मस्कट । नेपाली राजदूतावास, मस्कटले नेपाल र ओमानबीच आर्थिक साझेदारी विस्तार गर्ने उद्देश्यसहित “समृद्धिका लागि आर्थिक साझेदारी” विषयक विशेष कार्यक्रम आयोजना गरेको छ । २०८३ असार १० गते अर्थात् २४ जुन २०२६ मा क्राउन प्लाजा मस्कट होटलमा आयोजित कार्यक्रममा नेपालको निर्यात सम्भावना, लगानीका अवसर, पर्यटन प्रवर्द्धन, ओमानको श्रम कानून तथा नेपाली–ओमानी व्यवसायीबीच सञ्जाल विस्तारका विषयमा केन्द्रित छलफल गरिएको हो ।
कार्यक्रममा ओमानस्थित विभिन्न कम्पनी, सुपरमार्केट तथा व्यावसायिक संस्थाका प्रमुख कार्यकारी अधिकृत, निर्देशक, प्रबन्धक तथा प्रतिनिधि, सञ्चारकर्मी, नेपाली उद्यमी र ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिसहित १०० भन्दा बढीको सहभागिता रहेको थियो । आर्थिक कूटनीतिलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप आयोजना गरिएको उक्त कार्यक्रमले नेपालका उत्पादन, लगानीयोग्य क्षेत्र र पर्यटन गन्तव्यबारे ओमानी व्यवसायी तथा लगानीकर्तालाई जानकारी गराएको थियो ।
नेपाल लगानी र व्यापारका लागि सम्भावनायुक्त मुलुक : राजदूत अर्याल
महामहिम राजदूत डोरनाथ अर्यालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा उहाँले नेपालमा व्यापार, लगानी र पर्यटनका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै ओमानी लगानीकर्तालाई नेपालमा रहेका अवसर पहिचान गर्न आग्रह गर्नुभयो ।
राजदूत अर्यालले वैदेशिक लगानीका लागि नेपालले प्राथमिकतामा राखेका क्षेत्रबारे जानकारी दिँदै नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला तथा तीव्र गतिमा उदीयमान अर्थतन्त्र भारत र चीनबीच अवस्थित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला र तीव्र गतिमा उदीयमान अर्थतन्त्रहरू भारत र चीनको बीचमा अवस्थित छ, जसको संयुक्त जनसङ्ख्या करिब २.८ अर्ब रहेको छ । यो विशिष्ट भौगोलिक अवस्थितिले नेपाललाई व्यापार, लगानी र पर्यटनका लागि एक महत्त्वपूर्ण सेतु बन्ने ठूलो सम्भावना प्रदान गरेको छ ।”
निर्यातयोग्य नेपाली उत्पादन र लगानी अवसरबारे प्रस्तुति
कार्यक्रममा राजदूतावासका प्रथम सचिव विशेष कुमार साहले नेपालबाट निर्यात गर्न सकिने प्रतिस्पर्धात्मक लाभ भएका उत्पादनहरू तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे प्रस्तुति गर्नुभएको थियो । उहाँले नेपालमा व्यवसाय वा लगानी सुरु गर्ने प्रक्रिया, सहजीकरणका उपाय र दूतावासले उपलब्ध गराउन सक्ने सहयोगबारे जानकारी दिनुभयो ।
साहले इच्छुक लगानीकर्ता तथा व्यवसायीलाई आवश्यक सूचना, समन्वय र सहजीकरणका लागि नेपाली राजदूतावास सदैव तत्पर रहेको बताउनुभयो । उहाँले नेपाल–ओमान व्यापार सम्बन्धलाई अझ विस्तार गर्न निजी क्षेत्रबीच प्रत्यक्ष संवाद र दीर्घकालीन व्यावसायिक साझेदारी आवश्यक रहेको धारणा राख्नुभयो ।
ओमानको श्रम कानूनबारे जानकारी
कार्यक्रममा कर्पोरेट तथा मुद्दा मामिलासम्बन्धी अधिवक्ता खवला मोहम्मद अल सादूनीले ओमानमा श्रमिक र रोजगारदाताले पालना गर्नुपर्ने श्रम ऐन तथा नियमावलीका व्यावहारिक पक्षबारे प्रस्तुतीकरण दिनुभयो । उहाँले श्रमिक तथा रोजगारदाताबीच उत्पन्न हुन सक्ने समस्या कानूनी माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट पार्नुभयो ।
साथै, श्रम सम्बन्धलाई मर्यादित, व्यवस्थित र पारस्परिक विश्वासमा आधारित बनाउन कानूनी जानकारी तथा व्यवहारिक समझदारी आवश्यक हुने उहाँको भनाइ थियो ।
सगरमाथा आरोहीलाई सम्मान
कार्यक्रमका अवसरमा महामहिम राजदूत अर्यालले अधिवक्ता खवला मोहम्मद अल सादूनी र सगरमाथा आरोही सुलेमान अल नाबीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । नेपालसँग जोडिएको साहस, पर्यटन र हिमाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन सगरमाथा आरोहीहरूको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा चर्चा गरिएको थियो ।
पर्यटन प्रवर्द्धन र नेपाली स्वादको आकर्षण
कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, हिमाल, पहाड, तराई र पर्यटन सम्भावना समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । सो भिडियोमार्फत नेपाललाई साहसिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटनका दृष्टिले आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूलाई एकआपसमा संवाद गर्न, सम्भावित सहकार्यका क्षेत्र पहिचान गर्न र नेपाल–ओमान आर्थिक सम्बन्ध विस्तारका लागि नेटवर्किङ गर्न प्रोत्साहित गरिएको थियो । कार्यक्रममा नेपाली मःमसहितको रात्रिभोजको समेत व्यवस्था गरिएको थियो, जसले नेपाली खानपान र सांस्कृतिक स्वादलाई पनि प्रवर्द्धन गरेको थियो ।
कार्यक्रमको सञ्चालन तथा समन्वय राजदूतावासका प्रथम सचिव विशेष कुमार साहले गर्नुभएको थियो । नेपाली राजदूतावास, मस्कटले आयोजना गरेको उक्त कार्यक्रमलाई नेपाल–ओमान सम्बन्धमा आर्थिक कूटनीति, श्रम व्यवस्थापन, पर्यटन प्रवर्द्धन र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ ।




