काठमाडौं । सपना कहिलेकाहीँ बाटो बदल्छ, तर गन्तव्य अझ उचो बनाइदिन्छ। सर्लाहीकी २२ वर्षीया ईशा देवकोटाको जीवनयात्रा पनि त्यस्तै बनेको छ। कुनै समय डाक्टर बन्ने लक्ष्य बोकेकी ईशा आज अमेरिकाको आकाशमा पाइलटको रूपमा आफ्नो भविष्य कोर्दैछिन्।
सन् २०२२ अगस्टमा पाइलट कोर्स अध्ययनका लागि अमेरिका पुगेकी ईशाले टेक्ससस्थित डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमीबाट पाइलट अध्ययन पूरा गरेकी हुन्। अध्ययन पूरा गरेपछि उनी हाल हफम्यान एभिएसनमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत छिन्।
ईशाको लक्ष्य अब व्यावसायिक एयरलाइन्स पाइलट बन्नु रहेकाे छ। त्यसका लागि कम्तीमा ७०० घन्टा उडान अनुभव आवश्यक पर्ने भएकाले उनी निरन्तर उडान अभ्यास र प्रशिक्षणमा जुटेकी छिन्। हालसम्म उनले ३२५ घन्टा उडान अनुभव हासिल गरिसकेकी छिन्।
सुरुमा ईशाको सपना डाक्टर बन्ने थियो। तर, कोभिड-१९ महामारीका कारण उनको योजना मोडियो। महामारीले शिक्षा, यात्रा र करिअर योजनामा ल्याएको अनिश्चितताबीच उनले जीवनको नयाँ बाटो रोजिन्-पाइलट बन्ने। त्यही निर्णय आज उनको पहिचान, संघर्ष र सफलताको आधार बन्दै गएको छ।
पाइलट अध्ययन सहज भने थिएन। आर्थिक चुनौती, परदेशको वातावरण, कडा प्रशिक्षण र निरन्तर अभ्यास-यी सबै पार गर्दै ईशाले साढे दुई वर्षमा पाइलट अध्ययन पूरा गरिन्। उनको अध्ययनमा करिब ८२ हजार अमेरिकी डलर खर्च भएको छ। परिवारको सहयोग र आफ्नै मेहनतबाट खर्च व्यवस्थापन गर्दै उनी आफ्नो लक्ष्यतर्फ अघि बढिरहेकी छिन्।
ईशाका अनुसार अमेरिकामा पाइलट शिक्षा अत्यन्त व्यावहारिक, प्रविधिमैत्री र विश्वव्यापी रूपमा मान्यता प्राप्त भएकाले त्यहाँ अवसर धेरै छन्। उडान प्रशिक्षणदेखि करिअर निर्माणसम्म अमेरिकाको एभिएसन क्षेत्रले विद्यार्थीलाई व्यवहारिक ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अवसर दिने उनको अनुभव छ।
हफम्यान एभिएसनमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा काम गर्नु उनका लागि केवल रोजगारी मात्र होइन, आगामी व्यावसायिक पाइलट करिअरको महत्वपूर्ण आधार पनि हो। विद्यार्थीलाई उडान सिकाउँदै उनी आफैं पनि अनुभव, आत्मविश्वास र पेशागत दक्षता बढाइरहेकी छन्।
ईशाले सन् २०२७ सम्म आवश्यक उडान घन्टा पूरा गरेर अमेरिकामै व्यावसायिक पाइलटका रूपमा करिअर अगाडि बढाउने लक्ष्य राखेकी छन्। सर्लाहीबाट सुरु भएको उनको यात्रा अब अमेरिकी आकाशमा फैलिएको छ।
ईशाको कथा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, सपना बदलिए पनि संघर्ष, लगन र आत्मविश्वास भए नयाँ गन्तव्य भेटिन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो। डाक्टर बन्ने सपना छोडेर पाइलट बनेकी ईशा आज धेरै नेपाली युवाका लागि साहस, सम्भावना र अन्तर्राष्ट्रिय पहिचानको प्रतीक बनेकी छन्।
(तस्बिर र सूचना स्राेत संजीव बगाले)




