काठमाडौं । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष गणेश खड्काद्वारा लिखित नियात्रा–निबन्धसङ्ग्रह ‘नक्शामा नभएको देश’ पूर्वी अफ्रिकी द्वीपीय मुलुक सेसेल्समा लोकार्पण गरिएको छ ।
साहित्यकार तथा सम्पादक रमेश दाहालद्वारा सम्पादित तथा मिलाप पब्लिकेशन प्रा.लि., काठमाडौंबाट प्रकाशित उक्त कृति २०८३ जेठ २४ गते आइतबार अर्थात् ७ जुन २०२६ का दिन सेसेल्सको राजधानी माहे आइल्याण्डस्थित भिक्टोरियामा सार्वजनिक गरिएको हो ।
एनआरएनए सेसेल्स र अनेसास अफ्रिका महादेशीय च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एनआरएनए सेसेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्दले सभापतित्व गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि.क. उपस्थित थिए भने विशेष अतिथिका रूपमा एनआरएनए अफ्रिका क्षेत्रीय महिला संयोजक खेसेना लिङ्देन सहभागी भएकी थिइन् ।
कार्यक्रममा एनआरएनए सेसेल्सकी महिला उपाध्यक्ष पवित्रा भट्टराईले स्वागत मन्तव्य राख्दै सेसेल्समा नेपाली साहित्यिक कृतिको लोकार्पण हुनुलाई प्रवासी नेपाली समुदायका लागि गौरवको विषय भएको बताइन् ।
प्रमुख अतिथिको आसनबाट बोल्दै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक मनोज बि.क.ले सेसेल्स नेपाली समाजका लागि अझै पनि कम परिचित भूगोल भएको उल्लेख गरे । उनले साहित्यकार गणेश खड्काले सेसेल्स बसाइ, भ्रमण, अनुभूति र त्यहाँको सामाजिक–सांस्कृतिक परिवेशलाई कलात्मक रूपमा नेपाली पाठकसमक्ष ल्याएको बताए ।
बि.क.ले भने, “नेपालीहरूको जानकारीमा निकै कम आएको सेसेल्सजस्तो देशका अनुभवलाई लेखकले शब्दमा उतारेर हामीमाझ ल्याउनुभएको छ । यो केवल एउटा पुस्तक मात्र होइन, प्रवासी नेपाली जीवन, संघर्ष र अनुभूतिको ऐतिहासिक दस्तावेज पनि हो ।”
उनले ‘नक्शामा नभएको देश’ ले सेसेल्सलाई नेपाली साहित्यिक चेतनाको नक्सामा स्थापित गर्ने काम गरेको टिप्पणी गरे । उनका अनुसार, यो कृति प्रवासी नेपाली समुदाय, भूगोल, श्रम, सपना र पहिचानलाई बुझ्न चाहने हरेक पाठकका लागि महत्वपूर्ण सामग्री बन्न सक्छ ।
पुस्तकका लेखक गणेश खड्काले आफ्नो लेखनयात्राबारे बोल्दै सेसेल्सबारे नेपाली समाजमा रहेको अपरिचय नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताए । उनले आफू सेसेल्समा रोजगारीका लागि जान लागेको कुरा गर्दा कतिपयले “सेसेल्स भन्ने देश पनि छ र ?” भनेर सोधेको प्रसंग स्मरण गरे ।
लेखक खड्काले भने, “सेसेल्सको नाम सुन्दा नै धेरैले अनौठो मान्थे । कतिपयले नक्सामा खोज्दासमेत सजिलै भेटेनन् । त्यही क्षणदेखि मलाई लाग्यो– यो देशबारे नेपाली भाषामा केही लेखिनुपर्छ । त्यही खोज, अनुभव र लेखकीय धैर्यको परिणामका रूपमा ‘नक्शामा नभएको देश’ पाठकसमक्ष आएको हो ।”
उनले पुस्तक तयार पार्न निकै मिहिनेत गर्नुपरेको उल्लेख गर्दै सेसेल्सको भूगोल, समाज, समुद्री जीवन, श्रमिक नेपालीहरूको अवस्था, प्रवासी मनोविज्ञान र व्यक्तिगत अनुभूतिलाई नियात्रात्मक शैलीमा समेट्ने प्रयास गरिएको बताए ।
कृतिका सम्पादक रमेश दाहालले पुस्तकलाई समकालीन नेपाली नियात्रा–निबन्ध साहित्यको महत्त्वपूर्ण उपलब्धि भनेका छन् । दाहालले पुस्तकको आमुखमा लेखेका छन्, “यो कृति नेपाली पाठकका लागि केवल पढ्ने सामग्री होइन, आत्मनिरीक्षणको एउटा सशक्त माध्यम हो; जसले हाम्रो समाज, सपना र यथार्थलाई पुनःपरिभाषित गर्न बाध्य बनाउँछ ।”
दाहालका अनुसार, ‘नक्शामा नभएको देश’ ले बाहिरी भूगोलको वर्णन मात्र गर्दैन, नेपाली मन, सपना, असुरक्षा, प्रवासको पीडा र आत्मपहिचानको प्रश्नलाई पनि गहिरो रूपमा उठाएको छ ।




