हङकङ, । सगरमाथा दिवसको अवसर पारेर हङकङमा ३१ मे मा ‘एभरेस्ट मोमो फेस्ट २०२६’ आयोजना गरिएको थियाे । नेपालको गौरव र पहिचानका रूपमा रहेको सगरमाथालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले नेपाली महावाणिज्यदूतावास हङकङ र गैरआवासीय नेपाली संघ हङकङ एनआरएनए हङकङले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन् ।
७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय समुदाय, प्रवासी नेपाली, विभिन्न नेपाली संघसंस्था, स्थानीय नेपाली रेस्टुरेन्ट तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो । “Sagarmatha: the Pride and Identity of Nepal” भन्ने मूल नारासहित कार्यक्रमलाई मोमो, हिमाल र समुदायबीचको सांस्कृतिक सम्बन्धका रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङले सगरमाथा आरोहणलाई सुरक्षित र दिगो बनाउने नेपाल सरकारको प्रतिबद्धता दोहो¥याए । उनले नेपालका हिमाल आरोहण गरेका हङकङका पर्वतारोहीहरूको प्रशंसा गर्दै उनीहरूले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
गुरुङले कार्यक्रममा सहभागी नेपाली रेस्टुरेन्टहरूले स्वादिष्ट मोमोमार्फत नेपाली खानाको मौलिकता प्रस्तुत गरेको भन्दै धन्यवादसमेत व्यक्त गरे । उनले खाना केवल परिकार मात्र नभई समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले सगरमाथा नेपालीहरूको गौरव, पहिचान र प्रेरणाको स्रोत भएको बताइन् । उनले यस वर्षको सगरमाथा दिवसमा ‘मोमो थिम’ राखिनुको कारण स्पष्ट पार्दै मोमो केवल खानेकुरा नभई परिवार, साथीभाइ र समुदायबीचको साझा अनुभव भएको बताइन् ।
कार्यक्रममा एनआरएनए हङकङले सगरमाथा आरोही निमा दोर्जी शेर्पा र अञ्जला राईसँग विशेष संवाद कार्यक्रमसमेत आयोजना गरेको थियो । हङकङमा बसोबास गर्दै आएका यी नेपाली मूलका आरोहीहरूले सगरमाथा आरोहणका आफ्ना अनुभव सुनाउँदै लगनशीलता, अनुशासन र व्यावसायिक तयारीको महत्वबारे सन्देश दिएका थिए ।
कार्यक्रममा सहभागी अतिथिहरूलाई ‘मोमो पासपोर्ट’ उपलब्ध गराइएको थियो । उक्त पासपोर्टको प्रयोग गरी सहभागीहरूले विभिन्न स्टलमा पुगेर मोमो बनाउने, चाख्ने र अनलाइनमार्फत मूल्यांकन गर्ने अवसर पाएका थिए । आयोजकहरूले “Momo, Mountains and Community” शीर्षकको डिजिटल म्यागेजिन पनि सार्वजनिक गरेका थिए । उक्त म्यागेजिनमा सगरमाथा, नेपालको पर्यटन र कार्यक्रममा सहभागी रेस्टुरेन्टहरूबारे जानकारी समावेश गरिएको थियो ।
कार्यक्रममा स्थानीय जिल्ला काउन्सिलर बेनी युङ त्सी–हेई, अरुणा गुरुङ तथा हङकङस्थित विभिन्न नेपाली संघसंस्थाका अगुवा र समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सगरमाथा दिवसका अवसरमा हङकङमा आयोजित यो कार्यक्रमले नेपाली संस्कृति, हिमाली पहिचान, खानपान र समुदायबीचको सम्बन्धलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।




