काठमाडौं । नेपालको राजनीतिक इतिहासकै सबैभन्दा पीडादायी घटनाका रूपमा स्मरण गरिने दरबार हत्याकाण्डको २५औँ स्मृति दिवसका अवसरमा २०८३ जेष्ठ १९ गते नारायणहिटीस्थित नारायणस्थान चतुर्व्यूह नारायण मन्दिर परिसरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा पूर्वराजपरिवारका सदस्य हृदयेन्द्र शाहलगायत राजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ। कार्यक्रममा सहभागीहरूले दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्वर्यराज्यलक्ष्मी शाहसहित दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण, राजसंस्थाप्रति आस्था राख्ने नागरिक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति देखिएको थियो। सहभागीहरूले मौनधारण, पूजा–आराधना र दीपप्रज्वलनमार्फत दिवंगत राजपरिवारप्रति भावपूर्ण श्रद्धा व्यक्त गरेका थिए।
२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत राजपरिवारका सदस्यहरूको निधन भएको थियो। सो घटना नेपाली जनमानसमा आज पनि रहस्य, पीडा र संवेदनाको रूपमा जीवित छ।
दरबार हत्याकाण्ड भएको २५ वर्ष बितिसक्दा पनि त्यस घटनाप्रति आम नागरिकको चासो, पीडा र प्रश्न अझै मेटिएको छैन। विशेषगरी राजा वीरेन्द्रलाई शालीन, सरल र जनप्रिय राजाका रूपमा सम्झने ठूलो जनसमुदाय आज पनि उनको योगदान र व्यक्तित्वप्रति श्रद्धा व्यक्त गर्दै आएको छ।
नारायणहिटी परिसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रको स्मरण गर्दै उनलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरेका थिए। उनीहरूले नेपालको इतिहासमा जेठ १९ केवल एउटा मिति मात्र नभई राष्ट्रिय पीडा, शोक र स्मृतिको दिन भएको बताएका थिए।
कार्यक्रमस्थलमा दीप, फूलमाला, पूजा सामग्री र श्रद्धाञ्जलिका विविध दृश्यले वातावरण भावुक बनेको थियो। उपस्थितहरूले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै राजपरिवारप्रति सम्मान प्रकट गरेका थिए।
दरबार हत्याकाण्डको स्मृति दिवस प्रत्येक वर्ष विभिन्न स्थानमा श्रद्धाञ्जलि, दीपप्रज्वलन र स्मरण कार्यक्रमका साथ मनाइँदै आएको छ। यस वर्ष २५औँ स्मृति दिवसका अवसरमा नारायणहिटी नारायणस्थान चतुर्व्यूह नारायण मन्दिरमा आयोजित कार्यक्रमलाई सहभागीहरूले विशेष महत्वका साथ लिएका छन्।




