काठमाडौं । शेल कम्पनी तथा कृत्रिम व्यवसाय खडा गरी बैंकबाट लिएको कर्जा पटक–पटक दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समिति अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–९, रातोपुल बस्ने पाण्डे राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा Institute of Agriculture Forest and Veterinary Sciences Pvt. Ltd. का एकल सञ्चालक रहेको प्रहरीले जनाएको छ । उनलाई मिति २०८३ जेठ २० गते जिल्ला धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पाण्डेले महोत्तरीको बर्दिवास नगरपालिका–६ मा रहेको Institute of Agriculture Forest and Veterinary Sciences Pvt. Ltd. नामक कम्पनीलाई शेल कम्पनी/कृत्रिम व्यवसायका रूपमा खडा गरी प्रभु बैंक लिमिटेडबाट कर्जा लिएको आरोप छ । कर्जा लिँदा विस्तृत आयोजना प्रतिवेदन अर्थात् डीपीआर बिना नै प्रक्रिया अघि बढाइएको, धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराइएको तथा जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सो रकम अन्यत्र प्रयोग गरिएको आरोप उनीमाथि लागेको छ ।
उक्त कार्य बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत कसूर हुने भन्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पाण्डेविरुद्ध सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट मिति २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी गर्न अनुमति प्राप्त भएको थियो ।
पक्राउ परेका पाण्डेमाथि कर्जा प्रवाह, धितो मूल्यांकन, रकमको वास्तविक प्रयोग तथा कम्पनीको कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




