकाले बैंकले स्थानीयस्तरमै नेत्र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेको हो । यसबाट आँखा रोगको पहिचान, उपचार र अन्धोपन न्यूनीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ ।
बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा समेत नयाँ अभ्यास अघि बढाएको जनाएको छ । फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरहरूका लागि ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद लिन सकिने क्रस बैंक टेलर सुविधा लगायत सेवा पनि बैंकले विस्तार गरेको छ ।
‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३७ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।




