न्यूयोर्क, असार १० । अमेरिकाबाट नेपालका दुई महत्वपूर्ण सांस्कृतिक तथा पुरातात्त्विक सम्पदा फिर्ता प्राप्त भएका छन्। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले २०८३ असार ९ गते एक विशेष हस्तान्तरण समारोहबीच पद्मपाणि र नृत्यदेवी का दुई प्राचीन मूर्ति न्यूयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालयबाट औपचारिक रूपमा ग्रहण गरेको हो।
समारोहमा न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत दधिराम भण्डारी र म्यानह्याटन डिस्ट्रिक्ट एटर्नी कार्यालयअन्तर्गतको Antiquities Trafficking Unit का प्रमुख कर्नेल म्याथ्यू बोग्डानोस ले सहमति अभिलेखमा हस्ताक्षर गरेका थिए। सो हस्ताक्षरसँगै यी दुवै पुरातात्त्विक सम्पदाको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण भएको महावाणिज्यदूतावासले जनाएको छ।
फिर्ता प्राप्त भएका सम्पदामध्ये १३औँ शताब्दीको कांस्य पद्मपाणि मूर्ति काठमाडौंस्थित थं–बही, विक्रमशील महाविहार, भगवान बहाल बाट हराएको महत्वपूर्ण कलाकृति मानिन्छ। मन्दिरमा रहेको सो मूर्तिको अन्तिम तस्वीर सन् १९७१ मा खिचिएको अभिलेखमा देखिएको छ। उक्त मूर्ति सन् १९७१ देखि १९७७ बीच कुनै समय गैरकानुनी रूपमा अमेरिका पुर्याइएको विश्वास गरिएको छ।
त्यस्तै, १६औँ शताब्दीको काठमा निर्मित नृत्यदेवीको मूर्ति पाटनस्थित ई–बाहा बही बाट हराएको उत्कृष्ट काष्ठकला मानिएको छ। उक्त मूर्ति सन् १९६९ देखि १९८३ बीच कुनै समय चोरी निकासी गरी अमेरिका पुर्याइएको विश्वास गरिएको छ। यो मूर्ति न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम बाट जफत गरिएको जनाइएको छ।
यी दुवै सम्पदा न्यूयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालय, अमेरिकी Homeland Security Investigations तथा अन्य साझेदार संस्थाहरूको निरन्तर प्रयास र सहकार्यबाट फेला पारी नेपाललाई फिर्ता गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्यूयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालय, होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन्स, अनुसन्धानकर्ता, सङ्ग्रहालय, सम्पदा अभियानकर्मी तथा नेपाली समुदायप्रति गहिरो आभार व्यक्त गरे। उनले नेपालका अमूल्य सांस्कृतिक सम्पदा फिर्ता ल्याउन सामूहिक प्रयास निर्णायक बनेको बताए।
महावाणिज्यदूत भण्डारीले सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध नेपाल र अमेरिकाबीच बढ्दै गएको सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको उदाहरणीय नमुना भएको उल्लेख गरे। उनले साझा सांस्कृतिक धरोहरको संरक्षणमा दुवै देशको प्रतिबद्धता अझ मजबुत हुँदै गएको बताए।
उनले अमेरिकास्थित नेपाली डायस्पोरा र समुदायगत संस्थाहरू, विशेषगरी नेवा गुठी, न्यूयोर्क ले नेपालको सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनमा पुर्याउँदै आएको योगदानको पनि प्रशंसा गरे।
हस्तान्तरण समारोहपछि यी दुवै पुरातात्त्विक सम्पदालाई सुरक्षित रूपमा प्याक गरी २०८३ असार ११ गते नेपाल पठाइने भएको छ। ढुवानी तथा अन्य व्यवस्थापन न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावास र नेवा गुठी, न्यूयोर्कको समन्वयमा गरिनेछ। नेवा गुठीका प्रतिनिधिहरूले ती सम्पदासँगै नेपालसम्म यात्रा गर्ने जनाइएको छ।
काठमाडौं आइपुगेपछि यी सम्पदा नेपाल सरकारका सम्बन्धित निकाय, विशेषगरी पुरातत्त्व विभाग लाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ। त्यसपछि आवश्यक संरक्षण, अभिलेखीकरण र व्यवस्थापन प्रक्रिया पूरा गरी सम्भव भएसम्म ती मूर्तिहरूलाई तिनका मौलिक स्थानमा पुनःस्थापना गर्ने तयारी गरिनेछ।
हस्तान्तरण समारोहमा न्यूयोर्क काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालय, होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन्स, नेवा गुठी न्यूयोर्क, मेट्रोपोलिटन म्युजियमका प्रतिनिधि, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा अभियानकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
नेपालका चोरी निकासी भएका सांस्कृतिक सम्पदा क्रमशः फिर्ता आउन थालेको यो पछिल्लो घटनाले अन्तर्राष्ट्रिय स्तरमा सम्पदा पुनःप्राप्ति अभियानलाई थप बल पुगेको छ। नेपालका मठमन्दिर, बहाल, बही र सांस्कृतिक स्थलहरूबाट दशकौँअघि हराएका यस्ता मूर्तिहरू फिर्ता आउनु केवल कानुनी सफलता मात्र नभई नेपाली सभ्यता, इतिहास र सांस्कृतिक आत्मसम्मानको पुनःस्थापनासमेत भएको सरोकारवालाहरूको भनाइ छ।




