🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

. सुनको मुन्द्राका लागि १० वर्षीय तनुजको ह त्या ?

साथीसँग खेतसम्म, त्यसपछि रहस्यमय यात्रा

धनगढी । धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किए । परिवारले सोचेको थियो– बालक केही बेरमा घर फर्किनेछन् । तर, दुई दिनपछि धनगढी र गौरीगंगा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने कालिका सामुदायिक वनभित्र उनको वीभत्स अवस्थामा शव फेला परेपछि परिवार मात्रै होइन, सिंगो सुदूरपश्चिम स्तब्ध बनेको छ ।

प्रारम्भिक अनुसन्धानले यो घटनालाई सामान्य बेपत्ता प्रकरणभन्दा धेरै गम्भीर बनाएको छ । घटनास्थलको अवस्था, बालकले लगाएको भनिएको सुनको मुन्द्रा हराउनु, र उनीसँग अन्तिम पटक सम्पर्कमा देखिएका व्यक्तिहरू अनुसन्धानको घेरामा पर्नुले प्रहरीले लुटपाटपछि हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान अघि बढाएको छ । यद्यपि प्रहरीले हालसम्म घटनाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन ।

साथीसँग खेतसम्म, त्यसपछि रहस्यमय यात्रा

प्रहरी स्रोतका अनुसार तनुज घरबाट साइकलमा निस्किएपछि छिमेकी बालकसँग भेटिएका थिए । ती बालक आफ्ना बुवा धान रोपाइँ गरिरहेको गौरीगंगा–६ मोया क्षेत्रतर्फ जाँदै थिए । दुवै जना छुट्टाछुट्टै साइकलमा खेततर्फ पुगेका थिए ।

खेतमा पुगेपछि उनीहरू नजिकैको खोलामा गंगटा मार्न गएको अनुसन्धानबाट खुलेको छ । उनीहरूले समातेका गंगटा त्यहाँ रहेका केही वयस्क व्यक्तिले पोलेर खाएको र त्यसक्रममा घरेलु मदिरासमेत सेवन गरिएको प्रहरी अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ ।

गंगटा खाइसकेपछि दुवै बालक पानी पिउन नजिकैको घरतर्फ गएका थिए । त्यसपछि एक बालक आफ्ना बुवासँगै फर्किने भन्दै छुट्टिएको र तनुज भने एक्लै घरतर्फ लागेको बयान प्रहरीसँग रहेको स्रोत बताउँछ । तर, तनुज घर पुगेनन् ।

जंगलभित्र भेटियो शव, वरपर रगतका चिन्ह

साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । त्यसपछि प्रहरीलाई समेत खबर गरिएको थियो । प्रहरी र स्थानीयवासीको संयुक्त खोजी शुक्रबार कालिका सामुदायिक वनमा पुगेर टुंगियो, जहाँ तनुजको शव कच्ची सडकबाट करिब ४० मिटरभित्र फेला परेको थियो ।

घटनास्थलमा बालकको साइकल, कालो प्लास्टिकको झिल्ली, गंगटाका अवशेष र चप्पल भेटिएको बताइएको छ । शव आंशिक रूपमा सड्न थालेको अवस्थामा थियो । प्रत्यक्षदर्शीका अनुसार वरपर रगतका छिटा, रगतले लतपतिएका ढुंगा तथा सडकदेखि शव भेटिएको स्थानसम्म रगतका चिन्ह देखिएका थिए ।

यी तथ्यहरूले बालकको हत्या घटनास्थलमै गरिएको हुनसक्ने प्रारम्भिक अनुमानलाई बल पुर्‍याएको प्रहरी स्रोतको भनाइ छ ।

अनुसन्धानको केन्द्रमा सुनको मुन्द्रा

घटनाको सबैभन्दा रहस्यमय पक्ष तनुजले कानमा लगाएको भनिएको सुनको मुन्द्रा हराउनु हो । परिवारका अनुसार उनले एउटा कानमा करिब एक आना बराबरको सुनको मुन्द्रा लगाएका थिए । तर, शव फेला पर्दा उक्त मुन्द्रा भेटिएको छैन ।

यही कारण प्रहरीले लुटपाटपछि हत्या भएको हुनसक्ने सम्भावनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले पनि सुनकै लोभमा नाबालकको हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

तर, मुन्द्रा हराएको तथ्य मात्रै हत्या त्यसै कारण भएको अन्तिम प्रमाण भने होइन । घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण, घटनास्थलबाट संकलित प्रमाण र अभियुक्तहरूको बयानबाट मात्र पुष्टि हुने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

चार जना अनुसन्धानको दायरामा, एक फरार

घटनापछि प्रहरीले तनुजसँग अन्तिम पटक देखिएका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ । स्रोतका अनुसार मृतकसँगै रहेका नाबालक साथी, उनका बुवा दिलखुस चौधरी, विष्णु चौधरी र स्थानीय टेक कठायतलाई नियन्त्रणमा लिएर बयान लिइएको छ ।

यसैबीच घटनास्थल आसपास उपस्थित रहेको भनिएका करिब २५ वर्षीय खगेन्द्र कठायत भने फरार छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको बयान, घटनास्थलबाट संकलित प्रमाण, पोस्टमार्टम रिपोर्ट र अन्य प्राविधिक पक्षलाई आधार मानेर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान नसकिएकाले कसैको संलग्नता पुष्टि भइसकेको भन्दै प्रहरीले आधिकारिक रूपमा घोषणा गरेको छैन ।

बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न

तनुजको मृत्यु प्रकरणले ग्रामीण क्षेत्रमा बालबालिकाको सुरक्षा, सुनका गरगहना लगाएर हिँड्ने बालबालिकामाथि बढ्न सक्ने अपराध जोखिम, तथा घटनास्थलमा रहेका वयस्क व्यक्तिहरूको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ ।

बेपत्ता भएका बालबालिकाको तत्काल खोजी प्रणाली, समुदायको सतर्कता, स्थानीय प्रहरी संयन्त्रको प्रभावकारिता र ग्रामीण क्षेत्रमा हुने हिंसात्मक अपराध नियन्त्रणको विषय पनि यो घटनापछि फेरि बहसमा आएको छ ।

साइकल चढेर घरबाट निस्किएका १० वर्षीय बालक दुई दिनपछि जंगलमा मृत भेटिनु आफैंमा अत्यन्त पीडादायी घटना हो । यसले एउटा परिवारको भविष्य उजाडेको छ भने समाजको सुरक्षामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ ।

पीडित परिवारको एउटै माग छ– अनुसन्धान निष्पक्ष होस्, वास्तविक दोषी कानुनी कठघरामा पुगून् र तनुज चौधरीले न्याय पाऊन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *