काठमाडौं । सौन्दर्य प्रतियोगिता केवल रूप, आत्मविश्वास र प्रस्तुति कौशलको मञ्च मात्र होइन, सामाजिक चेतना फैलाउने प्रभावकारी माध्यम पनि हो भन्ने सन्देशसहित नेपाल क्यान्सर निवारण प्रतिष्ठानले मिस नेपाल २०२६ का प्रतियोगीहरूलाई लक्षित गरी स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानको आयोजनामा तथा द हिडन ट्रेजरको समन्वयमा ललितपुरको खुमलटारस्थित एडीटीएफ कलेजमा सम्पन्न कार्यक्रममा मिस नेपाल २०२६ का प्रतियोगीहरूलाई महिलामा बढी देखिने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबारे जानकारी गराइएको हो ।
प्रतिष्ठानका अनुसार कार्यक्रमको मुख्य उद्देश्य महिलामा देखिने क्यान्सरबारे समयमै जानकारी, रोकथाम, प्रारम्भिक परीक्षण र उपचारको महत्वबारे युवापुस्तालाई सचेत गराउनु हो । विशेषगरी समाजमा प्रभाव पार्न सक्ने मञ्चमा रहेका मिस नेपालका प्रतिस्पर्धीहरूलाई क्यान्सर सचेतनाका संवाहकका रूपमा तयार गर्ने उद्देश्य कार्यक्रमले बोकेको देखिन्छ ।
कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. रजनी झाले क्यान्सरका जोखिमका कारण, प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षण, एचपीभी खोपको महत्व तथा स्वस्थ जीवनशैलीबारे जानकारी गराउनुभएको थियो । उहाँले महिलाहरूले नियमित रूपमा प्याप स्मियर, एचपीभी परीक्षण, स्तनको स्व–परीक्षण तथा आवश्यक परे म्यामोग्राफी जस्ता परीक्षण समयमै गर्नुपर्नेमा जोड दिनुभयो ।
डा. झाले क्यान्सरलाई डरको रोगका रूपमा मात्र बुझ्न नहुने भन्दै समयमै पहिचान भए उपचार सम्भव हुने बताउनुभयो । उहाँले युवतीहरू स्वयं सचेत हुनुका साथै परिवार, साथीभाइ र समुदायलाई पनि क्यान्सर परीक्षण र रोकथामतर्फ प्रेरित गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा सहभागी मिस नेपाल २०२६ का प्रतियोगीहरूले सक्रिय सहभागिता जनाउँदै विशेषज्ञहरूसँग अन्तरक्रिया गरेका थिए । उनीहरूले आफूले प्राप्त गरेको ज्ञानलाई समाजमा क्यान्सरसम्बन्धी जनचेतना फैलाउने अभियानमा प्रयोग गर्ने प्रतिबद्धता जनाएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा दि हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित, दि हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्री, प्रतियोगी व्यवस्थापक आस्था कार्की, कन्टेन्ट क्रिएटर सोफिया व्यञ्जनकार, नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, न्हुजगुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, कार्यक्रम प्रमुख युबिका श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा मिस नेपाल २०२६ का प्रतियोगीहरू ईशा सुवेदी, प्रनिसा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कसिस सुब्बा, मानस्वी शर्मा, सुस्मा भण्डारी, प्रतिष्ठा आचार्य, आर्या निशान्त, आयुष्मा के.सी. खत्री, शितांशु ढकाल, प्रतिभा खड्का, प्रेमा लामगादे, महिमा पन्त, दिपमाला ढकाल, सेजा श्रेष्ठ, विभुषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयाशी श्रेष्ठ, अर्विशा थापा र रचना भट्टराई सहभागी रहेका थिए ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानले देशभर क्यान्सरसम्बन्धी जनचेतना, स्क्रिनिङ तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले विद्यालय, कलेज तथा सामुदायिक स्तरमा यस्ता कार्यक्रममार्फत क्यान्सरको समयमै पहिचान, रोकथाम र उपचारसम्बन्धी जानकारी समुदायसम्म पुर्याउँदै आएको जनाएको छ ।
कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, द हिडन ट्रेजरका प्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञ, आयोजक संस्थाका पदाधिकारी तथा मिस नेपाल २०२६ का प्रतियोगीहरूको उपस्थिति रहेको थियो ।
महिलाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई युवापुस्ता र प्रभावशाली सार्वजनिक मञ्चसँग जोडेर गरिएको यो कार्यक्रमले क्यान्सरविरुद्धको सचेतना अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।




