काठमाडौं । काठमाडौं उपत्यकाबाट दशकौंदेखि हराइरहेका देवी–देवता, तोरण, धातु मूर्ति र धार्मिक कलाकृतिबारे अन्तर्राष्ट्रिय मञ्चमा फेरि गम्भीर बहस उठेको छ । कला अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ARCA Annual Interdisciplinary Art Crime Conference मा सौरभ थापा श्रेष्ठले प्रस्तुत गरेको “The Gods Are Missing: Nepal’s Case” शीर्षक प्रस्तुतिले नेपालको सांस्कृतिक सम्पदा चोरी, अवैध निकासी र विदेशस्थित संग्रहालय तथा निजी संकलनमा पुगेका पवित्र वस्तु फिर्ताको विषयलाई जोडदार रूपमा उठाएको हो ।
प्रस्तुतिमा भक्तपुरको भैरवनाथ मन्दिरलाई एउटा प्रतिनिधि उदाहरणका रूपमा अघि सारिएको छ । शताब्दीयौंदेखि उभिएको उक्त मन्दिरको ढोकामाथि रहेको काष्ठकला तोरणलाई सन् १८५२ मा बेलायती कलाकार हेनरी ओल्डफिल्डले तेलचित्रमा उतारेका थिए । तर अहिले त्यही तोरण रहेको स्थानमा खाली कोष्ठक मात्र बाँकी छन् ।
श्रेष्ठका अनुसार भैरवनाथ मन्दिरमा रहेका नौ तोरणमध्ये सात तोरण हराइसकेका छन् । “यो अवस्था केवल एउटा मन्दिरको कथा होइन,” उनको प्रस्तुतिको मूल सन्देश छ, “यही ढाँचालाई उपत्यकाभरि र दशकौंको अवधिमा हेर्ने हो भने नेपालले कति ठूलो सम्पदा गुमाइसकेको छ भन्ने बुझ्न सकिन्छ ।”
पुलिस रिपोर्टमा छैन, तर अक्सन हाउसमा भेटिन्छ
श्रेष्ठले नेपालको सम्पदा चोरीको पीडादायी पक्ष औंल्याउँदै भनेका छन्-यदि कसैले प्रहरी प्रतिवेदन खोज्यो भने धेरै कुरा भेटिँदैन, तर अक्सन हाउस, ग्यालरी र संग्रहालय खोज्यो भने त्यही तोरण र मूर्तिहरू “नेवार काष्ठकलाको उत्कृष्ट नमुना” वा “प्राइभेट कलेक्सनबाट आएको” जस्ता विवरणसहित भेटिन्छन् ।
उनको भनाइमा, नेपालको पवित्र सम्पदा यस्तै गरी हराएको हो । गाउँ, टोल र मन्दिरबाट चोरिएको वस्तु पहिले स्थानीय बिचौलियाको हातमा पुग्यो, त्यसपछि डिलरले नक्कली इतिहास र provenance तयार गरे, अनि अक्सन हाउस र संग्रहालयले धेरै प्रश्न नगरी त्यसलाई स्वीकार गरे ।
श्रेष्ठको तर्क छ, आज कुनै विदेशी ग्यालरीमा “१७औं शताब्दीको नेवार कांस्य मूर्ति” भनेर राखिएको वस्तु अधिकांश अवस्थामा त्यस्तो समुदायबाट लगिएको हो, जसले कहिल्यै त्यो वस्तु दिने सहमति दिएको थिएन ।
काठमाडौं उपत्यका : जीवित धार्मिक भूगोल
काठमाडौं उपत्यका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र मात्र होइन, हजारौं मन्दिर, स्तूप, चैत्य, देवालय र देवस्थानले भरिएको जीवित धार्मिक भूगोल हो । यहाँका इँटा, ढुंगा, काठ र धातु कलाले धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध बोकेका छन् ।
श्रेष्ठले आफ्नो प्रस्तुतिमा भनेका छन्, “जब कुनै कांस्य देवता आफ्नो पीठबाट हटाइन्छ, त्यो केवल एउटा मूर्ति हराएको घटना होइन, त्यो भक्त र देवताबीचको सम्बन्ध टुट्नु हो ।”
उनले सम्पदा चोरीको पीडालाई एक वृद्ध महिलाको दैनिक पूजासँग जोडेर अत्यन्त भावनात्मक रूपमा व्याख्या गरेका छन् । पुस्तौंदेखि आमा र हजुरआमाले जसरी पूजा गर्दै आएका थिए, त्यही परम्परा पछ्याउँदै ती महिला बिहानै पूजा सामग्री बोकेर देवस्थान पुग्छिन् । अघिल्लो दिनसम्म रहेको देवता भोलिपल्ट त्यहाँ हुँदैन । उनी केही बोल्न सक्दिनन्, केवल चुपचाप उभिन्छिन् ।
श्रेष्ठको निष्कर्ष छ- “त्यो केवल सांस्कृतिक सम्पत्ति अपराध होइन, त्यो भत्किएको जीवन हो ।”
‘लोन होइन, साझेदारी होइन, फिर्ता गरिनुपर्छ’
प्रस्तुतिको मुख्य माग स्पष्ट छ- नेपालका पवित्र वस्तुहरू यदि प्रमाणित वैध provenance बिना संग्रहालय वा निजी संकलनमा छन् भने ती वस्तुहरू नेपाललाई फिर्ता गरिनुपर्छ । श्रेष्ठले भनेका छन्, “ती वस्तुहरू ऋणस्वरूप होइन, साझेदारीको नाममा होइन, फिर्ता नै गरिनुपर्छ ।”
उनका अनुसार विदेशी संस्थाहरूले यस्ता वस्तु आफूहरूले संरक्षण गरेको, सुरक्षित राखेको वा फिर्ता प्रक्रिया राजनीतिक रूपमा जटिल रहेको तर्क गर्ने गरेका छन् । तर यस्तो तर्कले वस्तुहरूको मूल समुदायको सहमति बिना भएको कब्जालाई लुकाउन सक्दैन ।
नेपालका दक्ष कारीगरहरूले पूजा निरन्तर राख्न प्रतिकृति बनाउन सक्ने भए पनि मूल मूर्तिको महत्व बेग्लै रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार मूल वस्तुले शताब्दीयौंदेखिको सम्बन्ध, स्मृति र भक्तिभाव बोकेको हुन्छ । प्रतिकृतिले पूजाको प्रक्रिया धान्न सक्छ, तर मूल देवताको अनुपस्थिति गहिरो घाउजस्तै रहिरहन्छ ।
भक्तपुरबाट उठेको आवाज
श्रेष्ठ आफैं भक्तपुरमा हुर्किएको उल्लेख गर्दै ती देवालय र मूर्तिहरू आफ्ना लागि केवल पुरातात्विक वस्तु नभई जीवन्त अभ्यासका स्थल भएको बताउँछन् । उनी भन्छन्, “मैले जीवनभर यी मठमन्दिर र देवस्थानहरू पार गर्दै हिँडेको छु । मानिसहरू कहिलेकाहीँ अत्यन्त परिचित कुरालाई देख्न छाड्छन्, तर यी स्मारकहरू जीवित अभ्यासका केन्द्र हुन् ।”
उनका अनुसार हराएका सम्पदाको अभिलेखीकरण ठूलो काम भए पनि यो प्रक्रिया अघि बढिरहेको छ । कानूनी ढाँचा पनि विद्यमान छ । अब आवश्यक कुरा राजनीतिक इच्छाशक्ति, स्थानीय सरोकारवालाको सक्रियता, प्रवासी नेपाली समुदायको संलग्नता र कूटनीतिक पहल हो ।
‘देवताहरू हराएका छैनन्’
श्रेष्ठको प्रस्तुति अन्त्यमा अत्यन्त स्पष्ट सन्देशसहित टुंगिन्छ- “देवताहरू हराएका छैनन् । उनीहरू कहाँ छन् भन्ने हामीलाई थाहा छ । उनीहरू त्यहाँ कसरी पुगे भन्ने पनि हामीलाई थाहा छ । अब उनीहरूलाई घर फर्काउने समय आएको छ ।”
नेपालको मन्दिर, विहार र देवालयबाट चोरी भएका पवित्र सम्पदाको फिर्ता केवल पुरातात्विक वस्तु पुनःस्थापनाको विषय होइन । यो समुदायको स्मृति, आस्था, धार्मिक निरन्तरता र ऐतिहासिक न्यायसँग जोडिएको मुद्दा हो ।
पछिल्ला वर्षहरूमा केही चोरी भएका मूर्ति र कलाकृति नेपाल फर्किएका उदाहरण देखिए पनि अझै धेरै देवता, तोरण, धातु मूर्ति र नेवारी कलाकृति विदेशी संग्रहालय, अक्सन हाउस र निजी संकलनमा रहेको सम्पदा अभियन्ताहरूको दाबी छ । त्यसैले श्रेष्ठको प्रस्तुति नेपालको सम्पदा फिर्ता अभियानलाई अन्तर्राष्ट्रिय तहमा फेरि बलियो बनाउने आवाजका रूपमा हेरिएको छ ।




