🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
चतुरमान तामाङ र हस्तबहादुर राई

दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइ गर

द हेग, नेदरल्यान्ड्स । भुटानका राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियानले चामगाङ केन्द्रीय कारागारमा १८ वर्षभन्दा लामो समयदेखि बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाइको स्वागत गरेको छ ।

भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले माफी दिएपछि तामाङ र राईलाई १ जुन २०२६ मा रिहा गरिएको थियो । अभियानले यसलाई लामो समयदेखि जारी अन्तर्राष्ट्रिय वकालत, कूटनीतिक पहल र मानवअधिकार सरोकारको महत्वपूर्ण परिणामका रूपमा लिएको जनाएको छ ।

भुटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियान जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ, ह्युमन राइट्स वाचलगायत अन्तर्राष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलका कारण यो उपलब्धि सम्भव भएको बताएका छन् ।

उनले भनेका छन्, “यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तर्राष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट संकेत दिएको छ ।”

यद्यपि, अभियानले रिहाइपछि तामाङ र राईले भोग्नुपरेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । रिहाइपछि आवश्यक पहिचान तथा कानुनी कागजातको अभावमा दुवैलाई नेपाल प्रवेश गर्न अनुमति नदिइएको र उनीहरू भारत–नेपाल सीमास्थित पानीट्यांकी क्षेत्रमा अलपत्र परेको अभियानले जनाएको छ । त्यसपछि उनीहरू भुटान फर्किन बाध्य भएको र हाल भारतमा आफन्तहरूको संरक्षणमा अस्थायी रूपमा बसिरहेको विज्ञप्तिमा उल्लेख छ ।

जीसीआरपीपीबीले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई उनीहरूलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति असहमति जनाएको छ । अभियानका अनुसार उनीहरूलाई न औपचारिक परिचयपत्र दिइएको छ, न कारागारबाट रिहा गरिएको प्रमाणपत्र, न त उनीहरूको कानुनी हैसियत पुष्टि गर्ने अन्य आवश्यक कागजात नै उपलब्ध गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यसले उनीहरूलाई थप असुरक्षित बनाएको छ र संरक्षण, मानवीय सहायता तथा स्वतन्त्र आवतजावतको अधिकार उपभोग गर्न कठिनाइ सिर्जना गरेको छ ।”

अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तर्राष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।

दुई राजनीतिक कैदीको रिहाइलाई महत्वपूर्ण मानवीय कदमका रूपमा स्वागत गरिए पनि अभियान अझै समाप्त नभएको जीसीआरपीपीबीले जनाएको छ । भुटानका कारागारमा अझै २८ जना राजनीतिक कैदी रहेको उल्लेख गर्दै अभियानले उनीहरूको तत्काल र बिना शर्त रिहाइको माग दोहोर्‍याएको छ ।

अभियानले भुटानको शाही सरकारलाई बाँकी राजनीतिक कैदीहरूप्रति पनि समान करुणा र मानवीय दृष्टिकोण देखाउन आग्रह गरेको छ । साथै, लामो समयदेखि थुनामा रहेका राजनीतिक बन्दीहरूको मुद्दालाई न्यायोचित, मानवीय र दीर्घकालीन समाधानतर्फ अघि बढाउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *